काठमाडौँ, वैशाख २४ गते । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दःखभाग्जनः’ भन्ने आदर्श बोकेको गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार १२५ औँ वर्षमा प्रवेश गरेको छ ।
यसै दिन राष्ट्रिय पत्रकारिता दिवससमेत मनाउने गरिन्छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ । विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो ।
एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो ।
गोरखापत्र स्थापना दिवसकै अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपसभामुख विमला घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना दिनुभएको छ ।
राष्ट्रपति पौडेलले शुभकामना दिँदै गोरखापत्रले मुलुकको समृद्धि र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । शुभकामना सन्देशमा उहाँले गोरखापत्रको ऐतिहासिक यात्रा केवल एक प्रकाशन गृहको कहानी मात्र नभएर यो मुलुकको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक इतिहासको महत्वपूर्ण घटनाहरूको साक्षी पनि रहेको उल्लेख गर्नुभएको छ । गोरखापत्रले मुलुकको इतिहास र परम्परालाई समेत सम्बोधन गरेको उहाँको भनाइ छ ।
गोरखापत्रले मुलुकका ४५ वटा राष्ट्रिय भाषामा विभिन्न सामग्री प्रकाशित गरेर समावेशी समाजको परिकल्पनालाई सार्थकता प्रदान गर्न पुर्याएको योगदानको सराहना गर्नुहुँदै उहाँले यसले मुलुकको विभिन्न जातजाति, भाषिक समुदाय र क्षेत्रीयताको आवाजलाई प्राथमिकतामा राखेर शान्तिपूर्ण र समृद्ध नेपाल निर्माणमा योगदान गरेको बताउनुभएको छ ।
उहाँको सन्देशमा उल्लेख छ, “आमसञ्चार माध्यमको उद्देश्य भनेको जनतालाई सत्यतथ्य र र निष्पक्ष जनकारी प्रदान गर्नु हो । यस अर्थमा गोरखापत्रले राष्ट्र निर्माणको दिशामा महìवपूर्ण भूमिका निर्वाह गरेको छ ।” उपराष्ट्रपति यादवले शुभकामना दिनुहुँदै मुलुकको पत्रकारिता क्षेत्रमा गौरवशाली र कालजयी पहिचान बोकेको ऐतिहासिक तथा प्रतिष्ठित प्रकाशन गोरखापत्र पत्रकारिताको धरोहर मात्र नभई नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्ताबेज रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “गोरखापत्रले सरकार र आमनागरिकबिच सञ्चार सेतुका रूपमा कार्य गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र सामाजिक न्यायका पक्षमा तथा राष्ट्रिय एकताको प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।”
सामाजिक र सांस्कृतिक रूपान्तरणमा योगदान
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुहुँदै मुलुकको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणमा गोरखापत्रको ठुलो योगदान रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “नेपाली पत्रकारिताको अग्रणी पत्रिका गोरखापत्रले समाज रूपान्तरणमा पुर्याएको योगदानको म प्रशंसा गर्न चाहन्छु ।’’
गोरखापत्रले अब देश विकासका निम्ति नवीनतम र सिर्जनात्मक रूपमा आमनागरिकलाई गर्नुपर्ने बेला आएको बताउनुहुँदै उहाँले भन्नुभएको छ, “अब हाम्रा सूचना र विषयवस्तु उद्यमशीलताको विकाससँगै रोजगारीका अवसर सिर्जना गर्ने कुरामा केन्द्रित हुनु पर्छ । यसका लागि गोरखापत्रले पनि आफ्नातर्फबाट भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।”
त्यसै गरी उहाँले राष्ट्रका अभिभारा पूरा गर्न सरकारले अगाडि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन र पारदर्शिताको अभियानलाई जनसमक्ष विस्तार गर्न गोरखापत्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा समयानुकूल विषयवस्तु समेटेर देश विकासका निम्ति योगदान पुर्याउन गोरखापत्र सम्बद्ध सबैमा आह्वानसमेत गर्नुभएको छ ।
