धरणीधर कोइरालाको जन्म विसं १९४९ माघ २४ गते भयो । बालकृष्ण समको जन्मसमेत माघ २४ गते (विसं १९५९) भएको थियो ।
‘मकैको खेती’ लेखेबापत कठोर सजाय पाएर विसं १९८० मा जेलमै निधन हुने नेपालको पहिलो साहित्यिक शहीद मानिएका कृष्णलाल अधिकारीको पनि माघ २४ गते (विसं १९४४) नै जन्म भएको थियो ।
तर कुनै जिम्मेवार तहबाट अहिलेसम्म उनीहरूको जन्मजयन्ती मनाइएको देखिँदैन ।
विसं १९४२ मङ्सिर ६ गते राति धीरशमशेरका छोरा ‘सत्रभाइ’ राणाले सहोदर काका रणेद्दीप सिंहको हत्या गरे । त्यो हत्याकाण्डमा रणेद्दीपलाई पहिलो गोली हान्ने डम्बरशमशेर बालकृष्ण समका पितामह थिए ।
डम्बरशमशेर धीरशमशेरकी विवाहिता क्षेत्री पत्नीबाट नजन्मिएकाले उनलाई ‘बेरोलवाला’ को श्रेणीमा राखिएको थियो । आफ्नै गोलीले एक ठूलो परिवर्तनसँगै देशको सत्ता ‘सत्रभाइ’ राणाहरूमा आए पनि आफू बेरोलवाला हुनु परेको पीडा, असन्तोष र आक्रोश डम्बरशमशेरले आफूभित्रै दबाएर राख्नु पर्यो ।
राणाको अनेक प्रकारको थिचोमिचो, शोषण र हुकुमी कानुनको असहनीय दमनलाई बालकृष्ण शमशेर आफैँले पनि बेहोरिरहनु परेको थियो । राणाको विरोधमा २००७ को जनक्रान्तिमा सशक्त विद्रोहका साथ बालकृष्ण अघि आए ।
२००७ साल मङ्सिर १९ गतेको जुलुसमा राणाका सैनिक र पुलिसको लाठी प्रहारबाट न्हुछेरत्न तुलाधर गम्भीर रूपमा घाइते भएका थिए । उनी मुखबाट रगत बान्ता गर्दै ढले । उनलाई केही युवाले उठाएर लग्न खोज्दा पुलिसले फेरि लाठी प्रकार गर्यो । तिनै युवाले बेहोस न्हुछेरत्नलाई बोकेर भोटाहिटीबाट उनको घर असन पुर्याए ।
जुलुसका यस्ता घाइतेलाई अस्पताल पुर्याएर उपचार होइन अरू यातना दिइन्थ्यो । त्यसैकारण घरमै साधारण उपचार गर्दागर्दै त्यसै राति न्हुछेरत्नको निधन भयो ।
भोलिपल्ट मङ्सिर २० गते बिहान न्हुछेरत्नको घरमै पुगेर श्रद्धाञ्जली अर्पण गर्दै बालकृष्णशमशेर जङ्गबहादुर राणाले आफू र आफ्नो परिवारको नामबाट ‘शेरजङ्गबहादुर राणा’ भन्ने शब्दावलीलाई हटाएर त्यो शब्दावलीलाई देशमा प्रजातन्त्र स्थापनाको सङ्घर्षमा आफ्नो बलिदान दिने वीर शहीद न्हुछेरत्नप्रति समर्पण गरिदिए ।
सोही दिनदेखि उनले शेरजङ्गबहादुर राणा हटाएर बाँकी रहेको ‘शम’ लाई समतामूलक शब्द ‘सम’ मा परिणत गरेर आफू सत्तासीन राणावर्गमा होइन, १०४ वर्षदेखि थिचिएर रहेका शोषित जनताको पङ्क्तिमा उभिई ‘बालकृष्ण सम’ भएर रहने प्रतिबद्धता व्यक्त गरे । त्यसै दिन मङ्सिर २० गते अपराह्न बालकृष्ण समको नेतृत्वमा उनकी छोरी रश्मिराज्यलक्ष्मी शाह, छोरा जनार्दन सम, भाइ कर्णशमशेर राणा एवं डायमनशमशेर राणासमेत २५/३० जना राणा परिवारकै सदस्यको निरङ्कुश राणातन्त्रको विरोधमा एउटा जुलुस निस्क्यो । तीनधारा पाकशालाबाट ‘ॐ शान्ति जय नेपाल’ नारा लगाउँदै त्यो जुलुस् भोटाहिटी अगाडि पुग्दा लाठी प्रहार गरेर जुलुसका सबैलाई पक्राउ गरिएको थियो । समले नेपाल र नेपाली जनताको हकहितका निमित्त कलम मात्र चलाएनन् आफू र आफ्ना परिवारका सबै सदस्यलाई प्रजातन्त्र स्थापनाको सङ्घर्षमा समर्पित गरे ।
बालकृष्ण समका ज्वाइँ जगतप्रकाश शाह २०१५ सालको आमचुनावमा निर्वाचन क्षेत्र १०७ नुवाकोट उत्तरबाट नेपाली कांग्रेसको उम्मेदवार थिए । २०१६ सालमा बीपी कोइरालाको प्रधानमन्त्रित्वमा नेपालमा पहिलो जननिर्वाचित सरकार गठन भयो । त्यो सरकारका योजना र कार्यक्रममा अनेकन व्यवधान देखा परे । जसमध्ये एउटा थियो पश्चिम १ नम्बर काण्ड ।
पश्चिम १ नम्बरमा जाति–जातिबीच हुन गएको सङ्घर्षलाई साम्य पार्न र सबैमा पारस्परिक सद्भाव कायम गर्न जगतप्रकाशजङ्ग शाहले अथक् प्रयास गरेका थिए । २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरे । जननिर्वाचित प्रधानमन्त्रीलगायत मन्त्री र राजनीतिक कार्यकर्ता सबैलाई बन्दी बनाएर जनताका यावत् अधिकार खोसे ।
महेन्द्र राजाले जननिर्वाचित सरकारलाई अपदस्थ गरेको विरोधमा २०१७ साल फागुन १२ गते महिलाले काठमाडौँमा विशाल जुलुस प्रदर्शन गरे । जुलुसको नेतृत्व पङ्क्तिमा रहेका महिला नोना कोइराला, रश्मिराज्यक्ष्मी शाहसमेत धेरैलाई बर्बर तवरले कुटपिट गरियो । पक्राउ गरेर ‘सदर जनाना जेल’ मा राखिएको केही महिनापछि जेलबाट रश्मिराज्यलक्ष्मीलाई रिहा गरियो ।
जेलबाट रिहा भएपछि उनी महेन्द्रको निरङ्कुशताको विरोधमा नेपाली कांग्रेसले प्रारम्भ गरेको सङ्घर्षलाई सहयोग पु¥याउन भूमिगत तवरले कोलकाता पुगिन् । जगतप्रकाश शाह पुस १ गतेको राष्ट्रघातपछि तुरुन्त भूमिगत भए । अनि धेरै साथीलाई लिएर माघ महिनामा कोलकाता पुगे । २०१८ सालको प्रारम्भसँगै महेन्द्रको सर्वसत्तावादको विरोधमा नेपाली कांग्रेसले सुरु गरेको सशस्त्र सङ्घर्षमा जगतप्रकाश शाहले प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।
सशस्त्र सङ्घर्षमा सहभागी ११ जनालाई दरबारको कडा निर्देशनमा क्रुरताका साथ २०१८ साल माघ २८ गते चितवनको सङ्घर्षमा समातिएपछि त्यसै दिन जिउँदै खाडलमा पुरेर मारियो । २०१८/२०१९ को सङ्घर्षमा र त्यसपछिका अरू सबै सङ्घर्षमा धेरै वर्षसम्म मानिसलाई जिउँदै खाडलमा हाल्ने, पक्राउ परेकाको टाउको काट्ने जस्ता नृशंस कार्य भइरहे ।
