• ३० वैशाख २०८२, मङ्गलबार

नेपालमै कृषि मल उद्योग सञ्चालन

अध्ययनमै बित्यो चार वर्ष फस्फोराइटको मात्रा घट्यो

blog

खानी तथा भूगर्भ विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा पत्ता लगाएको फस्फोराइट । फाइल तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, वैशाख ३० गते  । कृषि मल उद्योग सञ्चालन गर्न बैतडीमा चार वर्षअघि नै खानी तथा भूगर्भ विभागका विज्ञले फस्फोराइट पत्ता लगाए पनि परिमाणको विषय यकिन नहुँदा बर्सेनि अध्ययन तथा अनुसन्धानमै बजेट र समय खर्च भइरहेको छ ।

तीन वर्षअघि १६ प्रतिशत भनिएकोमा गत वर्ष तीन/चार प्रतिशत मात्रै फस्फोराइट भएको तथ्य उजागर भएपछि खानी सञ्चालनमा अलमल सिर्जना भएको हो ।  जिल्लाको दोगडाकेदार गाउँपालिका–७ र ३, बसौरा र पुर्चौडी नगरपालिका–६, साउनगाउँमा फस्फोराइट खानी रहेको छ । दोगडाकेदारको बसौराबाट पुर्चौडीको साउनगाउँसम्म करिब ४० किलोमिटरभन्दा लामो दुरीसम्मको क्षेत्रमा खानी फैलिएको छ । 

विज्ञ टोलीले यसअघि दोगडाकेदारतर्फको खानीमा तीन वर्षअघि ड्रिल गरेर अध्ययन भएको थियो । वरिष्ठ भूगर्भविद् कुमार खड्कासहित १५ जनाको टोलीले ५५ दिनसम्म ड्रिल (प्वाल पार्ने काम) गरेर १६ प्रतिशत फस्फोराइट फेला परेको जानकारी दिइएको थियो । गत वर्ष पुनः अध्ययन गर्दा तीन/चार प्रतिशत मात्रै फस्फोराइट भेटिएपछि उत्खननका लागि निजी क्षेत्रका कुनै पनि कम्पनीले चासो देखाएनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फस्फोराइटको परिमाण घट्दा नजी क्षेत्रका कम्पनीसँग प्रस्तावना आह्वान गरिए पनि कसैले पेस नगरेको बताउनुभयो । उहाँले यस वर्ष खानीको थप अध्ययन हुने बताउनुभयो । 

नेपालमै कृषि मलको सम्भावना अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोलीले फस्फोराइट खानीमा ५० मिटर गहिरो प्वाल पारेर विस्तृत अध्ययन गर्न ५५ लाख रुपियाँ खर्च गरेको थियो । गत वर्ष पनि अध्ययनमा पाँच लाख रुपियाँ खर्च भएको पाइएको छ ।  चालु आवमा पनि खानीको विस्तृत अध्ययन गर्न आवश्यक बजेट रहेको खानी तथा भूगर्भ विभागका सूचना अधिकारी बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले विभागबाट फस्फोराइट पत्ता लगाउने काम भए पनि परिमाण घटबढ भइरहँदा निजी क्षेत्रका कम्पनी लगानी गर्न उत्साहित नभएको बताउनुभयो ।

बैतडीमा आठभन्दा बढी खानी 

बैतडीमा फस्फोराइट खानीबाहेक फलाम खानी, चुनढुङ्गा खानी, शिलाजित खानी, स्लेट खानी र खल बनाउन प्रयोग हुने ढुङ्गाको खानी, सिल्बरलगायत आठभन्दा बढी खानी रहेका छन् । आइएमी समूहले बैतडीका चुनढुङ्गा उत्खनन गरेर सिमेन्ट उद्योग सञ्चालनको तयारी गरिरहेको छ । 

दोगडाकेदार गाउँपालिकामा चुनढुङ्गा र फस्फोराइट खानी, दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमा सिसा र मौरा भिरमा शिलाजित खानी रहेका छन् । पुर्चौडी नगरपालिकाको मल्लादेहीको कालीढुङ्गा क्षेत्रमा ३५ वर्षअघि स्थानीयले उत्खनन गरेर फलाम निकालेका चार सयभन्दा बढी खाडल अहिले पनि देख्न सकिन्छ । द्वन्द्व कालमा फलाम खानी बन्द भएपछि ती खाल्डामा अहिले स्थानीयले फोहोर र मरेका पशुचौपाया फाल्ने गरेका छन् ।  

त्यसै गरी सिगास गाउँपालिका–१ को सुगरखालमा फलाम खानी र नजिकै खरकेउडागाउँमा खरीढुङ्गा र स्लेट खानी रहेको छ । डिलासैनी गाउँपालिकालाई छोएर बग्ने चमेलिया नदी किनारमा युरेनियम र सुनको सम्भावना, शिवनाथ गाउँपालिकामा कुटानी पिसानीमा प्रयोग हुने घट्ट, जाँतो र खल बनाउने ढुङ्गा खानी भए पनि उद्योग सञ्चालन हुन सकेको छैन । 

पाटन नगरपालिका–१, गुत्थडी र गरालेकको खोलामा पहेँलो रङ्गको खनिज पानीमा बग्ने गरेको पाइएको छ । स्थानीयले सो खनिज काठमाडौँ लगेर परीक्षण गर्दा ८५ प्रतिशत सिल्भर रहेको प्रारम्भिक जानकारी आएको वडाध्यक्ष तर्कसिंह ठगुन्नाले बताउनुभयो ।