यसैबिच प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शुभकामना दिनुहुँदै गोरखापत्रले पत्रकारिताका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको बताउनुभएको छ । संसद् पनि जनताका सरोकारको थलो रहेको चर्चा गर्दै उहाँले संसद्मा गरिने बहस, छलफल, यसका क्रिया, प्रतिक्रियाहरूलाई गोरखापत्रले दिएका स्थानले यसको महत्व झन् बढेको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँको सन्देशमा उल्लेख छ, “गोरखापत्रले अझै जनताको मन छुन सकोस् । हाम्रो राष्ट्रको विविधतालाई यसले पक्रिन सकोस् । त्यस दिशामा आवश्यक लगानी गर्ने, ध्यान पुर्याउने र यसलाई आवश्यक पर्ने सबै प्रबन्ध गर्ने कुरामा सबैले ध्यान दिनु पर्छ ।”
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुभकामना दिँदै नेपालको पत्रकारिताको क्षेत्रमा गोरखापत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ, “देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र २०७२ सालमा निर्मित नयाँ संविधानको मर्मलाई गोरखापत्रले राम्रोसँग आत्मसात गरेको मैले महसुस गरेको छु । गोरखापत्रले ४५ वटा राष्ट्रिय भाषामा सामग्री प्रकाशन गरेर भाषिक तथा सांस्कृतिक विविधताको सम्मान र प्रवर्धनमा उल्लेखनीय भूमिका खेलेको छ ।” राष्ट्रिय सभाका उपसभामुख विमला घिमिरेले मुलुकको संसदीय अभ्यासमा समेत गोरखापत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले शुभकामना दिनुहुँदै लामो इतिहास बोकेको गोरखापत्र नेपालीको ऐतिहासिक दस्ताबेजका रूपमा रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “आज ४५ भाषामा समाचार तथा सामग्री यहाँहरूले दिनुभएको छ, पाठकलाई पढ्ने मौका दिनुभएको छ ।’’
विकासको जिउँदो साक्षी
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिनुहुँदै गोरखापत्र मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकासको जिउँदो साक्षी रहेको बताउनुभएको छ । उहाँको सन्देशमा उल्लेख छ, “इतिहासका घटनाक्रम र तत्कालीन सामाजिक र आर्थिक परिवेश केलाउन अनुसन्धानकर्ताहरूको स्रोत सामग्री बन्दै आउनुबाट गोरखापत्रको महìव पुष्टि हुन्छ ।”
सन्देशमा उहाँले भन्नुभएको छ, “सञ्चारमन्त्रीको हैसियतले म विश्वस्त छु कि गोरखापत्र र यसका अन्य प्रकाशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनमा ठुलो योगदान पु¥याउने छन् र नेपाली पत्रकारिता र सञ्चार क्षेत्रमा गोरखापत्रको योगदान सधैँ प्रेरणादायक रहने छ ।”
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले शुभकामना दिनुहुँदै गोरखापत्र र यसका अन्य प्रकाशनले नेपालको पत्रकारिता र सञ्चार क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
शुभकामना सन्देशमा उल्लेख छ, “नेपाली समाजको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनको साक्षी बनेर गोरखापत्रले समयसँगै आफ्नो भूमिकालाई अझ सशक्त बनाएको छ । यो अखबार नेपाली जनता र राष्ट्रका बिचमा पुलको कार्य गर्ने सशक्त माध्यम बनेको छ । यसका प्रत्येक अङ्कले हाम्रो सामूहिक सङ्घर्ष र प्रगतिको प्रतिविम्ब प्रस्तुत गरेको छ ।’’
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले शुभकामना दिनुहुँदै नेपाली पत्रकारिताको संस्थागत विकासमा गोरखापत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ, “राष्ट्रको इतिहास र सभ्यता जोडिएको गोरखापत्रलाई अहिलेको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनर्संरचना आवश्यक छ ।
पछिल्लो समय गोरखापत्रले नेपाली सञ्चार जगत्मा आफ्नो मौलिक पहिचानसहित नयाँ नयाँ ‘फिचर’ को अभ्यास गरिरहेको छ, यो आफैँमा महत्वपूर्ण छ । सरकार, नागरिक र समाजबिचको सेतुका रूपमा प्रेसले तथ्यमा आधारित सूचना प्रवाह, जनमत निर्माण र उत्तरदायी शासनका लागि गोरखापत्रले नेतृत्व गर्ने मैले विश्वासलिएको छु ।”