काठमाडौँ, वैशाख १७ गते । आवश्यक कार्यविधि तथा प्राविधिक परीक्षण गराउनुपर्ने अनिवार्य व्यवस्था नहुँदा ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन करिब डेढ दशकदेखि प्रयोगविहीन बनेको छ ।
सवारीसाधनको अवस्था परीक्षण गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सवारी परीक्षण कार्यालय टेकुले २०६८ सालमा दुई वटा मेसिन खरिद गरेको थियो । सवारीसाधन परीक्षण गर्ने सो मेसिन मुलुकभरमै टेकुमा मात्रै छ । भारी र हलुका सवारीसाधन परीक्षणका लागि चीनबाट दुई वटा मेसिन खरिद गरिएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर तथा सवारी परीक्षण कार्यालयका पूर्वप्रमुख मणिराम भुसालले दुर्घटना न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय रूपमै सवारी परीक्षण अनिवार्य हुनुपर्ने भए पनि नेपालको सन्दर्भमा कार्यविधि र ऐन नहुँदा ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन प्रयोगविहीन बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेसिनलाई कसरी प्रयोग गर्ने, कुन मापदण्डका आधारमा सवारीसाधनको परीक्षण गर्ने ? तथा हरेक सवारीसाधनलाई अनिवार्य रूपमा परीक्षण गराउनका लागि मन्त्रालयले आवश्यक कार्यविधि, मापदण्डलगायतका प्रावधान बनाउनु पर्यो । यसरी आवश्यक कार्यविधि निर्माण नभएसम्म परीक्षण कार्यालयले मात्र ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन प्रयोगमा ल्याउन सक्दैन । त्यसै गरी आवश्यक प्राविधिक जनशक्तिको समेत व्यवस्था हुनु पर्यो ।’’ यस मेसिनबाट परीक्षण गर्दा सवारीसाधनको कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा नै देखिन्छ । अहिलेको कानुनले ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिनको प्रयोग अनिवार्य नगरेको बताउँदै उहाँले भन्नुभयो, “अनिवार्य नभएकाले अधिकांश सवारीधनीले परीक्षण गराउँदैनन् ।” कतिपय मुलुकमा शून्य दुर्घटना नीति कानुनी रूपमै लागु गरिए पनि नेपालमा त्यस्तो छैन ।
पानी पसेर मेसिन बिग्रियो
सवारी परीक्षण कार्यालयका प्रमुख सुरेश श्रेष्ठले गत असोज १२ गते बागमती नदीमा आएको बाढी परीक्षण केन्द्रमा पसेर ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन बिग्रेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानी पसेकाले मेसिनमा समस्या देखिएको छ । पानी पसेदेखि मेसिनले पावर नै लिँदैन र स्टार्टसमेत हुँदैन । ती दुइटै मेसिनको मर्मतका लागि प्रक्रिया अगाडि बढाइएको छ । मेसिन बनाउने सप्लायर खोजिरहेको छु । यस मेसिनको सप्लायर विदेशी भएकाले मर्मत कार्य ढिलो भएको हो ।”
सिनियर डिभिजनल इन्जिनियर भुसालले ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिनले सवारीसाधनको सवारीको सम्पूर्ण अवस्थाको परीक्षण गर्ने गरेको भए पनि नेपालमा यसको प्रयोग नहुँदा सवारी दुर्घटनासमेत हुने गरेको बताउनुभयो । सवारीसाधनको अवस्था ठिक नभएकै कारण नेपालमा ८० प्रतिशत दुर्घटना हुने गरेको उहाँको भनाइ छ ।