• ११ वैशाख २०८२, बिहिबार

अपि हिमालमा बढ्दै आकर्षण

blog

खलङ्गा समाचारदाता 

दार्चुला, वैशाख ११ गते । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो दार्चुलाको अपि हिमाल विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित हुन थालेको छ । सो हिमाल सात हजार १३२ मिटर उचाइमा छ ।

अपि हिमाल बेसक्याम्प घुम्न आउने र अपिनाम्पा संरक्षण क्षेत्रभित्रको प्राकृतिक आनन्द लिन आउने विदेशी पर्यटकको तथ्याङ्क हेर्दा दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–१ मा अवस्थित अपि हिमाल विश्वमा परिचित हुन थालेको हो । अपि हिमाल बेसक्याम्प र संरक्षण क्षेत्रभित्र घुम्न आउने पर्यटकलाई अनुमति दिँदै आएको सरकारी निकाय अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन विनय झाका अनुसार विगत नौ वर्षमा १७५ जना विदेशी पर्यटक दार्चुला घुम्न आएका छन् । 

अपि हिमालको प्रचारप्रसारलाई तीव्र बनाई थप विदेशी पर्यटक भित्र्याउन अपिहिमाल गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा अपि भ्रमण वर्ष–२०८० सञ्चालन गरेको थियो । सो अवधिमा स्वदेशी तथा केही विदेशी पर्यटक अपि हिमाल बेसक्याम्प पुगेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले पर्यटक भित्र्याउन अतिथि सत्कारका लागि ६१ जना महिला पाँच जना पुरुषलाई होमस्टे सञ्चालनको तालिम प्रदान गरेको छ । घुम्न आउने पर्यटकको सजिलोका लागि नौ जना महिला र २१ जना पुरुषलाई ट्रेकिङ गाइडसम्बन्धी तालिम प्रदान गरेको गाउँपालिकाका पर्यटक एकाइ प्रमुख विसन बुढाथोकीले जानकारी दिनुभयो । 

आव २०७३/७४ देखि हालसम्म अपि हिमाल बेसक्याम्प घुम्न, टे«किङ गर्न र संरक्षण क्षेत्रभित्रको प्राकृतिक दृश्यावलोकन तथा प्राकृतिक आनन्द लिन अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ९८ जना विदेश, पाँच जना सार्क क्षेत्रका र १५४ जना स्वदेशी पर्यटकले अनुमति लिएको कार्यालयले जनाएको छ । कार्यालयले अनुमतिबापत दुई लाख ११ हजार नौ सय रुपियाँ राजस्व सङ्कलन गरेको छ । 

अपिनाम्पा संरक्षण क्षेत्रमा हिउँचितुवा, हाब्रे (रेड पान्डा), मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी, थारलगायत वन्यजन्तु तथा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरालगायत दुई सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् । जैविक विविधताले भरिपूर्ण यस संरक्षण क्षेत्रभित्र सात हजार १३२ मिटर उचाइ रहेको अपि हिमाल र छ हजार ७५५ मिटर अग्लो नाम्पा हिमाल पनि पर्छ ।  

यसैबिच अपिहिमाल गाउँपालिका पर्यटक एकाइ शाखाको तथ्याङ्क अनुसार आव २०८०/८१ मा ७७ जना विदेशी पर्यटक र एक हजार १०१ जना स्वदेशी पर्यटकले अपि हिमाल बेसक्याम्प पुगेर हिमालको अवलोकन गरेका छन् । 

अपिहिमाल गाउँपालिकाको स्थानीय वेशभूषा, रहनसहन, रीतिरिवाज, खानपान, संस्कृति, चाह्रै नाच, छलिया नाच, देउडा, सुर्माभवानी जात्रा पर्यटकका लागि मुख्य आकर्षणका रूपमा रहेको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे 

बोहोराले बताउनुभयो । यति मात्रै नभई स्थानीय उत्पादन मकै, कोदो, फापर, तितेफापर, सिमी, आलु र चुहाबाट बनेका विभिन्न परिकार पर्यटकको रोजाइमा पर्ने गरेका छन् । अपिहिमाल गाउँपालिकामा क्षेत्तेली, डोटेली र अन्य मिश्रित भाषाको प्रयोग गरिन्छ । 

कसरी पुग्ने अपि बेसक्याम्प ?

चमेलिया नदीको मुहान रहेको अपि हिमाल अपि बेसक्याम्प आउन काठमाडौँबाट कैलालीको धनगढीसम्मको हवाईयात्रा तथा कैलालीकै अत्तरियाबाट अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म २७१ किलोमिटर मोटरबाटोको यात्रा गर्न सकिन्छ । 

मकरीगाडदेखि अपि बेसक्याम्पसम्म दुई दिन पैदलयात्रा गर्नु पर्छ । बेसक्याम्प जाँदा बाटोमा नौपाटा र सिती होमस्टेको व्यवस्था छ, भने सिमार र धौली ओडारमा पर्यटकलाई आराम गर्न आश्रय भवनको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 

अपिहिमालको प्रवर्धन र प्रचारप्रसारका लागि गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्रको स्थापना गरिएको छ । सूचना केन्द्रले अपिहिमाल बेसक्याम्पसम्म ट्रेकिङ जाने पर्यटकलाई सूचना आदानप्रदान गर्न तथा कोसेली घरबाट स्थानीय उत्पादनलाई बिक्रीवितरण गर्न सहयोग पुगिरहेको गाउँपालिकाले जनाएको छ । कैलालीको धनगढीबाट डोटी, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको गोकुलेश्वर मकरीगाडसम्म डेढ दिनको गाडी यात्रा र मकरीगाडबाट पैदल हुँदै पाँचौँ दिनमा अपि हिमाल बेसक्यापमा पुग्न सकिन्छ । यहाँबाट तीन दिनमा पुनः धनगढी फर्कन सकिन्छ ।