बृहत् अर्थमा हेर्ने हो भने सबै लेख्य तथा श्रव्य सामग्रीलाई साहित्य भन्न सकिन्छ । यसर्थ व्यक्तिका अभिव्यक्ति, इतिहास, लिखत, गीत, व्यक्तिगत वर्णन सबैलाई साहित्य वा साहित्यका कच्चा पदार्थ भन्न सकिन्छ । साहित्यका विभिन्न विधा छन्, उपविधा थपिँदा छन् । कतिपय व्यक्तिका यात्रा वर्णन वा नितान्त व्यक्तिगत डायरी केही परिष्करणपछि नियात्रा, संस्मरण वा निबन्ध बनेका छन् । यस्ता सामग्रीले साहित्यिक विधाको दायरा फराकिलो बनाएका छन् । यसै कारण हुयान साङ र कर्कप्याट्रिकका यात्रा वर्णनहरू नेपाली इतिहास–साहित्यको स्रोत भएका छन् । इतिहास भएका छन् । नियात्रा र यात्रा संस्मरणको ऐतिहासिक विकासक्रमको जरो खोज्दै जाँदा यस्ता वर्णन र वर्णनकारको योगदानसम्म पुग्नुपर्ने हुन्छ । आजका नियात्रा र यात्रा संस्मरण हिजोका यात्रा वर्णनसँग जोडिन्छन् । भोलिको इतिहासलाई आजको नियात्रा÷संस्मरणले व्यक्त गर्छ ।
पछिल्ला वर्ष नेपालीहरूको खर्च शक्तिको वृद्धि, नेपाली युवा विदेशमा रहने र तिनलाई भेट्न जाने अविभावकको सिर्जनशीलता, देखासिकी, रहर वा अन्य कारणले पनि यात्रा संस्मरण/ नियात्रा लेख्नेको घुइँचो नै छ । कतिपय लेखकले सिद्धान्ततः यात्रासंस्मरण र नियात्रा लेखनमा भेद खुलाउने गरेका छैनन् भन्ने समीक्षात्मक तथा समालोचकीय विचार पढ्न पाइन्छ तर पनि लेखिएको छ । कतिपयलाई यस्ता लेखनहरू तत्कालका लागि केही पनि होइनन् भन्ने लाग्न सक्छ तर हुयान साङ, मार्कपालो वा कर्कप्याट्रिकका यस्तै यात्रा वर्णनहरू इतिहास र साहित्य दुवै बनेका छन् । आज प्रत्येक लेखकले लेखेका यस्ता अनुभूति र वर्णनले इतिहासमा यस्तै महìव राख्ने छन् । आजभन्दा ३० वर्षअघि मुस्ताङ पुग्ने यात्रीले त्यहाँका घर घरमा राखिने खलियोका खलियो दाउराबारे वर्णन गरेका रहेछन् भने आज हराउँदै गएको दाउरा–संस्कृति तथा त्यसका सामाजिक मूल्य मान्यताका बारेमा अनुसन्धान गर्नेलाई सहज हुन सक्छ । ती दाउरा फगत इन्धनको साधन मात्र नभएर दौलथको सामाजिक– सांस्कृतिक प्रतीक पनि हो भनेर बुझ्न यस्ता जीवन्त चित्रण लेखनमा आउनु पर्छ । यिनै वर्णन, अनुभूति र व्याख्यासँग जोडिएका पहिचानहरू साहित्यका विषय बन्न सक्छन् । यसर्थ नियात्रा, यात्रा संस्मरण/निबन्ध लेखनमा यात्रा अर्थात् देश दर्शनको महत्त्व रहन्छ । यसै गरी कतिपय अवस्थामा विदेशको संस्कृति, हावापानी, सामाजिक व्यवहारबारे जानकारी पाउन विदेश–भ्रमण लेखन चाहे नियात्रा वा यात्रासंस्मरण होस् उसको महìव रहन्छ । यस्ता भ्रमणले लेखकीय क्षितिजलाई फराकिलो बनाउँछ ।
