जिन्दगीका यतिका वर्ष बाँच्दा धेरै वादहरू पढियो जानियो, कति वादहरू अपनाइयो कति वादहरू फालियो । भगवान्ले भाग्य बाँड्दै गर्दा अपवादमा परियो, नेताले पैसा बाँड्दै गर्दा जिन्दावाद भनियो । सत्तामा नपुगुन्जेल जनवाद भन्नेहरू सत्तामा पुगेपछि अवसरवाद भएको देखेपछि आफू पनि पैसा नहुन्जेल माक्र्सवादको फेरो समातियो, पैसा भएपछि पजेरो चढेर पुँजीवाद पछ्याइयो । जे होस् जिन्दगी आवाद रहोस् भन्ने उद्देश्यले वाद फेरी फेरी बाँच्नुपर्ने मेरो मात्र हैन धेरैको विवशता हो तर मैले यहाँ चर्चा गर्न खोजेको वाद चाहिँ अर्कै छ । यसरी मौका मिल्नासाथ बदल्नुपर्ने वादहरूको बिच एउटा वाद यस्तो छ जुन युगदेखि बदलिएको छैन, त्यो हो आशीर्वाद । आशीर्वादमा पनि समयले रोकेर इतिहासको कुनामा थन्क्याउन नसकेको ‘ठुलो मान्छे भएस्’ भन्ने आशीर्वाद । भगवान्कै पालादेखि आज कलियुगसम्म निरन्तर चलिआएको यस संसारमा जम्मा दुई वटा कुरा छन्, एउटा हो ‘ठुलो मान्छे बन्नू’ भन्ने आशीर्वाद र अर्को स्वयं भगवान् ।
जब जब अग्रजहरूको हात मेरो टाउकामा या निधारमा पर्छ तब आशीर्वादको नाममा मुखबाट स्वर्ण स्वर निक्लिन्छन् ‘बाबु ठुलो मान्छे भएस्’ । जहाँ गएर जस्तो अवसरमा लगाइएको टीका भए पनि आशीर्वाद चाहिँ सधँै सबै ठाउँमा उही हुन्छ । मुखमा रामराम बगलिमा छुरा भने जस्तो मनमनै सत्यानाश होस् भने पनि आशीर्वाद दिँदा मुखमा टुप्लुक्क ‘ठुलो मान्छे हुनू’ भन्ने रेडिमेड शब्द झुन्डेकै हुन्छ । सबैतिर सुन्दा सुन्दा श्राप जस्तै लाग्ने यो आशीर्वाद घरै पिँडालु वनै पिँडालु भन्ने उक्तिसँग ठ्याक्कै मिल्छ । ठुलो मान्छे बन्नु भन्ने आशीर्वाद नारायण गोपालका गीत जस्तै सदाबहार छन्, वृद्धदेखि बालक सबैलाई होलसेलमा भिडाउन मिल्ने फरक यति हो, नारायण गोपालका गीत राम्रा छन् अनि छानी छानी सुन्न पाइन्छन् तर आशीर्वाद भने घुमाई फिराई त्यही हो । जति नै मन नपरे पनि सधैँ सुन्नुपर्ने यो आशीर्वाद, कसैले ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने आशीर्वाद दिएको दिन भने झल्झली याद आउँछ, त्यति नराम्रो पनि थिएन कि भने जस्तो पो लाग्छ त ।
तार्किक रूपमा हेर्ने हो भने ‘ठुलो मान्छे भएस्’ भन्ने आशीर्वादको एकदमै गलत प्रयोग भइरहेको छ । विश्वास लाग्दैन भने यस कुराको पुष्टि मेरै उदाहरणबाट हेर्नुस् ल । म उचाइ, तौल, पढाइ जस्ता धेरै परिभाषामा मलाई आशीर्वाद दिने अधिकांश व्यक्तिभन्दा ‘ठुलो मान्छे’ भइसकेँ तर अझै पनि मलाई दिइने आशीर्वाद उही हो ‘ठुलो मान्छे’ बन्ने । यसै