• ७ मंसिर २०८१, शुक्रबार

नाटक ‘चोरको स्वर’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २७ गते । चेम्जोङ गाउँका १९ वर्षे किशोर (दुलहा)ले भर्खरै एउटी किशोरीलाई भगाएर लगेको छ । त्यसैले चेम्जोङ गाउँबाट बुढ्यौलीसहित आफन्त शेर्मा गाउँमा आएर चोरको स्वर भन्दै थियो । यो आर्टमान्डु नेपालको प्रस्तुतिमा नयाँ नाटक ‘चोरको स्वर’को एक अंश हो । अनिल सुब्बा र अन्वेश राई थुलुङको निर्देशनमा मञ्चन भएको नाटकले लिम्बू समुदायमा रहेको भागी विवाहको परम्परालाई पेस गरेको छ । 

‘चोरको स्वर’ पूर्वेली लिम्बू समुदायमा प्रचलित रीत हो । जुन भागी विवाहपछि दुलहीका परिवारलाई जानकारी गराउन र विश्वस्त तुल्याउन तय गरिन्छ । ‘तपाईंहरूको छोरी–चेली हामीसँग छ । हामी उहाँलाई दुःख, कष्ट दिने छैनौँ’ भनी पक्का गरेपछि दुलही पक्षले स्वीकार्ने गर्छन् ।

यदि चोरको स्वर स्वीकारे बिहे हुन्छ र अस्वीकार गरे बिहे अघि बढ्दैन । चोरको स्वर स्वीकार नगर्दा छोरीलाई माइती जान नपाउँदाको पीडा हुन्छ । यो सामाजिक आयामलाई नाटकमा प्रस्तुत गरिएको कथाकार नवीन चौहानले बताउनुभयो । उहाँले लिम्बू समुदायको भागी बिहेको संस्कृतिमा रहेको रोचकतालाई चित्रण गरेको जानकारी दिँदै नाटकमा दुई गाउँको कथालाई प्रस्तुत गरेको बताउनुभयो । 

चौहानका अनुसार बिहेको माहोलमा दर्शकलाई पनि जन्ती गएको अनुभव दिलाउन नाटक तयार पारिएको प्रस्ट पार्नुभयो । भगाएर बिहे गरिसकेपछि केटा पक्षबाट केटीको माइतीमा कोसेली लिएर जाने प्रक्रियालाई चोरको स्वर भनिन्छ । नाटकमा एकातिर सुविधासम्पन्न गाउँ छ भने अर्कोतिर दुर्गम गाउँ । दुई विपरीत गाउँको असमानतालाई नाटकमा दर्शाएको छ । 

थापागाउँस्थित मण्डला थिएटरमा जारी नाटक ‘चोरको स्वर’ले लिम्बू समुदायमा प्रचलित भागी विवाहपछिका झगडा, समस्या, हार्दिकता, माया, समाजको परम्परा देखाउन खोजिएको छ । पूर्वी पहाडको थातथलोबाट लिम्बू समुदायको रहनसहन, बोली–लवज, खानपान र सिङ्गो समाजलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । घर–गाउँ, भू–बनोट, लत्ताकपडा, भाषा–लवजले नाटकलाई अझ राम्रो बनाएको छ भने कलाकारको अभिनय तारिफयोग्य छ । 

अनिल सुब्बा, वेदना राई, रुपेश लामा, इगी होपोक कोइँच सुनुवार, सङ्गीत थापा, सुरज तमुसहितका २३ जना कलाकारले नाटकमा अभिनय गर्नुभएको छ । जेठ २० गते मञ्चन भएको नाटक असार १५ गतेसम्म मण्डलमा मञ्चन हुने आयोजकले जनाएको छ ।