अनिल पराजुली
हेटौँडा, चैत २४ गते । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षको चैत अन्तिमसम्म प्रदेशभर २४.८७ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ ।
सो अवधिमा १९.०२ किलोमिटर सडक ढलान तथा १८.२१ किलोमिटर सडकमा ग्राभेल कार्य सम्पन्न गरिएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । साथै १२ वटा नयाँ सडक पुल निर्माण सम्पन्न भएका छन् ।
आवासतर्फ सीमान्तकृत समुदाय लक्षित कार्यक्रम अन्तर्गत उल्लेखनीय प्रगति भएको मन्त्रालयले जनाएको छ । चेपाङ, वनकरिया, माझी तथा बोटे समुदायका लागि एकीकृत बस्ती विकास कार्यक्रममार्फत २५ वटा आवास निर्माण सम्पन्न भएका छन् ।
यस्तै, खरको छानो उन्मूलन कार्यक्रम अन्तर्गत ३५ वटा, जनता आवास कार्यक्रममार्फत ६० वटा घर तथा १५ वटा सामुदायिक भवन निर्माण सम्पन्न भएको भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले जानकारी दिनुभयो ।
मन्त्री देवकोटाले मन्त्रालयले भौतिक निर्माणसँगै नीतिगत सुधार र सुशासनका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले मन्त्रालयले पुरानो कार्यशैली परिवर्तन गर्दै दीर्घकालीन तथा परिणाममुखी काममा ध्यान केन्द्रित गरेको उल्लेख गर्नुभयो ।
मन्त्रालयले ‘क्लाइमेट रेजिलेन्ट इन्फ्रास्ट्रक्चर प्लानिङ गाइडलाइन’, ‘फोहरमैला व्यवस्थापन कार्यविधि’ र ‘बागमती प्रदेश सहरी नीति २०८२’ को मस्यौदा अन्तिम चरणमा पुर्याएको छ । साथै पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा पहिरो-बायो इन्जिनियरिङ गाइडलाइन तयार पारिँदैछ भने सरकारी भवनहरूको तथ्याङ्क व्यवस्थापनका लागि ‘भवन व्यवस्थापन सूचना प्रणाली’ कार्यान्वयनमा ल्याइएको छ ।
लामो समयदेखि अलपत्र रहेका ४३ वटा रुग्ण आयोजनामध्ये ३४ वटा आयोजना पुनः सुचारु गरिएको मन्त्रालयले जनाएको छ । वर्षायाममा सडक अवरोध हटाउन ‘द्रुत प्रतिकार्य टोली’ परिचालन गरी हेटौँडा-काठमाडौँ जोड्ने छोटो मार्गहरू २४ घण्टाभित्र सञ्चालनमा ल्याइएको पनि मन्त्रालयले दाबी गरेको छ ।
मन्त्री देवकोटाले विकासलाई समावेशी र समन्यायिक बनाउने लक्ष्यसहित प्रत्येक जिल्ला र निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर योजना अघि बढाइने बताउनुभयो । उहाँले मानव विकास सूचकाङ्कमा पछाडि परेका पालिकाहरूका लागि विशेष सडक सञ्जाल कार्यविधि कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।
मन्त्रालयले बागमती प्रदेशको प्रशासनिक भवन निर्माणका लागि जग्गा सुनिश्चित गरिसकेको जनाएको छ भने ‘शिव सर्किट प्रोजेक्ट’ अन्तर्गत सिन्धुलीको दुम्जा–कुशेश्वर क्षेत्रमा पाइलट परियोजनाको डिपीआर अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।