गरी ठुलो मान्छे बन्ने आशीर्वाद पाइरहेँ भने म कुनै दिन तन्केर चुँडिन्छु या त फुलेर फुट्छु होला । मलाई आशीर्वाद दिनेहरू मभन्दा केवल उमेरमा ठुला छन् तर अब उहाँहरूले विश्राम नलिए उमेरमा त म उहाँहरूभन्दा अगाडि लाग्न सक्दिनँ । त्यसैले जसरी पोलियो थोपा छ वर्षभन्दा कम उमेरको मान्छेलाई दिइन्छ, मलाई लाग्छ ‘ठुलो मान्छे भएस्’ भन्ने आशीर्वाद पनि निश्चित उमेरसम्म मात्र दिनु पर्छ । यस विषयमा सरकारको ध्यान जाओस् र तत्कालै अध्यादेशमार्फत यसको समाधान गरियोस् ।
ठुलो मान्छे बन्ने आशीर्वाद दिने र लिनेहरूलाई केवल आशीर्वाद थाहा छ तर ठुलो मान्छे बन्नू भनेको के हो भन्ने कसैलाई अत्तोपत्तो छैन । ठुलो मान्छे एक विशेषणात्मक अभिव्यक्ति भएकाले यो सापेक्ष हुन्छ । कुनै पनि चिज ठुलो हुनका लागि त्यसभन्दा अर्को सानो चिजसँग दाँजेर हेर्नु पर्छ । यो सब ज्ञानगुनका कुरा कसले सम्झोस् र बुझोस् । मान्छेका पूरै प्रजाति नै लागेका छन् ‘ठुलो मान्छे’ बन्ने दौडमा । एक हुल उचाइ देखाएर आफूलाई ठुलो मान्छे भनिरहेका छन् अनि अर्का तौल देखाएर, भएकाले धन देखाएर ठुलो मान्छेको पदवी पाएका छन् त केही नहुनेहरू प्रतिभा देखाएर आफू ठुलो मान्छे भएको ठानिरहेछन् । जे होस् एउटा बाहानामा सब ठुलो मान्छे भएको भ्रममा लीन छन् । हुन त म पनि ठुलै मान्छेु हुँ किनभने मेरो लेख पनि दुई चार जना ठुला मान्छेले पढिहाल्छन् ।
विभिन्न कालखण्डबाट गुज्रिँदै गर्दा मैले धेरै मान्छेलाई ठुलो मान्छे सोचेर आफू पनि त्यस्तै ठुलो मान्छे बन्ने सपनाहरू पालेको थिएँ तर समयसँगै मैले देखेका ठुला मान्छेहरू कसरी साना मान्छे बन्दै गए र कसरी मेरो सपना बदलिँदै गयो, यो कथा रोमाञ्चक छ । सानो छँदा लाग्थ्यो कि ‘ठुलो मान्छे’ हुनुु भनेको बा जस्तै हुनु हो तर जब अलि ठुलो भएँ बाले आमासँग भनेको सुनेँ ‘हामी त यस्तै भैयो, यसलाई चाहिँ पढाएर ‘ठुलो मान्छे’ बनाउनु पर्छ ।’ बाको कुरा सुनेर लाग्यो ठुलो मान्छे हुन त पढ्नुपर्ने रहेछ । किताबमा आइन्स्टाइन र हकिङ्सका कहानी पढेर बाको कुरामा थप विश्वास बढ्यो कि पढेर ठुलो मान्छे भइनेरहेछ । त्यसैले पढाइमा कम्मर कसेर अब्बल अङ्क ल्याइयो तर साथीहरू गेट्स र जुकरबर्गका उदाहरण दिन्थे कि कसरी उनीहरू पढाइ पूरा नगरे पनि ठुला मान्छे बने । उता गाउँघरमा माथ्लाघरको रामेले सरकारी जागिर खायो भने उसलाई पनि ठुलो मान्छे मान्दिने तल्लाघरे हर्के विदेश गयो अरे उसलाई पनि ठुलो मान्छे भन्दिने । अब मैले कसलाई ठुलो मान्छे मान्ने, को जस्तो बन्ने सपना देख्ने ।