बेलायतको मेनचेस्टर विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापकले लेखेको अर्थशास्त्रसम्बन्धी पुस्तकमा उनले राखेको आफ्नो एउटा कविताको कारणले चर्चित भएको थियो । पछि उनले अन्तर्वार्तामा भनेका थिए– अर्थशास्त्रबारे लेख्न साहित्य, सामाजिक जीवन र समाज बुझ्नुपर्ने रहेछ । मेरो कवितामा समाजको चित्र छ, सायद त्यसैले किताबभन्दा त्यसमा रहेको एउटा कविताले पुस्तक चर्चित भएको होला । साहित्य लेख्न समाज बुझ्नु पर्छ । बुझ्नका लागि समाज वा समुदायमा पुग्नु पर्छ । बुझ्ने कुरा पनि अनुभव र अनुभूतिबाट हुन सक्छ । प्रश्रव आमाको अनुभव हो, जबकि पिताको अनुभूति मात्र । समाजको चित्रण गर्न भ्रमणले अनुभव दिन्छ जब कि ‘आर्म–चियर’ लेखनले अनुभूति मात्र दिन सक्छ । साहित्य अनुभव हो कि अनुभूति हो भनेर बहस गर्न सकिन्छ तर अनुभवमा लेखिएका साहित्यले जनस्तरमा बढी सामीप्यता राख्ने कुरामा दुईमत हुन सक्दैन । साथै के कति अनुभव हुन् र के कति अनुभूति हुन् भनेर परिभाषित गर्न सकिने छ । अनुभूतिका नाममा स्वर्गबाट झर्ने परीहरूका कथाभन्दा समाजमा सङ्घर्ष गर्ने नारीका व्यथाहरू मिठा कथा लाग्नुको कारण अनुभूति र अनुभवजन्य लेखनको परिणाम हो । पछिल्ला शताब्दीले कल्पनामा होइन, यथार्थतामा साहित्यलाई केन्द्रित गर्दै छन् । यथार्थवादी, अतियथार्थवादी साहित्य अनुभूतिको नभएर अनुभवको परिणाम हो भन्न सकिन्छ । समाजलाई बुझ्न समाज र समुदायमै पुग्नु पर्छ । यसबाट व्युत्पन्न अनुभव वा अनुभूतिले लेखनलाई निर्दिष्ट गर्छ । देख्ने र लेख्ने बानीले सर्जकलाई अतियथार्थवादी बनाउँछ । लेख्ने कि देख्ने ? यसमा पनि बहस गर्न सकिन्छ तर कतिपय समाजशास्त्रीले लेख्नुअघि कम्तीमा पनि छ महिना सम्बद्ध समाज/ समुदायमा बस्नुपर्ने र आधारभूत रूपमा उनीहरूको भाषा बुझ्नु तथा बोल्न सक्नुपर्ने आवश्यकता औँल्याएका छन् अर्थात् उनीहरू र उनीहरूको समग्रता देख्नु पर्छ । यद्यपि समाजशास्त्रीहरूले सामाजिक अनुसन्धानका लागि यस्ता पूर्वसर्त अघि सारेका हुन् तर साहित्यमा यी भनाइ र गराइ अर्थहीन छन् भन्न सकिँदैन । समाज÷समुदायमा बसेर गरिएको अनुसन्धान वस्तुपरक हुने भए साहित्यमा पनि धेरैथोरै यी मापदण्ड लागु गर्न सक्दा साहित्यलाई वस्तुपरक र ठोस यथार्थपरक बनाउन सकिने छ । साहित्य समाज तथा समुदाय निरपेक्ष नहुने भएकाले समाजमा पुग्नुले साहित्यमा समाजको रङ र छाया पोत्न सकिन्छ ।
नेपाली लेखकका अनुभवलाई सामान्यीकृत गर्ने हो भने पछिल्ला वर्षहरूमा साहित्यिक यात्राको दर बढेको देखिन्छ । विभिन्न कार्यव्रmम, सभा सम्मेलनका कारण साहित्यकारहरूले स्वदेश तथा विदेशका एक ठाउँबाट अर्को ठाउँमा जाने अवसर पाउँदै आएका छन् । यस्ता यात्रा व्यक्तिगत, समूहगत, उद्देश्यमूलक पनि छन् तर जेजस्ता यात्रा भए पनि यात्राले समाजको चित्र सर्जकको हृदयमा कोर्न सक्छ । त्यही चित्र साहित्यमा परिणत हुन्छ । त्यसले साहित्यमा स्थानीय स्वाद थप्छ । स्थानीय सार र सन्देश पनि दिन्छ । यसरी साहित्यलाई कल्पनाको जहाजबाट यथार्थको बग्गीमा हिँडाउन यात्रा र यात्रा साहित्यले सहजता दिन्छ ।
