• २५ जेठ २०८२, आइतबार

चितुवाले बाख्रा मार्‍यो

blog

पलाँताको एक सामुदायिक वनमा बाघले मारेका बाख्रा । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, जेठ ४ गते । कालीकोटको विभिन्न क्षेत्रमा चितुवा बाघ फैलिएको छ । शुक्रबार राति कालीकोटको पलाँता गाउँपालिका–८ को वन क्षेत्रमा पसेको चितुवाले वनमा चरिरहेका एकै बगालका सात वटा बाख्रा मारेको छ । 

शुक्रबार दिउँसो चराउन लगाइएका बाख्रा घरमा नआए पनि खोज्न जाँदा हिउँटाला हिउँचुली सामुदायिक वनमा नाइवाडाका करबहादुर बमका सात बाख्रा एकै क्षेत्रमा मारेको अवस्थामा भेटिएका हुन् । जिल्ला वन कार्यालय कालीकोटका फरेस्टी टक्कबहादुर बमले वनको नजिकै यताउता तिर सात बाख्रा मारेको अवस्थामा आफूले भेटेको बताउनुभयो ।

वन क्षेत्रमा जाँदैगर्दा उहाँहरू पनि बाख्रा हराए भनेर खोजिरहनु भएको थियो । शनिबार बिहानतिर वनको यत्रतत्र मारेको अवस्थामा भेटिएको सुनाउनुभयो । सात बाख्रामध्ये एक बाख्राको भित्रपट्टीको केही बाहिरको भाग खाएको देखियो । अन्य बाख्राको रगत मात्र चुसेर मारेको अबस्थामा भेटिएको बमको भनाइ छ । 

कालीकोटका प्रायः वन क्षेत्रमा अहिले पाटेबाघ भेटिएको छ । कतै गाईगोरु मार्छ भने कतै बाख्रा मार्ने गरेको छ । गत वर्ष रास्कोटको तल्लो क्षेत्र वड्लालको खरकाट्ने वनमा चितुवा आफै मरेको अबस्थामा भेटेपछि वनमा बाघ छ भनेर एकिन भएको र पछि कर्णाली काेरिडोर क्षेत्रमा भेटिने गरेको सुनाउनुभयो । 

जिल्लाका सबै सामुदायिक वनमा बाघ फैलिएका छन् । त्यसैले वनजङगल जाँदा स्थानीयलाई विशेष ध्यान दिन अनुरोध गर्नुभयो । अहिले सडकमा पनि बाघ दौडिन थालेका छन् । प्रायः बाघ फैलिएकाले किसान चिन्तामा छन् ।