सुजल श्रेष्ठ
प्युठान, जेठ ४ गते । ऐरावती गाउँपालिका–२ सलेनधारामा रहेको लालीगुराँस स्वावलम्बी महिला समूहमा आबद्ध सदस्यले गाउँकै अर्को परिवर्तन स्वाबलम्बी महिला समूहका सदस्यलाई बाख्रा उपहार दिएका छन् ।
समुहका सदस्यहरूको आयआर्जन वृद्धि गर्न एउटा समूहले अर्को समूहलाई बाख्रा उपहार दिएका हुन् । समूहका अध्यक्ष रचना गुरुङले आफ्नो समुहले ३१ वटा बाख्रा उपहार प्रदान गरेको बताउनुभयो ।
“हेफर आधारशिलाअनुसार बहिनी समूहलाई बाख्रा उपहार गरेका हौं” उहाँले भन्नुभयो, “बहिनी समूहका सदस्यको आयआर्जन बढाउन यस्तो गरिएको हो ।” समूहमा रहेका २८ जना सदस्यले उपहार दिएको उहाँले बताउनुभयो ।
ऐरावती गाउँपालिकामा हेफर परियोजना सञ्चालनमा छ । जस अन्तर्गत पालिकाका ६ वटा वडामा ५२ वटा स्वावलम्बी समूह गठन भएका छन् । जसअन्तर्गत पहिलो पटक लालीगुराँस स्वावलम्बी महिला समूहले उपहार प्रदान गरेको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले बताउनुभयो ।
ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले दुई वर्षदेखि पालिकामा हेफर प्रोजेक्ट नेपाल र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रसँगको साझेदारीमा कार्यक्रम सञ्चालन भएको बताउनुभयो । पालिकामा कृषि र पशुपालन क्षेत्रको व्यावसायीकरण गर्ने उद्देश्यले परियोजनामार्फत करिब पाँच करोड रुपियाँ लगानी गर्नेगरी काम अघि बढेको जानकारी दिनुभयो । पालिकाको प्राथमिकतामा रहेको कृषि र पशुपालन क्षेत्रमा काम भइरहेको उहाँले बताउनुभयो ।