• ११ वैशाख २०८२, बिहिबार

गर्मी छल्ने गन्तव्य बन्दै पौडी पोखरी

blog

गर्मी छल्न वाटरपार्क पुगेका स्थानीय। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख ११ गते। बढ्दै गएको तातो हावा लु र गर्मीबाट जोगिन अहिले बाँके, बर्दिया लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगन्जका वाटरपार्क र पौडीपोखरी बनेका छन्। 

अत्यधिक गर्मीबाट जोगिन यहाँ निर्माण गरिएका वाटरपार्क र विभिन्न होटल तथा अन्य स्थानमा रहेका स्विमिङ पुलमा नुहाउन पुग्ने दिनदिनै बढ्दै गएका छन्। 

वाटरपार्क र स्विमिङ पुलमा पुग्नेमा भारतीय पर्यटकको सङ्ख्या सबैभन्दा बढी छ। गर्मी छल्नका लागि सीमापारी भारतका बहराइच, नानपारा, बाबागन्ज, मिहिपुरवा, कैसरगन्ज लगायत विभिन्न सहर र नेपालका नेपालगन्ज, कोहलपुर, बर्दियाको गुलरिया तथा सो वरिपरिबाट आउनेहरूले यहाँका पौडीपोखरी र वाटरपार्क भरिभराउ छन्। 

बाँकेको जानकी गाउँपालिका ६ मनिकापुरमा सञ्चालनमा रहेको अत्याधुनिक वन्डरल्यान्ड वाटर एन्ड फन पार्कका प्रबन्धक केशराज यादवले बाँके र भारतका विभिन्न स्थानका विद्यार्थीदेखि महिला पुरुष सर्वसाधारणले गर्दा अहिले वाटरपार्क बिहानदेखि बेलुकासम्म भरिभराउ हुने गरेको बताउनुभयो। 

उहाँले दक्ष र अनुभवी प्राविधिकको निगरानीमा वाटर पार्क बिहान साढे १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।

शनिबार र सार्वजनिक बिदाको दिन नेपालका तथा आइतबार भारतीय पर्यटकको वाटरपार्कमा निकै भिडभाड हुने गरेको छ। 

वाटरपार्क बाहेक नेपालगन्ज रङ्गशालामा रहेको स्विमिङ पुल, खजुरा मिनि पार्कमा रहेको स्विमिङ पुल लगायत करिब दर्जन भन्दा बढी तारे होटलमा रहेका स्विमिङ पुल पनि गर्मी छल्नेहरूले भरिभराउ हुन थालेका छन्।