मातृभाषा पहिलो भाषा हो । यसलाई आमाबुबाको जिब्रोको बोली र मूल भाषा पनि भनिन्छ । जुन भाषालाई जन्मजात रूपमा बच्चाले सिक्ने गर्छन् । कुनै परिवार द्विभाषी रहेछ भने भाषा सिकाइको सुरुमै दुई वटा भाषा एकसाथ सिकेको अवस्थामा उसको मातृभाषा एकभन्दा बढी हुन सक्छ । जे भए पनि नवमानवले सबैभन्दा पहिले बोल्ने र सिक्ने भाषा नै उसको मातृभाषा हुन्छ । विभिन्न जाति सम्प्रदायले दिगो भाषिक पहिचानका लागि होस् वा बालबालिकाको प्रारम्भिक सिकाइमा सहज पहुँच हुन सकोस् भनेर मातृभाषाको प्रयोगमा जोड दिने गरेका छन् । त्यस्तै मातृभाषी मध्येको सुनाइसम्बन्धी अपाङ्गता भएका साङ्केतिक भाषी बहिराहरूको एउटा वर्ग पनि छ । उक्त वर्गको मातृभाषा, साङ्केतिक भाषा अथवा इसाराको भाषा हो ।
नेपालमा बोलिने सबै मातृ भाषालाई नेपालको संविधान अनुसार राष्ट्रिय भाषाको मान्यता दिइएको छ । कुनै एक राष्ट्रिय भाषा प्रयोग गर्ने जनसङ्ख्या र उक्त भाषाको पहुँच, सहजता, एवं प्रभावकारिता हेरेर सरकारी कामकाजको भाषाको रूपमा अवलम्बन गर्न सकिने गरी प्रदेश तथा स्थानीय निकायलाई संविधानले व्यवस्था गरेको छ । मातृ भाषाको भिडमा एउटा फरक प्रकृतिको दृश्य भाषा (साङ्केतिक भाषा जो बहिराको मातृ वा प्रथम भाषा हो) अहिले अस्तित्वका लागि लडाइँ लडिरहेको छ । साङ्केतिक भाषा नेपालभरिका सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा छात्राछात्राको विद्यालय शिक्षाको माध्यम भाषा हो । साङ्केतिक भाषा मैत्री वातावरणमा केही बहिरा विद्यार्थी त्रिवि विशेष आवश्यकता शिक्षा अन्तर्गत स्नातकोत्तर तहमा अध्ययन गर्दै छन् । स्नातक तहमा अध्यापन हुने एक मात्र केन्द्रीय बहिरा क्याम्पसमा १२ वर्षदेखि यता करिब ५०० बहिरा विद्यार्थी भर्ना भएर करिब ६५ जना स्नातक तह उत्तीर्ण भइसकेका छन् । शैक्षिक सत्र २०६३ ०६४ देखि सुरु भएको उच्च माध्यमिक वा कक्षा १२ अध्ययन गर्ने बहिरा छात्रछात्रा हाल सात वटा बहिरा विशेष माध्यमिक विद्यालयमा अध्ययनरत छन् । करिब १५०० भन्दा बढी बहिरा विद्यार्थीले कक्षा १२ अध्ययन गरिसकेका छन् । यसै गरी ३२ विशेष विद्यालय साथै ३८० स्रोत कक्षामा हजारौँ बहिरा विद्यार्थी छन् । छिटपुट केही विद्यालयमा समाहित शिक्षाको नमुना प्रयोग स्वरूप सञ्चालन हुन थालेको अवस्था विद्यमान छन् । यस्ता विद्यालयमा साङ्केतिक भाषा प्रयोग गर्ने शिक्षक वा दोभाषे शिक्षक व्यवस्था गरेर अध्यापनलाई सुचारु गरिएको हुन्छ । बहिरा विशेष विद्यालय र बहिरा सङ्घ संस्थाभित्रको वातावरणमा भने साङ्केतिक भाषाको विशिष्ट प्रभाव रहन्छ । परोक्ष वा अप्रत्यक्ष रूपमा विद्यालय शिक्षाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायमा साङकेतिक भाषाको कुरा ठोकिन पुग्दा केही वर्ष यता साङ्केतिक भाषाको विषयले स्थान पाउनाको साथै जागरूकता आउन थालेको छ । बहिरा सङ्घ संस्था, बहिरा व्यक्तिका परिवार, साङ्केतिक भाषाका व्यावसायिक दोभाषे, साङ्केतिक भाषामा तालिम प्राप्त जनशक्ति सबैले साङ्केतिक भाषामा प्रभाव जमाउन सक्छन् । यसर्थ साङ्केतिक भाषा राष्ट्रिय भाषाको पङ्क्तिमा लामबद्ध हुन योग्य भइसकेको छ ।
सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिका लागि साङ्केतिक भाषा दृष्टिविहीनका लागि ब्रेल, र बहिरा दृष्टिविहीनका लागि स्पर्श सङ्केतको प्रयोग गरी भाषामा समावेशिता सुनिश्चित गर्नुपर्ने विषय भाषा आयोगमा उठिरहेका छन् । भाषाका सम्बन्धमा जिम्मेवार र चासो राख्ने सरकारी आधिकारिक निकायमध्येको एक भाषा आयोग हो । अङ्ग्रेजी भाषालाई नेपालको संविधानले सूचीकृत गरेको १३१ भाषाभित्र पाउन सकिन्छ । अङ्ग्रेजी भाषा राष्ट्र भाषा हो भनी स्वीकार गर्नुपर्ने तर नेपाली बहिरा समुदायले आफ्नो मातृभाषाको रूपमा प्राथमिक भाषास्वरूप प्रयोग गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुगेर भाषिक सञ्चार गरिरहेको साङ्केतिक भाषालाई भने आफ्नो देशभित्र भाषिक मान्यता नपाउँदा विडम्बना छ ।
विद्यालयमा सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा बालबालिकाका निम्ति साङ्केतिक भाषाशिक्षण पहिला तथा आधारभूत शिक्षण हो । बहिरालाई साङ्केतिक भाषाका सिकाइ अनुकूलताका लागि विद्यालयमा साङ्केतिक भाषामय वातावरण, साङ्केतिक भाषाका शिक्षकयुक्त कक्षाकोठा बहिरा साथीसँगको क्रिया, प्रतिक्रिया र अन्तर्क्रिया अनिवार्य हुन्छ । विद्यालय शिक्षाको सुरुमा बहिरा बालबालिकाले साङ्केतिक भाषाका वर्णमाला र तोते साङ्केतिक इसाराको विन्यास गरेर साङ्केतिक भाषाको आधिकारिक र सूत्रबद्ध सिकाइ सुरु गर्छन्, जुन सिकाइ घरायसी वातावरणमा शून्यप्रायः हुने गर्छ । बहिरा बालबालिकाले साङ्केतिक भाषाकै आधारमा अन्य भाषा जस्तै नेपाली, अङ्ग्रेजी भाषा सिक्छन् । जसरी सुनाइ बोलाइ क्षमता भएका विद्यार्थीलाई सिकाइको माध्यम भाषा नेपाली भाषा मानिएका छ । बहिरा विद्यार्थीका लागि सिकाइको माध्यम भाषा साङ्केतिक भाषा हुन्छ । भाषा शिक्षण तथा सिकाइका विभिन्न चार सिपमध्ये सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा छात्रछात्राका लागि बोलाइ र सुनाइ सिपको कुनै स्थान रहँदैन । बाँकी दुई सिपमा पढाइ र लेखाइ सिप पर्छन् र पढाइ लेखाइ सिपसँग अवलोकन सिप तथा साङ्केतिक सिप अभिन्न हुन्छन् । बहिरा विद्यार्थीले शब्दका सङ्केत र साङ्केतिक विम्बका साथ औँला हिज्जेबाट बुझ्न सक्ने जति शब्दका अर्थ लगाउँदै विषयगत पढाइ गर्दै पढेका कुरालाई त्यसै गरी अभिव्यक्त पनि गर्छन् । यस अर्थमा जुन शब्दहरूको साङ्केतीकरण भएको छ, त्यस्ता शब्दको विन्यासबाट लेखिएका सङ्कथनको पढाइ गर्न बहिरालाई सजिलो हुन्छ । त्यसै अनुसार उनीहरूबाट लिखित तथा साङ्केतिक अभिव्यक्ति पनि हुने गर्छ । हालसम्म नेपालमा साङ्केतीकरण भएका करिब सात हजार शब्द छन् । शब्द भण्डारको अभावका कारण कतिपय विषयवस्तु बुझ्ने र अभिव्यक्ति दिने कार्यमा बहिरा व्यक्तिलाई कठिनाइ भएको पाइन्छ ।
