नवीनराज कुइँकेल
लमजुङ, जेठ २ गते । लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । बिहीबारदेखि वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।
लमजुङमा तयार भएर आएका राष्ट्रिय परिचयपत्र कार्ड पहिलो चरणमा बेँसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाको वडा तहमा पुगेर वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो । आठ वटा स्थानीय तहमध्ये बाँकी पालिकामा क्रमशः परिचय पत्र वितरण गरिने उहाँले बताउनुभयो ।
यसअघि मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा भएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवम् सरोकारवालासँगको अन्तर्क्रियाले वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने निर्णय गरिएको थियो । लमजुङमा ३८ हजार जनाको कार्ड छपाइ भएकोमा १२ हजार २६१ जनालाई वितरण गरिसकिएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि वडा तहमै पुगेर विवरण सङ्कलन गरेर छापिएर आएका कार्डलाई पुनः वडा तहमै पुगेर वितरण गर्न लागिएको हो ।
राष्ट्रिय परिचयपत्र लिँदा पुनः जैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर जानुपर्ने प्रशासनले जनाएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि स्थानीय तहसँगको सहकार्यमा प्रााविधिकसहितको टोली प्रत्येक वडामा ७ दिन बस्ने र आवश्यकताअनुसार १५ दिनसम्म बस्न सक्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट विवरण सङ्कलन गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिने बताइएको छ । यसरी वडामै पुगेर राष्ट्रिय परिचयपत्रको कार्ड वितरण अभियानमा विवरण सङ्कलन गराएका कुनै पनि नागरिक छुट्न नहुने भन्दै जिल्ला समन्वय समिति पूर्णबहादुर गुरुङले अभियानलाई विशेष महत्त्व दिएर स्थानीय तहले व्यापक रूपमा प्रचारप्रसार गर्न जरुरी रहेको बताउनुभयो ।