• १५ असार २०८१, शनिबार

फोन गर्न रुख चढ्छन् लुमवासी

blog

मुगु समाचारदाता

मुगु, जेठ २४ गते। देशभर द्रुत गतिको इन्टरनेट सेवा पु-याउने सरकारी नीति भए पनि मुगु सदरमुकाम वरपर सहज माबाइल सेवाबाट समेत वञ्चित छन् । मोबाइल नेटवर्कले प्रभावकारी काम नगर्दा टेलिफोन सम्पर्कका लागि समेत अग्लो डाँडा र रुखमा चढ्नुपर्ने अवस्था छ । जिल्ला सदरमुकाम गमगढी नजिकैका बाम र लुमगाउँंका स्थानीय बासिन्दा सहज सञ्चार सेवाबाट अझै वञ्चित छन् । 

छायाँनाथ रारा नगरपालिका–१३, लुमगाउँ र १४ वडाको बामगाउँका बस्तीमा नेपाल टेलिकमको बीटीएस टावर स्थापित भए पनि त्यसले सेवा दिएको छैन । बामगाउँका स्थानीय राजेन्द्र बुढाले फोन गर्नका लागि नगरपालिकाभित्रै विकट भएको दुःखेसो गर्नुभयो ।

नेपाल दूरसञ्चार कार्यालय मुगुले थार्पलेकमा बीटीएस फोर जी टावरको निर्माण जारी राखेकाले अबको केही महिनापछि सहज फोन सम्पर्क हुने जनाएको छ । नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डीसीले टावर सञ्चालनमा आएपछि बाम, लुमगाउँका बस्तीले भोग्दै आएको समस्या समाधान हुने जानकारी दिनुभयो ।

उहाँले समयमै उक्त टावर सञ्चालनमा आउनुपर्ने भए पनि निर्माण कम्पनीले निर्माण सामग्री सम्बन्धित ठाउँमा ढुवानी गर्न ढिलाइ गरेकाले पूरा हुन नसकेको जानकारी दिनुभयो ।जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्लले सरकारले फोरजीबाट फाइभ जी विस्तार गरे पनि दुर्गमका सर्वसाधारण नागरिकले फोन गर्नैका लागि रुख र डाँडामा चढ्नुपर्ने बताउनुभयो ।

राज्यबाट दिन प्रतिदिन प्रविधिमैत्रीपूर्ण विकासका कुरा गरे पनि यसको अनुभूति नागरिकलाई नभएको उहाँको भनाइ छ । नागरिकको समस्या समाधानका लागि नेपाल टेलिकम संवेदनशील भई निर्माण सामग्री छिटो ढुवानी गर्नुपर्ने उहाँको भनाइ छ ।