• १२ असार २०८१, बुधबार

सिद्धार्थनगरमा छाडा चौपाया

blog

सिद्धार्थनगरको सडकमा रहेका छाडा चौपायाहरु। तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, जेठ २७ गते। सिद्धार्थनगरमा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण हुने देखिएको छ। छाडा चौपाया व्यवस्थापनलाई मध्यनजर गर्दै नगर प्रमुख इश्तियाक अहमद खानले शपथ ग्रहणकै दिन पहिलो प्राथमिकतामा कान्जी हाउस निर्माण गर्ने घोषणा गर्नुभएको थियो।

यसअघि निवर्तमान नगर प्रमुख हरिप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा छाडिएका छाडा चौपाया व्यवस्थापनका लागि ५४ लाख ५० हजार विनियोजन गर्नुभएको थियो। 

एक वर्षमा समस्या समाधान हुने दाबीका साथ नगरपालिकाले लाखौँ रुपियाँ लगानी गर्ने योजना बनाए पनि आर्थिक वर्ष सकिन लाग्दा कान्जी हाउस कहाँ बनाउने बारे टुङ्गो समेत लागेको छैन। छाडा पशु चौपायाका कारण रुपन्देहीमा सवारी साधन दुर्घटना समेत बढिरहेको छ। साथै नगरलाई समेत कुरुप बनाइरहेको छ। 

नगरपालिकाका अनुसार हालसम्म कान्जी हाउस सम्बन्धी कुनै पनि प्रक्रिया सुरु भएको छैन। सिद्धार्थनगर–११ स्थित नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा कान्जी हाउस बनाउने भनिए पनि यसबारे कुनै टुङ्गो छैन।

वडा नम्बर ११ सिसवास्थित सार्वजनिक जग्गामा कान्जी हाउस (पशु बन्दी गृह) निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरेर सञ्चालनमा ल्याउने भनिएको थियो। नगरभित्र रहेका छाडा चौपायालाई त्यहाँ राखेर संरक्षण, उपचार र पालनपोषण गर्नेगरी नगरपलिकाको स्वामित्वमा करिब ४-५ बिघा जग्गा सो क्षेत्रमा रहेको वडाध्यक्ष दिलीप यादवले बताउनुभयो। कान्जी हाउस निर्माणका लागि प्रयोगमा ल्याउने भने पनि स्थानीयले अवरोध गरेपछि प्रक्रिया अगाडि बढेको छैन। 

संविधानमा स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा-११ को उपदफा २ मा छाडा पशु चौपाया नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई सुनिश्चित गरेको छ । यस्ता कार्यमा नगरपालिकाले अग्रसरता देखाएपछि नगरवासी उत्साहित भएका थिए। तर, बजेट विनियोजनपछि पनि अवस्थामा सुधार नभएपछि उनीहरू निराश बनेका छन्। कान्जी हाउसका लागि यत्रो बजेट विनियोजन गर्नु नगर इतिहासमै पहिलो हो।  

कान्जी हाउसका साथसाथै थप चार लाख बजेट नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको यातायातमा खर्च गर्नका लागि छुट्याएको थियो। भलुही र बाउन्नकोटीमा रहेको गौशालाका लागि २–२ लाख बजेट नगरपालिका क्षेत्रमा दुर्घटनामा परेका चौपायाको उपचार र छाडा चौपाया व्यवस्थापनको यातायातमा सो रकम खर्च हुने गरी विनियोजन गरिएको थियो। 

छाडा चौपायाले सहरको सुन्दरीकरणमा ह्रास पुर्याउनुका साथै दुर्घटना पनि बढाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार पछिल्लो तीन वर्षमा छाडा चौपायाबाट हुने दुर्घटनाको संख्यामा वृद्धि भएको छ।

पछिल्लो तीन वर्ष रुपन्देहीको बुटवलबाहेक यस क्षेत्रमा दर्जनभन्दा बढी सवारी साधन दुर्घटना छाडा चौपायाकै कारण भएको छ। सडकमा छाडिएका चौपायाका कारण ठूलो दुर्घटना हुने जोखिम कायम छ। भैरहवाको मुख्य बजार बैंक रोड, गल्लामण्डी, वीपीपथ, लुम्बिनी रोड, आवारोड, हाटबजार, मिलनचोक, नारायणस्थान, सिद्धार्थराज मार्गलगायतका स्थानमा पशु चौपायाकोले आवगमनमा पनि अवरोध हुने गरेको छ।