नेपालबारे केही लेखिएको छ तर अझ धेरै लेख्न बाँकी छ । नेपालका यस्ता स्थान छन्, जहाँ सर्जकहरू पुगे भने ती स्थान, विषय र सम्पदालार्ई साहित्यमा उतारिदिन सक्छन् । साहित्यको काम कुनै पनि विषयमाथि प्रकाश पर्नु पनि हो । ज्योतिर्गमयको साधन हो साहित्य भनौँ न ! यसर्थ सर्जक र प्राकृतिक, सांस्कृतिक ऐतिहासिक स्थानलाई एकआपसमा जोडिदिनु पर्छ । यसरी जोड्न भौतिक तथा प्रेरणात्मक सुविधा उपलब्ध गराउनुपर्ने भएकाले साहित्यिक यात्रालाई विभिन्न सङ्घसंस्थाले प्रयोजन गर्न सक्छन् । यस्ता यात्राहरू तत्कालका लागि परिणाममुखी नभए पनि भविष्यका लागि उपयोगी हुन सक्छन् । सर्जक र सम्पदालाई जोड्ने काम कसै न कसैले गरिदिनु पर्छ । साहित्यकार स्वयं पनि यस्ता विभिन्न स्थानमा जान सक्छन् तर साहित्यिक भ्रमणमा सरकारको पनि भूमिका रहन्छ । आन्तरिक पर्यटन वृद्धिका लागि पनि यस्ता साहित्यिक यात्रा उपयोगी हुने भएकाले साहित्यकारलाई प्रोत्साहन र उत्प्रेरित गर्न साहित्यिक यात्रा राम्रो साधन र प्रभावकारी उपया हुन सक्छ, सत्यलाई सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको भूमिका आवश्यक हुन्छ । लेखक तथा सर्जकलाई बढीभन्दा बढी स्थानको भ्रमण गराउँदा लेखनको माध्यमबाट ती स्थानको प्रचार प्रचार तेजिलो बन्न सक्छ । यसको मतलब लेखकलाई
‘मजदुर’ बनाएर ‘यति देख यति लेख’ भन्नु पर्छ भनिएको होइन मात्र सर्जक हृदयमा स्थान विशेषको छाप र छाया भरिदिनु पर्छ । हृदय भरिएपछि लेखकले दिने सुन्दरतम् अभिव्यक्तिमा यस्ता सम्पदाबारे केही न केही लेखनी हुन सक्छ त्यही लेखन नै साहित्य बन्न जान्छ ।
भन्न त रवि नपुगेको ठाउँमा पनि कवि पुग्छन् भनिन्छ तर लेखक कविहरूलाई देश दर्शन, विदेश भ्रमणका कारण लेख्नका लागि नयाँ नयाँ विषय र विम्ब प्राप्त हुन्छन् । नेपालमा विभिन्न जातका जातीय भाषा र तिनका संस्कृतिमा विभिन्न विम्ब, प्रतीक, बव्रmोक्ति रहेका हुन्छन् । यस्ता बुट्टलाई टिपेर साहित्यकारले आफ्ना लेखनलाई जीवन्त र रङ्गीन बनाउन सक्छन् । लेखकहरूले धेरै पढ्नु पर्छ, देख्नु पर्छ अनि मात्र लेख्नु पर्छ भन्ने सामान्य मान्यता नै हो । पढाइ, देखाइ, लेखकाइका लागि सिर्जनशील भ्रमण पनि उत्तम प्रयास हुन सक्ने देखिन्छ ।
निबन्ध विधाका नियात्रा र यात्रा संस्मरण जस्ता उपविधाले साहित्यमा आफ्नो उपस्थिति प्रमाणित गरिसकेका छन् । यस्ता लेखनका लागि यात्रा अनुभूति र संस्मरण अपरिहार्य नै हुन्छन् । यसका अतिरिक्त लेखनलाई भ्रमणले कसरी जीवन्त बनाउँछ भन्ने उदाहरण हिटलर र यहुदीमा उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाले गरेका छन् । द्वन्द्वग्रस्त इजराइलको जनजीवन देखाउन कोइरालाले त्यहाँका महिलाले सैनिकले छाडेका रङ्गीन कागजहरूलाई मिचमाच पारेर लिपिस्टिक लगाएको दृश्यलाई यसरी उतारेका छन् कि त्यो वर्णनले पाठकलाई युद्धको दारुण्य अवस्था आफैँले देखे जस्तो लाग्छ । यदि कोइरालाले इजराइलको त्यो दृश्य नदेखेको भए आफ्नो लेखनलाई यति साह्रो जीवन्त बनाउन सक्ने थिएनन् । युद्धका घाउलाई शब्दमा यसरी सचित्र वर्णन गर्न सक्ने थिएनन् । यसैका लागि लेखन र यात्रा अन्तर सम्बन्धित हुन्छन् । यात्राले लेखनका लागि ऊर्जा मात्र प्रदान गदैन, पाठकसँग सामीप्यता पनि जोड्छ । मधुपर्क