विजयकुमार साह
ढल्केबर, वैशाख ८ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिका–६, सखुवा बजारकी दुखनीदवी पासवान काम पाउँदा खुसी देखिनुभएको छ । सङ्घीय सरकारले स्थानीय तहमार्फत सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उहाँले काम पाउनुभएको हो ।
जनकपुर–ढल्केवर सडकखण्डको मध्यभागमा पार्क क्षेत्रमा वृक्षरोपणका लागि खाल्डो खन्दै गरेको अवस्थामा भेट्नुभएकी पासवानले आफ्नै गाउँघरमा निश्चित अवधिका लागि पाएको रोजगारीले घरखर्च चलाउन सहज भएको बताउनुभयो । केही समयअघिसम्म बिहान बेलुकाको छाक टार्न हम्मे–हम्मे परेको उहाँको परिवारलाई अहिले यो कार्यक्रमले केही राहत दिएको छ । उहाँ अहिले वडा नं ६ अन्तर्गत मजदुरीको काममा खटिरहनुभएको छ ।
उहाँले भन्नुभयो, “रोजगारी पाएपछि खुसी लागेको छ । अब हामी पनि परिवारको आर्थिक सहारा बन्न सकेका छौं ।" प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएपछि यसको ज्यालाबाट घरखर्च चलाउन सहज भएको उहाँको भनाइ छ ।
यसैगरी, शोभादेवी पासवान पनि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार पाउने श्रमिकमध्ये एक हुनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले घरमा त्यतिकै बस्नुपरेको थियो तर अहिले काम पाउँदा व्यस्ततासँगै आर्थिक आम्दानीको स्रोत जुटेको छ । श्रीमानको एक्लो कमाइमा पाँच सदस्यको परिवार पाल्न गाह्रो हुन्थ्यो तर अहिले यो रोजगारीले राहत दिएको छ ।” यो रोजगारी सधैंका लागि हुनुपर्ने उहाँको भनाइ छ ।
अर्का एक श्रमिक रामदयाल सदाले पहिले खेतबारी र घर निर्माणका लागि अस्थायी लेबर काम गर्दै आएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “पहिला गाउँमा खासै काम पाइँदैनथ्यो । महिनाको १०–१२ दिन मात्रै काम पाइन्थ्यो ।" त्यो पनि कहिलेकाहीं काम खोज्न गाउँबाहिर जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छिरेश्वरनाथ नगरपालिकामा महिला, दलित, जनजाति र विपन्न वर्गले रोजगारी पाएका छन् । रोजगारीको अवसर मिलेकोमा स्थानीय निकै सन्तुष्ट देखिन्छन । चालु आर्थिक वर्षमा छिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ मा मात्र विगत ११ दिनदेखि ४० जना कार्यरत छन् ।
रोजगार सेवा केन्द्रका प्राविधिक सहायक विनोदकुमार यादवका अनुसार एक जनाले दैनिक ६६८ रुपियाँ पारिश्रमिक पाउने व्यवस्था गरिएको छ । उहाँले कार्यक्रम विशेषतः विपन्न वर्ग, महिला, एकल महिला, दलित र जनजातिलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाका ५,७ र ९ नम्बर वडामा पनि यो कार्यक्रम सञ्चालन गरिने तयारी भइरहेको बताउनुभयो । कार्यक्रम अन्तर्गत वृक्षरोपण, नाला तथा सार्वजनिक स्थान सफाइ, धार्मिक स्थलको सरसफाइ र सौन्दर्यकरणका काममा श्रमिक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
नगर प्रमुख सुखदेव यादवले बेरोजगार सूचीमा सूचीकृत व्यक्तिलाई प्राथमिकताको आधारमा रोजगारी प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सङ्घीय सरकारको कार्यक्रमलाई प्रभावकारी बनाउँदै बेरोजगारलाई गाउँमै काम दिने प्रयास गरेका छौं । एकै पटक सबैलाई रोजगारी दिन नसकिने भए पनि बजेट वृद्धि र कार्यक्रमको दायरा विस्तार गरेर अझ धेरै जनतालाई समेट्ने सकिन्छ ।” उहाँले यो कार्यक्रम प्रभावकारी बन्दै गएको समेत उल्लेख गर्नुभयो ।
स्थानीय युवा सितेशकुमार झाले प्रधानमन्त्री रोजगार कार्यक्रम विपन्न परिवारका लागि निकै लाभदायक भएको बताउनुभयो । उनका अनुसार यो कार्यक्रम जिल्लाका सबै पालिकामा लागू गरिएको भए पनि धेरैजसो पालिकाले आफ्ना कार्यकर्तालाई नाम मात्रको काम गराएर बजेट खर्च गर्ने गरेका छन् । विगतमा यस पालिकामा पनि यस्तै अवस्था थियो तर अहिले सुधार हुँदै गएको उहाँको भनाइ छ ।