विद्यालयमा हुने सिकाइको प्रारम्भमा बहिरा बालबालिकाले दैनिक देख्ने र अनुभूति गर्ने काम, घटना र व्यावहारका दृश्य विम्बको सचित्र शब्द सङ्केत साथै औँला हिज्जेको अभ्यास गराइन्छ । प्रारम्भिक सिकाइसँगै साङ्केतिक भाषा सिक्नका लागि हस्त वर्णमाला र शब्द सङ्केत गर्न हातका औँला र हत्केलाको अवस्था, हातको चाल, गति, स्थान मिलाउने कार्यमा विषेश ध्यान दिनु पर्छ । सिकाइका क्रममा बहिरा विद्यार्थीले शब्दको अर्थ बुझेपछि अनुहार र शारीरिक भावभङ्गी स्वतः मिलाएर सञ्चालन गर्न सिक्छन् । यस प्रकार हुने भाषिक सञ्चारलाई बहिरा संस्कृति अनुरूपको भनेर भाषिक प्रयोगमा अथ्र्याउने गरिन्छ । अपठित बहिरा व्यक्तिले जुन प्रकारले प्राकृतिक सङ्केतहरूका आधारमा सञ्चार गर्ने गर्छन् त्यो पनि नितान्त बहिरा संस्कृति अनुरूपकै भाषिक सञ्चार हो ।
भाषा सिकाइसँगै बहिरा बालबालिकालाई व्यक्तिगत, पारिवारिक, सामाजिक, बौद्धिक, खानपिन, स्वास्थ्य, वातावरणीय पक्ष र खेल तथा मनोरञ्जनलगायतका प्रत्यक्ष हेरेर व्यावहारिक रूपमा हुन सक्ने ज्ञान सिप सिकाउने गरिन्छ । दृश्य भाषा तथा सामग्रीको माध्यमबाट शिक्षकको भूमिका अभिनय, प्रदर्शन तथा प्रयोगात्मक शिक्षण विधिद्वारा नमुना अभ्यास गरेर सिकाउनु प्रभावकारी हुन्छ । माथिल्ला तह र कक्षामा क्रमशः ज्ञान र बोधका पाठ्य विषयहरू भाषिक सिपलगायत विभिन्न विधागत क्षेत्रसँग सम्बन्धित शब्दभण्डार वृद्धि गराउँदै अध्ययन अध्यापनका कार्य हुन्छन् । बहिरा विद्यार्थीको भाषिक सिप विकासमा साङ्केतिक सिपको जति विकास हुन्छ त्यति नै लेखाइ अभिव्यक्तिमा साङ्केतिक सिपको असरका कारण नेपाली व्याकरण अनुसार हुनुपर्ने शुद्ध लेखाइमा ह्रास आउने गर्छ । कुनै व्यक्ति बहिरा हुनुभन्दा पहिले वा पछि बहिरा भई पहिलो भाषाको रूपमा नेपाली भाषाका सबै सिप हासिल गरिसकेका रहेछन् भने उनीहरूको लिखित अभिव्यक्तिमा भाषिक शुद्धता कायमै रहन्छ तर यो निरन्तर अभ्यासमा भर पर्ने कुरा हो ।
सुनाइ क्षमताको ह्रास भएसँगै बोलाइ सिपमा भने क्रमशः क्षय हुँदै जान्छ । बहिरा व्यक्तिको लेखाइमा नेपाली व्याकरण अनुसारको शुद्धतामा कमी हुँदा उनीहरूले विषयवस्तु बुझेका हुँदैनन् वा बुझ्न सक्दैनन् भन्ने तर्क र प्रश्न उठ्ने गर्छन् तर यथार्थ त्यस्तो होइन । साङ्केतिक भाषाको प्रयोग नेपाली व्याकरणको नियम अनुसार हुँदैन, त्यस कारण बहिराले जसरी सङ्केत क्रममा सीमित शब्दको दायराभित्र भाषिक अभिव्यक्ति दिन्छन्, त्यसै गरी लिखित अभिव्यक्ति दिन थाल्छन् । सुनेर बोलेर अभ्यस्त हुँदै व्याकरणमा आउने निखार साङ्केतिक भाषामा आउन सक्दैन त्यस कारण साङ्केतिक भाषामा जसरी शब्द र वाक्यहरूको प्रवाह हुन्छ त्यसै गरी लेखाइ हुन थाल्छ । यस्तो लेखाइमा वाक्यमा हुने कर्ता कर्म क्रियाको क्रम नमिल्दो, कारक र विभक्तिको नमिल्दो व्यवस्था, पद सङ्गतिलगायत धेरै व्याकरणगत त्रुटिहरू हुन थाल्छन् । यसो हुनाको मुख्य कारण साङ्केतिक भाषाको व्याकरण नहुँदा त्यसको असर लेखाइ अभिव्यक्तिमा देखिएको हो । बहिरा विद्यार्थीले विषयवस्तु नबुझेर यस्तो भाषिक समस्या आएको चाहिँ होइन ।
