• १७ वैशाख २०८२, बुधबार

निबेल-नयाँसाँघु-पालुङटार सडक कालोपत्रे सुरु

blog

गुणबहादुर रोका 

सुलीकोट, वैशाख १७ गते । नेपालको राष्ट्रिय गौरवको आयोजनामध्ये मध्यपहाडी लोकमार्ग अन्तर्गत निबेल-नयाँसाँघु-पालुङटार-ठाँटीपोखरी सडक कालोपत्रे सुरु भएको छ । गोरखा नगरपालिकाको सिमानादेखि पालुङटार नगरपालिकाको कार्यालय पालुङटारको ठाँटीपोखरीसम्म झण्डै १६ किलोमिटर सडक धेरै लामो समयपछि कालोपत्रे सुरु भएको हो ।  

मध्यपहाडी लोकमार्ग अन्तर्गत निबेल नयाँसाघु पालुङटार सडक खण्डको १६ किलोमिटर सडक कालोपत्रे सुरु भएपछि २७ जिल्लाका स्थानीयहरूलाई यस सडकले जोडने काम गर्ने कार्यालय प्रमुख ईश्वर रिजालले जानकारी दिनुभयो । 

सडक कालोपत्रे योजनाका लागि हिमढुङ्गा प्यासेफक जेभी काठमाडौसँग २०७७ साल असार २६ गते सम्झौता भएर काम अघि बढेको पुष्पलाल मध्यपहाडी राजममार्ग योजना कार्यालय पालुङटार गोरखाका सुचना अधिकारी गोबिन्द श्रेष्ठले जानकारी दिनुभयो । 

२०७९ साल असार २५ गते सम्पन्न गर्नुपर्ने समय सीमा रहेता पनि निर्माण कम्पनीले विविध कारण देखाउँदै पटकपटक म्याद थप भएपछि अहिले भने २०८२ साल असार मसान्तसम्म सम्पन्न हुनेगरी काम अघि बढाइएको उहाँको भनाइ छ । 

गोरखा सडक योजना कार्यालय अन्तर्गतकाे १२ किलो छेपेटार सडक हुँदै मध्यपहाडी लोकमार्गमा जोडिने भएको छ । विगत केहि वर्षदेखि मधयपहाडी लोकमार्ग सामान्य मर्मत गरेर सञ्चालन हुँदै आएको कच्ची सडकमा हिलो र धुलोको सामाना गर्दै जोखिम र सास्तीपुर्ण यात्रा गर्दै आएकोमा गोरखाका विकट पहाडी भुभागहरूका नागरिकहरूलाई खुसी मिल्ने भएको छ । 

सडक कालोपत्रे भएपछि एक घण्टामा पालुङाटारदेखि आरुघाट गाउँपालिकासम्म पुगिने भएको छ । मध्येपहाडी लोकमार्गले जिल्लाका ४ वटा पालिका भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका भुभागहरू समेटेको छ ।

पुष्पलाल मध्यपहाडी राजमार्ग कार्यालय गोरखाको ५५ करोड ३७ लाख ८ हजार ५ सय ६३ रुपियाँमा पुष्पलाल मध्यपहाडी राजमार्ग कार्यालय गोरखा र निर्माण कम्पनीबिच १६ किलो मिटर सडक कालो पत्रे र एक साइडमा नाली बनाउनु पर्ने सम्झौता उल्लेख छ । 

बाटोको ११ मिटर चौडाई सब बेस,सब ग्रेड फाइनल भएकाले २०८२ साल असार मसान्त सम्म कालो पत्रे सम्पन्न हुने विश्वास लिएको पुष्पलाल मध्यपहाडी राजमार्ग कार्यालय गोरखाले जनाएको छ ।