प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), असार १५ गते । राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को अवसरमा रौतहटमा १ हजार तीन सय वृक्षरोपण गरिएको छ ।
डिभिजन वन कार्यालय रौतहटको आयोजनामा चन्द्रपुर–४ जुडी पोखरीको पछाडि रहेको जनएकता सामुदायिक वन क्षेत्रमा ५ सय टिक, ३ सय महागोनी , ३ सय सतिसाल र २ सय ईमलीको बिरुवा रोपण गरिएको कार्यालयका वन अधिकृत महालक्ष्मी शर्माले जानकारी दिनु भयो ।
कार्बन उत्सर्जन शुन्यमा झार्न सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ गते देखि साउन १५ गते सम्म नेपाल भरि उपयुक्त जग्गामा वृक्षारोपण गर्ने नेपाल सरकारले गरेको निर्णय अनुसार शनिबार १ हजार तीन सय बिरुवा रोपण गरी राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत शर्माले बताउनुभयो ।
वृक्षारोपणबाट जलवायु परिर्वतनको असर न्युनीकरण साथै स्थानीयको वन पैदावारको माग आपूर्ती तथा वातावरण संरक्षण एवम हरियाली प्रवर्धन गर्न र वनबाट आयआर्जन समेत गर्न वृक्षारोपण आवस्यक रहेको वन अधिकृत शर्माले जानकारी दिनु भयो ।
हालको बढ्दो तापक्रम वृद्धिलाइ न्युनीकरण गर्न आ–आफ्नो स्थानमा रहेको सडक, खाली पर्ती क्षेत्रमा वृक्षारोपण गर्न वन अधिकृत शर्माले आग्रह गर्नु भएको छ । वृक्षारोणको लागि डिभिजन वन कार्यालय रौतहटले निःशुल्क बिरुवा समेत उपलब्ध गराउने उहाँले बताउनुभयो ।
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख जनक राज पन्तले सतिसालको बिरुवा रोपेर वृक्षारोपण कार्यको शुरुवात गर्नु भएको डिभिजन वन कार्यालय रौतहटका रेन्जर विकास लामिछानेले जानकारी दिनुभयो ।
जनएकता सामुदायिक वन , सामुदायिक वन उपभोक्ता महासङ्घ रौतहट, जिल्ला ग्रामिण नेपाल संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, डिभिजन वन कार्यालय रौतहटका कर्मचारी, सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधि, विभिन्न सामुदायिक वनका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा संचारकर्मीको उपस्थिति रहेको डिभिजन वन कार्यालय रौतहटका रेन्जर लामिछानेले बताउनुभयो ।