• ११ माघ २०८१, शुक्रबार

नेपालमा लगानी गर्न चिली इच्छुक

blog

नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा छलफल गर्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ २४ गते । दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मङ्गलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा छलफल भएको हो ।

राजदूत एङगुलोले नेपालको वर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे जानकारी लिनुभएको थियो । नेपाल हिमालयको देश भन्दै उहाँले पर्यटनको क्षेत्रमा अथाह सम्भावना आफूले देखेको बताउनुभयो । नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्षेत्र र नागरिकहरुलाई जानकारी गराउने राजदूत एङगुलोले प्रतिबद्धता जनाउनुभयो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन, जलस्रोत, सूचनाप्रविधि तथा जडीबुटीजन्य क्षेत्रमा लगानीको सम्भावनाबारे राजदूत एङगुलोलाई अवगत गराउनु भएको जानकारी चेम्बर अफ कमर्सले दिएको छ । नेपाल र चिलीबीचको कूटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो भएको सन्दर्भमा आर्थिक सम्वन्धलाई थप बलियो बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।

नेपाल चेम्बर र चिली चेम्बर अफ कमर्सबीच बाणिज्य तथा लगानीका क्षेत्रमा सहकार्य गर्न पनि अध्यक्ष मल्लले आग्रह गर्नुभयो । खासगरी नेपालको जलविद्युत तथा पर्यटनको क्षेत्रमा लगानी र प्रतिफलको सुरक्षणबारे अध्यक्ष मल्लले राजदूत एङगुलोलाई जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी बर्षको बजेटमा पनि सरकारले ५० वर्ष सम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउँछौं ।’’

नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले चिलीको लगानीमा उद्योग खोलेर भारत, चीनलगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने बताउनुभयो ।