काठमाडौँ, चैत २५ गते । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष भण्डारीले ‘साइबर बुलिङ’ मार्फत महिलामाथि हुने चरित्रहत्याका विरुद्ध कडा कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो । महिलाको मान–प्रतिष्ठा र सामाजिक आचरणमा आँच आउने गरी गरिने आपराधिक गतिविधि मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले त्यसको नियन्त्रणका लागि कानुनी हस्तक्षेप अपरिहार्य भएको उल्लेख गर्नुभयो ।
सामाजिक सञ्जालमार्फत महिलामाथि भइरहेको साइबर हमलाले विकराल रूप लिँदै गएको बताउँदै उपाध्यक्ष भण्डारीले भन्नुभयो, “गला रेट्नु मात्रै अपराध होइन, समाजमा बाँच्नै नसक्ने गरी नकारात्मक रूपमा गरिने चरित्रहत्या पनि ठुलो अपराध हो ।”
"विशेषगरी महिलाको जीवन सिध्याउन चरित्रहत्यालाई हतियार बनाइने गरिएको छ । कतिपय माननीय सदस्यहरू समेत साइबर अपराधको सिकार भएर प्रहरीको ‘साइबर ब्युरो’ सम्म पुग्नुपर्ने अवस्था आउनु दुःखद छ", उहाँले थप्नुभयो।

नवनियुक्त उपाध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा कुनै पनि आग्रह वा पूर्वाग्रह नराखी निष्पक्ष ढङ्गले संसदीय गरिमा कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।