टोपलाल अर्याल
रेसुङ्गा, असार १४ गते । रिडी–रुद्रवेणी–वामीटक्सार मुख्य सडकखण्डको खैरेनीबाट डेढ घण्टाको उकालो उक्लेपछि भार्से पुगिन्छ ।
खैरेनीको फाँट, जोहाङ्ग र जुनियाँका मनोरम बस्तीहरु छिचोल्दै करिव एक हजार ७३५ मिटर पहाड निस्केपछि देखिने भार्से गाउँले बाटोको पीडाभरि भुलाइदिन्छ । जिल्लाकै सवैभन्दा धेरै मगर बस्ती भएको भार्सेमा आफ्नो परम्परागत रीतिरिवाज, भेषभुषा, भाषा, सस्कृति र पहिचान जीवित छ ।
वरिपरि पहाडले घेरिएको समथर जमिनमा टसक्क बसेको सानो बस्ती निकै आकर्षक देखिन्छ । बर्खा लागेकाले हरियाली र स्वच्छ वातावरणमा देखिने अधिकांश ढुङ्गे घरले भार्सेको सौन्दर्यकरण गरेको छ । तराईको गर्मीले पोलेपछि भार्से पुग्नेहरुलाई चिसो हावानै काफी छ । लुम्बिनी प्रदेशकै सबै भन्दा अग्लो पहाड थाप्लेसंग उभिएको भार्से गाउँ प्राकृतिक रुपमा पनि निकै सुन्दर र रमणीय छ ।
कोदोको ढिडो र कोदोकै रक्सी । मकै र फापरको रोटीमा टिमुरको चट्नी राखेपछि जिब्रो नचड्की सुख्खै छैन् । भार्सेली महिलाहरुले रानीवन सामुदायिक होमस्टेमा पुग्ने पाहुनालाई स्वागत गरेपछि मकै र बाँकको गुन्द्रुक, कालो भट्टसंग लोकल ठर्राबाट आतिथ्यताको मेलो सुरु हुन्छ ।
जिल्लाका पुराना मध्येको रानीवन होमस्टे अहिले पाहुनाले कहिल्यै खाली हुँदैन् । बिस्तारै चिसो र रातले छोप्दै गएपछि घन्किने सोरठी, कृष्ण चरित्र र ठाडो भाकामा रमेका पर्यटकलाई समय छिप्पएको पत्तै हुँदैन् ।
रानीवनमा गासबासका लागि महङ्गो छैन् । भार्सेली मगरहरुको कला संस्कृतिको संरक्षणसंगै पर्यटकीय संभावना देखेर सात बर्षदेखि होमस्टे संचालन गरिएको रानीवन होमस्टे संचालक समिति अध्यक्ष गंगा दलार्मीले बताउनुभयो ।
पुराना कलात्मक शैलीका घरहरु, मगर दिदिबहिनीहरुको न्यानो आतिथ्यता र परिकारले रानीवन होमस्टे आर्यआर्जनको माध्यम बनिरहेको छ । अहिले १७ घर मिलेर सामुदायिक भवनमा पाहुनाहरुलाई सेवा दिने गरिएको छ । बिस्तारै घर–घरमा होमस्टे बिस्तार गर्ने योजना रहेको छ ।
त्यस्तै शान्तिपुर बजारबाट गाडीमा करिव २० मिनेट उकालो चढेपछि रेमीको टिमुरे सामुदायिक होमस्टे पुगिन्छ । चन्द्रकोट गाउँपालिका–४ को रेमी गाउँमा रानामगर, पुन, श्रीस र नेवार लगायतका करिव डेढ सय जनजाति समुदाय बस्दै आएका छन् । धेरै गाउँहरु बसाइसराइँले खाली हुँदै गएका बेला रेमीमा प्रभाव खासै छैन् ।
प्राकृतिक रुपमा आर्कषक टिमुरे तालको नजिकै पर्ने भएकाले होमस्टेलाई जोडेर पर्यटकीय आर्कषण बढाउन खोजिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो ।
रेमीमा होमस्टे संचालन भएको धेरै बर्ष भए । तर, धेरै ठाउँमा निरन्तरताको चुनौति छ । अहिले स्थानीय समुहलाई सवलीकरण गरेर अगाडी बढाउन सात दिनको तालिम समेत संचालन भएकाले आगामी दिनमा सवै खाले सहजीकरण गर्ने केसीले बताउनुभयो ।
पहाडको टुप्पोमा पर्यटकीय क्षेत्र टिमुरे र नजिकै शान्तिपुर बजार भएकाले पर्यटकको रोजाइँमा होमस्टे पर्ने भएकाले महिलाहरु कस्सिएको होमस्टे संचालक गौकुमारी पुनले बताउनुभयो ।
पहाडको काखको समथर रेमी गाउँ वातावरणीय दृष्टिले निकै रमणीय छ । पर्यटक मनोरञ्जनकै लागि होमस्टे पुग्छन् । पर्यटकलाई खानपान, बसाई र कला संस्कृतिलेनै आकर्षित गर्ने हो । त्यसमा रेमी गाउँ अब्बल छ ।
रेमी गाउँमा सालैजो, सोरठी, सुनिमाया र यानीमाया प्रख्यात छन् । मदाने गाउँपालिकाको बाँझकटेरी, रेसुंगाको भँगेरी, मुसिकोटको स्वाँरा र कालिगण्डकीको धुँवाखोलामा होमस्टे संचालनमा रहेका छन् ।