• २४ चैत २०८२, मङ्गलबार

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ

blog

सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै राष्ट्रिय सभाकी नवनिर्वाचित लिलाकुमारी उपाध्यक्ष भण्डारी। तस्बिरः कविन अधिकारी

काठमाडौँ, चैत २४ गते । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष नवनिर्वाचित उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको उपस्थिति रहेको थियो । सो अवसरमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र उच्चपदस्थ सरकारी अधिकारीको समेत सहभागिता थियो ।


यसअघि सोमबार बसेको राष्ट्रिय सभाको बैठकले भण्डारीलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको थियो ।