चन्द्र पन्दाक
ताप्लेजुङ, बैशाख १५ गते । ताप्लेजुङमा आइतबार साँझ आएको हावाहुरीले विभिन्न ठाउँमा स्थानीयको घर तथा गोठमा क्षति गरेको छ । प्रहरीका अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिका र फुङ्लिङ नगरपालिकामा बढी क्षति गरेको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार मिक्वाखोला गाउँपालिका –२ खोक्लिङ वैराखुका विनोद शेर्पाको घर हावाहुरीले उडाएको छ । काठपात र जस्तापाताको प्रयोग गरी निर्माण भएको शेर्पाको एकतले घर हावाहुरीले पल्टाएर पूर्णरुपमा क्षति गरेको प्रनाउ रावलले जानकारी दिनुभयो ।
हावाहुरीले शेर्पाको घर उडाएर पल्टाउँदा करिब पाँच लाख मूल्य बराबरको क्षति हुन गएको उहाँले जानकारी दिनुभयो । हावाहुरीले शेर्पाको घरमा क्षति गरेको भन्ने खबर भएपछि अस्थायी प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घर हावाहुरीले क्षति गरेपछि शेर्पाको परिवार बाबुकुमार शेर्पाको घरमा बस्दै आउनुभएको प्रहरीले जनाएको छ ।
यस्तै, फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा पनि हावाहुरीले घर तथा पशुचौपाया राख्ने गोठका छाना उडाएको छ । फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार हावाहुरीले मयाम टोलका स्थानीय मानबहादुर लिम्बूको घरको छाना उडाएको छ । मयामकै धनबहादुर लिम्बूको भान्सा घरको छाना र सुरबहादुर खत्रीको गाेठकाे छाना उडाएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार हावाहुरीले फुरुम्बुका विभिन्न ठाउँमा रुखहरु ढलेर विद्युत् सेवा अवरुद्ध भएको छ । ठाउँ–ठाउँमा विद्युतका खम्बाहरु ढलेका कारण विद्युत् सेवा अवरुद्ध बनेको वडाध्यक्ष लिम्बूको भनाइ छ । हावाहुरीले गरेको क्षति विवरण भने सङ्कलन हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
आइतबारको हावाहुरीले जिल्लाका अन्यत्र क्षेत्रमा पनि क्षति गरेको हुनसक्ने प्रहरीले जनाएको छ । यद्यपि, क्षति गरेको खबर र विवरणहरु सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हावाहुरीसँगै जिल्लामा सामान्य वर्षा र केही क्षेत्रमा असिनापानीसमेत परेको स्थानीयले बताएका छन् ।