मुस्ताङ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), असार १५ गते । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुस्ताङ आउने तीर्थयात्री र पर्यटकलाई लेक लागेर बिरामी हुने समस्या बढ्दै जान थालेपछि ‘हाई अल्टिच्युड’ उपचार कक्ष बनाउने भएको छ ।
कागबेनीमा स्नान गरी प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने धार्मिक पर्यटक बढेसँगै लेक लागेर समस्यामा पर्न थालेपछि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उपचार कक्षमा आवश्यक स्वास्थ्यकर्मीसहित उपकरणका लागि पाँच लाख ५० हजार रुपियाँ विनियोजन गरेको छ ।
त्यसै गरी मुक्तिनाथ विकास समितिमार्फत एम्बुलेन्स खरिद गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । बिरामी पर्यटक तथा तीर्थयात्रीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पु¥याउन तथा थप उपचारका लागि समेत जिल्लाबाहिर लैजान एम्बुलेन्सको आवश्यकता रहेकाले गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत सर्वसम्मतिले पारित गरेको छ । कागबेनीमा स्वर्गीय आफन्तको सम्झनामा तर्पण दिएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासमा मुक्तिनाथमा दर्शन गर्न बर्सेनि लाखौँ नेपाली तथा भारतीयसहित तेस्रो मुलुकबाट पनि तीर्थयात्री आउने गरेका छन् ।
गाउँपालिका अध्यक्ष रिन्जिङनाम्गेल गुरुङले सचेतनामूलक अभियानसँगै पर्यटकको स्वास्थ्यमा देखिएको समस्यालाई ध्यानमा राखी मुक्तिनाथ मन्दिरपरिसरमा रहेका दुई वटा ‘हाई अल्टिच्युड’ उपचार केन्द्रमा जनशक्ति र उपकरणको अभावका बारेमा सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो । यसैबिच गाउँपालिकाले अस्पतालसँग सहकार्य गर्ने गरी टेलिमेडिसिन सेवासमेत सञ्चालन गर्ने भएको छ । दुई वर्षयता मुस्ताङमा २८ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका छन् ।