मुसीकोट समाचारदाता
रुकुमपश्चिम, वैशाख १९ गते । रुकुमपश्चिमको चौरजहारीमा सञ्चालित नयाँ सहर आयोजना अन्तर्गतका योजना तथा कार्यक्रम सम्पन्न गर्न ढिलाइ भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
चौरजहारी नगर विकास समिति र नयाँ सहर आयोजना कार्यालयले अघि सारेका आयोजना र अबको प्राथमिकताका विषयमा बुधबार सरोकारवालाबिचमा भएको छलफलमा स्थानीयले योजना निर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन् ।
नयाँ सहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मिलन आचार्यले योजना र कार्यक्रमको प्राथमिकताका लागि प्रतिबद्धता जनाउनुभएको छ । स्थानीय सरोकारवालाले आयोजनाको काममा ढिलाइ भएको, बजेटको अभाव रहेकोलगायतका गुनासा, जिज्ञासा र सुझाव राखेपछि उहाँले अधुरा आयोजनालाई सम्पन्न गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले माथिल्लो निकायबाटै हरेक वर्ष बजेटको आकार घट्दै आएको दाबी गर्नुभयो । सरकारले १० नयाँ सहरका लागि सञ्चालन गरेको आयोजनामध्ये चौरजहारीमा राम्रो काम भएको उल्लेख गर्नुहुँदै उहाँले कामको गति थप तीव्र पारिने बताउनुभयो ।
कार्यक्रममा चौरजहारी नगरपालिका–१ का गणेशप्रसाद शर्माले आयोजना अन्तर्गत सुरुमै सुरु गरिएको घारीगाउँ जग्गा एकीकरणको काम पूरा गर्न ढिलाइ भएको बताउनुभयो । उहाँले २०७२ सालदेखि स्थानीयको जग्गा अधिग्रहणको काम सुरु भए पनि हालसम्म पुरा नभएको बताउनुभयो । स्थानीय घुर्क बुढाथोकीले हरेक वर्ष बजेट कम हुँदै आउने गरेकोले कार्यालयले काम गर्न नसकेको उहाँको दाबी छ । यथाशीघ्र बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गर्नुपर्ने उहाँले आग्रह गर्नुभयो ।
चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले आयोजना अन्तर्गका योजनाको भौतिक र वित्तीय प्रगति, नगर विकास समितिको प्राथमिकताका सन्दर्भमा प्रस्तुतीकरण राख्नुभएको थियो । सो क्रममा उहाँले हरेक वर्ष बजेटको आकार घट्दै गएको, सडक कालोपत्रेको काममा ढिलाइ भएको, कार्यालय प्रमुखहरू अनियमित परिवर्तन हुने गरेको जानकारी गराउनुभएको छ । त्यसै गरी उहाँले नगरविकास समितिको काम, जग्गा एकीकरण आयोजना सम्पन्न गर्न गरेका कार्य, समस्या र चौरजहारीलाई सुन्दर सहर बनाउन नगरविकास समितिको प्राथमिकताका विषय उल्लेख गर्नुभयो ।