• १७ असार २०८१, सोमबार

व्यापारघाटा कम गर्न बङ्गलादेशले सहजीकरण गर्ने

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २७ गते । नेपाल र बङ्गलादेशबीचको ब्यापार घाटा कम गर्न बङ्गलादेशले कतिपय वस्तुहरु निर्यातमा सहजीकरण गर्ने भएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत सालाहुदिन नोमन चौधरीले नेपालको पूर्वी नाका मेची भन्सार कार्यालयमा आएर यस विषयमा आफूहरु तयारीमा रहेको बताउनुभयो । 

करिब २० वटा वस्तु बङ्गलादेश निर्यात गर्न सहज हुनेगरी ब्यापार सम्झौताका लागि तयारी भइरहेको राजदूत चौधरीले बताउनुभयो । बिहीबार नेपाल बङ्गलादेश च्याम्बर अफ टे«डर्सले मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा राजदूत चौधरीले ब्यापार र पर्यटन प्रवर्धनका लागि नेपालको साथमा बङ्गलादेश रहेको बताउनुभयो ।

दुईदेखि तीन महिनाभित्रमा २० वटा वस्तुहरु निर्यातको विषयमा सम्झौता हुने भन्दै ती वस्तुहरुबारे केही खुलाउनुभएन । सम्झौता भएका वस्तुहरु सहज रुपमा निर्यात हुने व्यवस्था हुने उहाँको भनाइ छ । बङ्गलादेशसँग नेपालले कतिपय कृषिजन्य वस्तु निर्यात गर्न सक्ने बताउँदै आएको छ । 

मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओलीका अनुसार चालु आर्थिक वर्षमा बङ्गलादेशबाट ९ अर्ब ९० करोड रुपियाँको विभिन्न वस्तु आयात भएकोमा नेपालबाट ३ करोडको वस्तुहरु बङ्गलादेश निर्यात भएको छ । विशेष गरेर बङ्गलादेशबाट औषधि, कपडा, बिस्कुट, जुस नेपाल आउने गरेको छ ।

ओलीका अनुसार नेपालको कृषिजन्य उत्पादन अलैंची, चियालगायतका वस्तुमा भन्सार कम गर्दा यसको निर्यात बढ्नेछ । यस्ता वस्तुहरुमा बङ्गलादेशले उच्च कर लगाएका कारण ब्यापार घाटा धेरै भएको उहाँले बताउनुभयो ।