गोविन्द शर्मा
बाँके, वैशाख ११ गते । सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजित योजनामध्ये अधिकांश योजना कार्यान्वयन भई निर्माण सम्पन्न हुने चरणमा पुगेको जनाएको छ ।
साउन–भदौदेखि प्रारम्भिक चरणको काम सुरु गरी दसैं अगावै बोलपत्र आह्वान गरिएका कारण समयभित्रै अधिकांश आयोजना सम्पन्न हुने चरणमा पुगेको सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख उद्धव श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, ‘‘बाँके र बर्दिया कार्यक्षेत्र रहेको कार्यालयबाट चालु आवका अधिकांश आयोजनाहरूको काम सम्पन्न हुने चरणमा पुगेको छ ।’’ योजनाको काम सम्पन्न भएकामध्ये केही आयोजनाको भुक्तानीको काम समेत सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । हालसम्म करिब ३० प्रतिशत प्रगति भएको जनाउँदै कार्यालयले योजनाहरुको अन्तिम चरणको काम भइरहेकाले अनुगमन र भुक्तानीको कार्यलाई तीव्रता दिएको जनाएको छ ।
चालु आवमा सामाजिक विकास डिभिजनअन्तर्गत अधिकांश योजना सामुदायिक विद्यालय, क्याम्पस र खेल मैदानका करिब दुई सयभन्दा बढि योजना छन् । अधिकांश योजना कार्यान्वयन भई निर्माणको अन्तिमचरणमा रहे पनि निर्माण स्थान अभाव, जग्गा अभाव लगायतका कारण केही योजनाको काममा भने ढिलाइ भएको र असारभित्रै निर्माण सम्पन्न गराउन समन्वय र सहकार्य भइरहेको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका लेखा अधिकृत सञ्जिवकुमार मण्डलले जानकारी दिनुभयो ।
बाँके र बर्दियामा चालु आवमा सामाजिक विकास डिभिजन कार्यालयअन्तर्गत विकास बजेट करिब ३२ करोड रुपियाँको रहेको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले सामाजिक विकास डिभिजन कार्यालयले प्रदेश सरकार र स्थानीय सरकारबिच समन्वय गरी काम गरिरहेको बताउनुभयो ।