हरेक मान्छे आआफ्नो नजरमा ठुलो मान्छे हुन आफ्नै आफ्नै परिभाषा सिर्जना गरेर बसेको छ । जसरी हुन्छ मै ठुलो मान्छे बनूँ भनेर तल्लीन समाजमा महाकवि देवकोटाले सबैलाई हुने एउटा परिभाषा दिऊँ भनेर ‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन’ भनेका हुन् । कागले कान लग्यो भन्दा कागको पछाडि दौडिने मान्छेको जमातमा उनको परिभाषाको अर्थ निकालेर बस्ने फुर्सद कसलाई हुँदो हो । मान्छेले उनको यो पङ्क्ति कापीमा लेखे, फेसबुकमा लेखे, गुनगुनाए, अरूलाई सुनाए तर देवकोटाले भने जस्तो ठुलो दिल गरेर दिलभित्र राख्न सकेका होइनन् । जात ठुलो हुनेहरू जातको आधारमा नै ठुलो मान्छे बनिरहे, जात सानो भनिएकाहरू दिल ठुलो गरेर समानताको नारा लगाउँदै छन् । यसरी समाजमा जरो गाडेर बसेको ‘ठुलो मान्छे’ प्रवृत्तिलाई एक पङ्क्ति कविताले पल्टाउन खोजेर कसरी सकिन्थ्यो र ? देवकोटाले यो पङ्क्ति समाजमा मात्रै हैन, उनको आफ्नै जीवनमा समेत लागु गराउन सकेनन् । दिल त देवकोटाको पनि ठुलै हुँदो हो, त्यसैले उनलाई पनि ठुलै मान्छे भन्नुपर्ने हो तर बाँचुन्जेल कहिल्यै ठुलो मान्छे जस्तो महसुस गर्न पाएनन् । मरेपछि त मान्छेहरूले ठुलो दिल गरेर मूर्ति र सम्मान दिएकै हुन् । जे होस् जति नै महान् काम गरे पनि अरूले ठुलो मान्छे मान्दिनका लागि भने बाँचुन्जेल सम्भव छैन भन्ने कुरो देवकोटाको जीवनबाट प्रस्ट हुन्छ ।
ठुलो मान्छे कसरी बन्ने भन्ने विषयमा लामै अनुसन्धानपछि के पत्ता लाग्यो भने, ठुलो मान्छे बन्नलाई त समय, परिस्थिति र स्थानको तालमेल मिल्नुपर्ने रैछ । लौ हेर्नुस् जति जेजे भए पनि ससुरालीमा ज्वाइँभन्दा ठुलो मान्छे अरू कोही हुनै सक्दैन । ससुराकी छोरीलाई गुन्द्रुकको झोल खुवाएर पाले पनि ससुराली पुगेपछि ज्वाइँका लागि मासुकै जोहो हुन्छ । अफिसमा हाकिमको जति कुरा काटे पनि बिदा तिनैबाट स्वीकृत गराउनु पर्छ । इतिहास हे¥यो नाम कमाउने मान्छेको नाम मात्रै बाँकी छ, बाँकी नामोनिसान छैन । दाम कमाउनेको सात पुस्ताको सात गाउँमा रजगज चलेकै छ । ६० लाख रुपियाँमा डाक्टरी पढेर आफूलाई ठुलो मान्छे ठान्नेको तलबको हिसाब चार लाखमा बिबिएस पढ्नेले गर्छ, सात लाख तिरेर वकिल बनेको मान्छे, केस मिलाउने बेला न्यायाधीशको पिउनसँग बहस गर्नु पर्छ । भन्नलाई विदेशै गाको भने पनि खाडी जाने त्यतै मासिन्छन्, युरोप अमेरिका पुगेकाहरू उतै भासिन्छन् । पढेर जागिर खानेको अगाडि फाइलको भारी हुन्छ, विद्यालयको हाफटाइममा भागेर खलाँसी बन्ने बरु आफ्नै गाडी हुन्छ । समय, परिस्थिति र स्थानले कस्ता कस्तालाई ठुलो मान्छे बनाउँछ भन्ने कुरो नेपाली राजनीति हेरे पुगिहाल्छ ।
उसो त मान्छेको जात, आफ्नो खुसीले धपक्कै बले पनि अर्काको खुसी देखेर अन्धकार भइहाल्छ तैपनि मै ठुलो भन्ने अभिमान कसले पो छोड्छ र । पाइलट भन्छ हावामा प्लेन उडाउने पाइलट ठुलो, इन्जिनियरका लागि प्लेन बनाउने इन्जिनियर ठुलो । डाक्टर भन्छ बिरामीको ज्यान बचाउने डाक्टर ठुलो, वकिलका लागि बिरामीको ज्यान बचाउन नसक्ने डाक्टरलाई बचाइदिने वकिल ठुलो । पुलिस भन्छ कानुनको हिफाजत गर्ने पुलिस ठुलो, नेताको लागि चुनाव आए भोट ठुलो नत्र कोट ठुलो । यसरी आफूलाई स्वघोषित ‘ठुलो मान्छे’ भन्नेहरू भित्रभित्रै भने कसको काम सजिलो, कसको काममा पैसा धेरै भनेर चर्चा गर्छन्न् ।
आफन्तजन र अग्रजको ठुलो मान्छे भएस् भन्ने आशीर्वाद मानेर साँच्चै नै ठुलो मान्छे हुन कति गाह्रो रहेछ भन्ने त माथि चर्चा भइहाल्यो । तर धन्दा मान्नु पर्दैन तपाईं आफ्नो नजरमा मात्र नभएर अरूको नजरमा पनि ठुलो मान्छे बन्न चाहनु हुन्छ भने अर्को एउटा सजिलो उपाय छ तर हेक्का राख्नूस् सजिलो उपायको छुट्टै बेफाइदा पनि हुन्छ । यसरी ठुलो मान्छे हुन सजिलो छ । बाटामा चिनेको मान्छे देख्नुभयो भने नदेखे झैँ गरेर हिँड्नूस् । कसैको फोन नउठाउनूस् । फोन उठाएर व्यस्त छु भन्नूस् । अराएको काम नमान्नूस् । गलत भन्नेलाई सच्याउनूस् । अनि बनिहालिन्छ ठुलो मान्छे । अर्को व्यक्ति तपाईं ठुलो मान्छे हो भनेर गाउँघर, सहरबजारमा चर्चा गरेर हिँड्न थाल्छ–फलानो त ठुलो मान्छे भएछ, बाटामा देखेर नि बोल्दैन ‘फलानो त ठुलो मान्छे भएछ, फोन पनि उठाउँदैन’ यस्ता अभिव्यक्ति बजारमा फैलिन थाल्छन् । तपाईं आफू ठुलो मान्छे भएको कुरा अर्कैले भनेर थाहा हुन्छ, जसले अर्को कुनै व्यक्तिबाट थाहा पाएको हुन्छ । यसरी बिनासूचना बिनाजानकारी ठुलो मान्छे हुनुभयो भने प्रचारका साथसाथै अरूले समेत तपाईंलाई ठुलो मान्छे ठान्छन् तर खै किन हो मान्छे यसरी ठुलो कहलिन चाहँदैन ।
यसरी परापूर्व कालदेखि चलिआएको ‘ठुलो मान्छे भएस्’ भन्ने आशीर्वाद र यसको असल खराब पक्षको गहन अनुसन्धानपश्चात म यस नतिजामा पुगेको छु कि म अबदेखि कहिल्यै पनि ठुलो मान्छे भएस् भन्ने आशीर्वाद लिने वा दिने छैन र आजकै मितिबाट आफू ठुलो मान्छे नभएको र बन्न पनि नचाहेको घोषणा गर्दछु । यस विषयमा तपाईंहरू पनि मेरो यस अनुसन्धान प्रतिवेदनलाई आधार मानेर आफ्नो सुझबुझ प्रयोग गर्नुहोला, धन्यवाद ! मधुपर्क