• ७ मंसिर २०८१, शुक्रबार

सेतो सुनको निर्यात

blog

जलस्रोतमा नेपाल विश्वकै धनी मुलुकहरूमा पर्ने तथ्य विवादरहित नै छ । यो तथ्य भए पनि जलस्रोतको समुचित व्यवस्थापन हुन नसकेकै कारण नेपालीले १८ घण्टासम्म पनि विद्युत्भार कटौती (लोडसेडिङ) मारसम्म खप्नुप-यो । यो अवस्था वास्तवमै नेपालीका निम्ति अति पीडादायक अवधि थियो । यस परिस्थितिमा नेपालले विद्युत् अर्थात् सेता सुन निर्यात गरेर धनी हुने सोच बनाउनु केवल कोरा सपना नै थियो तर समयक्रममा त्यो सपना यथार्थमा परिणत हुँदैछ ।

खासगरी ठूला विद्युत् आयोजनाको निर्माणमा तीव्रता, विद्युत् प्राधिकरणको आन्तरिक व्यवस्थापनमा सुधार, विद्युत् चुहावट नियन्त्रण आदि पक्षको सुधारले मुहार परिवर्तन भएको छ । फलस्वरूप विद्युत् आपूर्तिमा विगत केही समय यतादेखि उल्लेख्य प्रगतिसँगै सेता सुन निर्यातको चरणमा प्रवेश गरेको छ । 

विशेषगरी राजधानी काठमाडौँजस्ता सहरी क्षेत्रमा लोडसेडिङ एकादेशको कथामा परिणत हुने क्रममा छ, देशका अन्य भागमा पनि विद्युत् नियमित आपूर्तिमा सुधार हुँदै निर्यातसम्म पुगेको हो । त्यसो त जलस्रोतको धनी मुलुकका नाताले जलविद्युत् निर्यातको सपना देख्नु नेपालका लागि पक्कै पनि अनौठो विषय होइन र थिएन पनि ।

वर्तमान सरकारले विद्युत् व्यापारमा छिमेकी देशहरूसँगको सहकार्यलाई बढी प्राथमिकता दिएको छ । त्यसक्रममा नेपालले छिमेकीहरूसँग विभिन्न अवसरमा विद्युत् व्यापारसम्बन्धी कुराकानी, छलफललाई अगाडि बढाइरहेको थियो । अब नतिजा देखिन थालेको छ । नेपालले भारततर्फ विद्युत् निर्यात प्रारम्भ गरेसँगै नतिजा देखिन थालेको हो ।

हरेक दृष्टिकोणबाट भारत नेपालको प्रमुख विद्युत् आयातकर्ता बन्ने तथ्य निर्विवाद नै हो । जनसङ्ख्या वृद्धिका अतिरिक्त औद्योगिकलगायतका अन्य गतिविधि बढ्ने क्रमसँगै चर्को विद्युत् मागको आपूर्तिका निम्ति नेपालबाट सम्भव भएसम्म विद्युत् आयात गर्नु भारतका लागि उपलब्ध सर्वोत्तम विकल्प हो ।

यस अर्थमा दुवै मुलुकको पारस्परिक हितका आधारमा विद्युत् व्यापारको तारतम्यको कार्यान्वयन सम्भव भएको छ । त्यसो त अभाव हुँदा नेपालले केही पहिलेदेखि नै भारतबाट विद्युत् आयात गरी नै रहेको थियो । यस पटकबाट नेपालले बढी भएको विद्युत् नियमित रूपमा भारतमा पठाइरहेको छ । विशेषगरी मनसुन सक्रिय भइसकेको अवस्थाका कारण नदी प्रवाह बढेसँगै विद्युत् उत्पादन बढेको छ ।

बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्जमा कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । यो सबै नेपालीका लागि खुसीको विषयसमेत हो । नेपालका विभिन्न पाँच जलविद्युत् आयोजना कालीगण्डकी, त्रिशूली, देवीघाट, मस्र्याङ्दी तथा मध्य मस्र्याङ्दीबाट उत्पादित विद्युत्लाई यसरी भारततर्फ निकासी गरिएको हो ।

यस हिसाबबाट २४ घण्टामा छ हजार आठ सय मेगावाट विद्युत् निर्यात भएको छ । वित्तीय आँकडमा औँल्याउनु पर्दा यो करिब साढे सात करोड रुपियाँ बराबरको निर्यात हुन आउँछ । चरम व्यापार घाटा भोगेको नेपालका लागि सानो भए पनि यो राहत हो ।

विद्युत् निर्यातले नेपालबाट भारततर्फ विद्युत् निर्यातको सम्भावनालाई निकै प्रखर रूपमा उजागर गरेको अर्थमा लिइनु पर्छ । निर्यातको यस कार्यलाई निरन्तरता दिने प्रयास नेपाली पक्षको हुनुपर्छ । यसका निम्ति सरकारलगायत सबैले गम्भीरता साथ लागि पर्नु आवश्यक छ । यस दृष्टिबाट हेर्दा नेपालमा उत्पादित विद्युत्को भारत भरपर्दो बजार हुने स्पष्टै छ । विद्युत्को बाह्य बजारले नेपालमा थप ठूला जलविद्युत् परियोजनाको निर्माणमा लगानी आकर्षित हुन सक्नेछ । निर्माणाधीन आयोजना चाँडो सम्पन्न गर्न प्रोत्साहन मिल्नेछ ।

विद्युत् निर्यात समग्रमा मुलुकको अर्थतन्त्रका लागि समेत निकै प्रभावकारी कदम भएकोमा कुनै दुई मत हुन सक्दैन । यस क्रममा केही कुरामा ध्यान पु-याउनु पर्छ । विशेषतः मुलुकमा गुणस्तरीय विद्युत् आपूर्तिको पूर्णतया प्रत्याभूति नभएसम्म कुनै पनि अवस्थामा निर्यातलाई जायज मान्न सकिन्न ।

हिजोआज बारम्बार विद्युत्को अघोषित लोडसेडिङको जस्तो अवस्था देखिएको छ । कतै भारतमा विद्युत् निर्यात र यसको सम्बन्ध त छैन भन्ने उपभोक्ताको प्रश्नसमेत छ । प्राधिकरणले यसमा ध्यान पु-याउनु पर्छ । आन्तरिक बजारमा गुणस्तरीय विद्युत् आपूर्ति गरेर मात्र विद्युत् निर्यात गर्नु सबैको हितमा हुनेछ । विद्युत्लाई आन्तरिक अर्थतन्त्र बढोत्तरीमा समेत बहुआयामिक ढङ्ग लगाउनु पर्छ र त्यसपछिको बाँकी विद्युत् मात्र बाहिर पठाउनु वाञ्छनीय छ ।