गुणबहादुर रोका
सुलीकोट, वैशाख १७ गते । गोरखाको सिरानचोक गाउँपालिका – २ तारे पहरा अन्तर्गत पर्ने चित्रे पोखरी – भच्चेक सडक अनिश्चितकालका लागि बन्द भएको छ । गाउँपालिकाले सडक ढलान गर्न भन्दै चित्रे पोखरी – भच्चेक हुँदै सिरान डाँडासम्म पुग्ने सडक अर्को सूचना नआएसम्म लागि बन्द रहने सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार कार्यकाल गोरखा मार्फत ५० लाख रुपियाँ लागतमा १९५ घन मिटर सडक ढलान, २७ घन मिटर ग्याबिन जाली र नाली मर्मत गर्नुपर्ने भएकाले गोरखाको ऐतिहासिक तथा पर्यटकीय स्थल अजिरकोटको भच्चेक सडकमा सवारी आबगमनमा पुर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न सिरानचोक गाउँपालिकाले आग्रह गरेको छ ।
गर्मी बढेसँगै सडक बाटो भएर भच्चेक पुग्ने आन्तरिक पर्यटकहरू अत्यधिक मात्रामा आवतजावत गर्ने मुख्य सडक बाटो भएकाले पनि सडक मर्मत गरी सुचारु गर्न लागिएको सिरानचोक गाउँपालिकाले जनाएको छ ।
अहिले गोरखा सदरमुकाम देखि अन्य जिल्लाबाट भच्चेक हुँदै सिरान डाँडा जाने यात्रुलाई केही दिनको लागि असहज भएता पनि केही दिनपछि कालोपत्रे सडकबाट भएर सिरानचोकको केराबारी, नयाँ बजार थालाजुङ हुँदै प्रसिद्ध पर्यटकीय स्थल भच्चेकसम्म आवतजावत गर्न सहज यात्रा बनाइने गाउँपालिकाले विज्ञप्तिमा जनाएको छ ।
गाउँपालिकाले भच्चेक जाने सडक ढलान हुने भएपछि उक्त सडक खण्डमा सवारी आवतजावतमा पुर्ण रुपमा रोक लगाई सवारी प्रयोगकर्ताहरूले वैकल्पिक मार्गको रूपमा चित्रे पोखरीबाट माथिल्लो पाम –राम्चे – चिलाउने हुँदै भच्चेक सडक बाटो प्रयोग गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । बाटोको कारण यात्रुलाई पर्न गएको असुविधाप्रति गाउँपालिका सचेत रहेको बताइएको छ ।