• १२ वैशाख २०८२, शुक्रबार

चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण

blog

गोलबजार (सिराहा),  वैशाख १२ गते ।  चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा छ वटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ ।

लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ । सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी छ । 

शम्भुनाथ नगरपालिका–११ देवधारमा छ करोड ५७ लाख ८२ हजार, छिन्नमस्ता गाउँपालिका घोडदह नदीमा एक करोड ९१ लाख ९२ हजारको लागतमा पुल निर्माण भएका छन् ।  

यसैगरी, कनकटा–९ र बेल्ही–५ जोडिने सडकमा पर्ने मुत्तनी खोलामा चार करोड चार लाख ५४ हजारको लागतमा पुल निर्माण गरिएको छ भने राजविराज–छिन्नमस्ता सडकबाट बेल्हा–६ र ५ भएर बग्ने सप्तरीको घोडदह खोलामा चार करोड ८५ लाख ६३ हजारको खर्चेर पुल बनाइएको छ । 

छिन्नमस्ता गाउँपालिका–५ राजविराज–छिन्नमस्ता सडकअन्तर्गत खिरखौका नदीमा पनि पुल निर्माण सम्पन्न भएको छ । यो पाँच करोड ४२ लाख २० हजारको लागतमा सम्पन्न भएको हो । राजविराज–कुनौली सडकमा पर्ने महुली घाडन खोलामा छ करोड १३ लाख ५४ हजारमा लागतमा पुल निर्माण भएको प्रमुख कर्णले बताउनुभयो । 

 सप्तरीमा निर्माणाधीन पुलमध्ये सात वटाको काम अन्तिम चरणमा पुगेको छ । छिन्नमस्ता गाउँपालिका–१ ललापट्टी–बुटनपोखरी भलवाही पुल तीन करोड ७३ लाख ८२ हजारको लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ । यस्तै सोही निर्माण कम्पनीले तीन करोड ६२ लाख ७४ हजारको लागतमा विसहरिया–१ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इन्जिनियर सुरेन्द्र दासले बताउनुभयो । 

यस्तै रूपनी गाउँपालिका–६ दुधैला खोलामा नयाँ बस्ती नजिकै छ करोड ५३ लाख ७५ हजारका लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । फकहा–बरदहीको बिच मुत्तनी नदीमा पनि धमाधम पुल निर्माण भइरहेको छ । उक्त पुलको वित्तीय प्रगति ८३।५८ प्रतिशत छभने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

त्यसैगरी, रूपनी गाउँपालिका–६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ । उक्त पुल नौ करोड ७५ लाख ९८ हजारको लागतमा निर्माण भइरहेको हो । शम्भुनाथ नगरपालिका–९  भएर बग्ने भवररा नदीमा चार करोड ७५ लाख ३१ हजारको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति  ८२ प्रतिश भएको छ । रासस