अपाङ्गता भएका बालाबालिकालाई विशेष वा समावेशी शिक्षामध्ये कुन र कसरी लागु गर्ने भनी निर्णय गर्ने कुरा पेचिलो छँदै छ किनभने बहिरा विद्यार्थी मैत्री शैक्षिक वातावरण बनाउन अप्ठेरो परेको प्रमुख बाधक विषय नै साङ्केतिक भाषाको अनुकूल शैक्षिक वातावरण कसरी बनाउने भन्ने हो । वर्षौंदेखि गोष्ठी वा कार्यशालाको कार्यपत्र तथा प्रतिवेदनमा गुजुल्टिएको विषय पनि यही हुँदै आएको छ । समावेशी शिक्षाका बारेमा नेपालको सन्दर्भमा सिद्धान्तमा लेखिदिएर अनि प्रवचनमा बोलिदिएर मात्र पुग्दैन किनकि कार्यान्वयनको पाटो वा व्यावहारिक पक्षलाई हेर्दा बहिरा शिक्षामा समावेशिताको कुरालाई बहिरा समुदायले पत्याइहाल्ने अवस्था छैन । (यहाँ नकारात्मकता नभई यथार्थ उजागर गर्न खोजेको हो ।) यसका मुख्य कारणमा देहाय अनुसारका बुँदामा प्रश्न उठ्ने गर्छ ।
१. समावेशी कक्षाका लागि साङ्केतिक भाषामा तालिम प्राप्त शैक्षिक जनशक्तिको प्रचूरता र शैक्षणिक शिल्प २. दोभाषेको विषयगत योग्यता, दक्षता र उपलब्धता ३. साङ्केतिक भाषा र विषयगत शब्द सङ्केतको नपुग अवस्था ४. पाठ्यक्रम र शैक्षणिक क्रियाकलापमा समावेशिताका लागि मिलाउनुपर्ने धेरै काम बाँकी रहेको अवस्था ५. समावेशी मैत्री विद्यालयका भौतिक संरचनाको अवस्था ६. कक्षाकोठाभित्र हुने विभिन्न अपाङ्गता मैत्री शिक्षण विधि र शैक्षिक सामग्री ७. समावेशी विद्यालय र त्यहाँ मिल्नुपर्ने व्यवस्थापकीय पक्ष ८. सामाजिक चेतना ९. ऐन कानुनको फितलो कार्यान्वयनको अवस्था १०. समावेशी शिक्षालाई हाँक्ने दूरदर्शिता, विज्ञता र आँट भएको सरकारी संयन्त्र र त्यहाँ हुनुपर्ने कुशल व्यवस्थापकीय सरकारी जनशक्ति इत्यादि छन् । उल्लिखित बुँदाको सापेक्षतामा विश्वसनीय आधार तयार भएपछि समाहित वा समावेशी जुनकुनै नाममा विद्यालय शिक्षण गर्न गराउन सम्भव हुन्छ तर आधार नबन्दासम्म विशेष शिक्षा र विशेष विद्यालयभित्र सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा विद्यार्थी केन्द्रित हुनुको विकल्प छैन ।
सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा विद्यार्थीको विद्यालय शिक्षामा अध्ययन अध्यापन पढाइलेखाइ एवं अभिव्यक्ति (लिखित तथा साङ्केतिक) का सम्बन्धमा फरक तौरतरिका हुन्छन् । कक्षा शिक्षण, मूल्याङ्कन, शिक्षण सिकाइ क्रियाकलाप शैक्षणिक क्षेत्रका नितान्त प्राविधिक विषय हुन् । परम्परागत शिक्षण विधि शैक्षणिक योजनामा समयसापेक्ष क्रमिक सुधार एवं परिवर्तन हुँदै आएको छ । बहिरा शिक्षणमा प्रशस्तै खोज अनुसन्धान गरेर विकसित मुलुकले नमुनायोग्य व्यवस्था गरिसकेका छन् तर त्यसलाई हामीले नेपालमा अन्धानुकरण गर्नुभन्दा पनि नेपाली परिवेशको सापेक्षतामा ढालेर नेपाली मौलिकता अनुसार परिवर्तन गर्दै उन्नत ढङ्गले अपाङ्गता भएका व्यक्ति र विशेष गरी सुनाइसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई विद्यालय शिक्षाको योजना गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नु बुद्धिमत्तापूर्ण हुन्छ ।