जगतप्रकाशजङ्ग शाहलाई समातेर जिउँदै खाडलमा हालेर मारिएको हृदयविदारक कुरा रश्मिराज्यलक्ष्मी शाहले थाहा पाएपछि आत्महत्याबाहेक उनले कष्ट निवारणको अरू विकल्प देखिन्न तर एक दुई पटक आत्महत्याको प्रयत्नबाट उनलाई बचाइयो । रश्मिराज्यलक्ष्मी शाह २०१९ सालको तीजको राति मृत्युमा लीन भएको दुःखद खबर सुवर्णशमशेरले कोलकाताबाट पठाएका थिए बालकृष्ण समलाई ।
तर निरङ्कुशताको कडा नियन्त्रणभित्र राखिएको काठमाडौँमा त्यसबेला भूमिगत तवरले कसैले कोलकाताबाट आएर समलाई सुवर्णशमशेरको पत्र हस्तान्तरण गर्न त्यति सजिलो थिएन । नेपाली कांग्रेसले देशबाहिरबाट एउटा सानो सम्पर्क सूत्रको आधार अत्यन्त गोप्य रूपमा सेन्ट्रल होस्टेलमा बस्ने केही विद्यार्थीसित पनि कायम गरेको थियो । २०१९ साल असोजको एक साँझ त्यही सम्पर्क सूत्रमा दिइएको कोड शब्द लिएर एक जनाले तत्कालीन विद्यार्थी पुरुषोत्तम बस्नेतलाई भेटे ।
ती व्यक्तिलाई दिइएको तीन ठाउँमध्ये एकमा सम्पर्क गर्नेमध्ये एउटा सम्पर्क सूत्र पुरुषोतम बस्नेत थिए । अरू दुई जनासँग सम्पर्क हुन नसकेपछि ती व्यक्तिले बस्नेतलाई भेटे ।
तत्कालीन परिस्थिति अनुसार पत्र ल्याउने व्यक्ति जनकपुरका मास्टर बलभद्र झा थिए । काम केवल सुवर्णशमशेरको पत्र समलाई हस्तान्तरण गर्ने थियो । महानन्द सापकोटाका छोरा हेमराज सापकोटासँग बस्नेतले सहयोग मागे । किनभने हेमराजको समसँग चिनजान थियो । हेमराज पनि होस्टेलमै बस्थे ।
हेमराजसमेत होस्टेलका केही विद्यार्थी एउटा साहित्यिक पत्रिका निकाल्ने सुरसार गर्दै थिए । एक–दुई पटक त्यही सन्दर्भमा हेमराजसँग दुई–तीन जनाले समलाई उनकै वासस्थानमा भेटेका थिए । त्यस्तो पत्र समलाई बुझाउनुअघि धेरै कोणबाट सोच विचार गरियो । हेमराजको सल्लाह थियो विजय मल्ललाई पनि लिएर जाने । विजय मल्लसित हेमराज र बस्नेतको आत्मीय सम्बन्ध स्थापित भइसकेको थियो । यी दुई उनलाई ‘विजय दाइ’ भन्थे । विजय मल्ललाई नयाँ सडकमा भेटेर समलाई आएको पत्रका बारेमा जानकारी गराइएको थियो । भोलिपल्ट बिहान विजय मल्ल, जयवरसिंह, पुरुषोतम बस्नेत र हेमराज सापकोटाले कमलपोखरीको कृष्ण पाउरोटी भण्डारअगाडि जम्मा भएर समलाई भेटे । रश्मिराज्यलक्ष्मी शाहको निधनको पीडादायी समाचार केही पहिले नै समले पाइसकेको हुँदा उनले त्यसैको समवेदना प्रकट गर्न आएको सम्झिए ।
पुरुषोतम बस्नेतको हातबाट कोलकाताबाट आएको पत्र खोलेर पढेपछि रोक्दारोक्दै पनि आफ्ना आँखाबाट झरेको आँसु उनले पछाडि फर्केर पुछेका थिए ।
–युवामञ्च