राममणि दाहाल
हेटौँडा, वैशाख ११ गते । नेपाल भाषा खलःको हेटौँडा उपमहानगरपालिका १ स्थित भिन्तुनापथमा भवन निर्माण सुरु गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले भवनको बिहीबार शिलान्यास गर्दै प्रदेश सरकारले सबै भाषा, धर्म, संस्कृति र समुदायको संरक्षण र प्रवर्धनका लागि काम गरिरहेको बताउनुभयो ।
प्रदेश सरकारले सबै भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सचेत र प्रतिबद्ध छ, मुख्यमन्त्री लामाले भन्नुभयो, प्रदेश सरकारले नेपाल भाषा र तामाङले भन्नुभया, भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन थालेको छ ।
प्रदेशका पूर्वमन्त्री एकालाल श्रेष्ठले भवन निर्माणमा सरकारको सहयोगसँगै समुदायको पनि योगदान रहनु पर्नेमा जोड दिनुभयो । बागमती प्रदेश सरकार र समुदायको लागत साझेदारी गरी ३३ लाख ३५ हजार रुपियाँको लागतमा भवन निर्माण सुरु गरिएको हो ।
भूकम्पले भवन जीर्ण भएपछि पुरानो भवन भत्काएर १५ धुर जग्गामा भवन बनाउन सुरु गरिएको नेपाल भाषा खलःका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । चार तलाको भवन निर्माण गर्ने गरी विस्तृत परियोजना प्रस्ताव तयार गरिएको उक्त भवनका भुइँ तला व्यापारिक प्रयोजनका लागि बनाइने भएको छ । नयाँ बन्ने भवनमा कार्यालय, सङ्ग्रहालय, सभाहललगायतका संरचना रहने भएको छ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, मुख्य सचेतक गोविन्द लम्साल, प्रदेश सभा सदस्य रामकुमार पहाडीलगायतको उपस्थिति रहेको थियो ।