अमरराज नहर्की
तनहुँ, वैशाख ११ गते । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश अस्पताल दमौलीको बिहीबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई कुनै जानकारी नदिइ अस्पताल पुग्नुभएका मन्त्री पाठकले विभिन्न विभाग, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका बारेमा जानकारी लिनुभयो । मन्त्री पाठक बिरामी र कुरुवा भेट गरी चिकित्सक र सेवा प्रवाहबाट सन्तुष्ट भए नभएको बारेमा सेवाग्राहीसँग जिज्ञासा राख्नुभयो । अस्पतालको बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, प्रस्तुती सेवा, सुरक्षित गर्भपत सेवा, सुरक्षित मातृत्व सेवा, दन्त सेवा, फार्मेसी, निःशुल्क औषधि लगायतको अनुगमन गर्नुभयो ।
मन्त्री पाठकले जिम्मेवारीमा रहेका कर्मचारी खटिए नखटिएको, स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहार, फार्मेसीमा औषधिको व्यवस्था भए नभएको विषयमा जिज्ञासा राख्नुभयो । मन्त्री पाठकले मेडिकल सुपरिटेण्डन्ट डा।परिवर्तन बराललाई भेट गरी सेवाग्राहीका गुनासा कम आउने गरी थप व्यवस्थित गरेर काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री पाठकले १५ शैय्याबाट ५० शैय्या बनाउने निर्णय गरिएको जानकारी दिँदै अस्पतालका हाल रहेका भवन पुराना जीर्ण रहेकोले पुर्नििनर्माण तथा नयाँ भवन शिलान्यको कार्यक्रम तुरुन्त सुरुवात गर्ने जानकारी दिनुभयो ।
मन्त्री पाठकले भन्नुभयो, "स्वास्थ्य सेवाको स्तर उन्नतिको लागि प्रतिबद्ध भएकोले गण्डकी प्रदेशका १३ अस्तपालको स्तरोउन्नती गरिएको छ ।" मेसु डा. बरालले अस्पताललाई आवश्यक भौतिक पूर्वाधार निर्माण आवश्यक जनशक्ति तथा प्राविधिक सामग्रीहरूहरुको लागि आगामी दिनमा आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियो ।