साहारा लिम्बू
फुङ्लिङ, वैशाख ८ गते । लत्रिएको बिजुलीको तार गुडिरहेको बोलेरो गाडीमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । पाथिभरा दर्शनका लागि जाँदै गरेको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा दुई जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो ।
जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि उहाँहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार गम्भीर घाइते भएका ललितपुरका ४५ वर्षीया सबिना आचार्य र १० वर्षीय नाति अभियम आचार्यलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । सोमबार बिहान फुङलिङ नगरपालिका १० को सेवारो चोकमा फुङलिङ बजारबाट पाथीभरा दर्शनका लागि जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा आगलागी भएको थियो । आगलागीमा परेर चालकसहित चार जनाको मृत्यु भएको भएको थियो ।
मृत्यु हुने तीन जना एकै परिवारका रहनुभएको छ । मृतक झापा जिल्लाको भद्रपुर नगरपालिका १५ का ७० वर्षीय विनोद पौडेल, उहाँकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र छोरीतर्फकी नातिनी ललितपुर जिल्लाको ललितपुर नगरपालिकाकी वर्ष १६ की आध्या आचार्य रहनुभएको छ ।
मृतक आध्यालाई पनि काठमाडौँ लाने भनिएको, तर हेलिकोप्टरमा क्षमता नभएका कारण नलगिएको बताइएको छ । विनोद र सरिताको शव बुझ्न आफन्त ताप्लेजुङ आउँदै रहेको बताइएको छ । शव जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ ।
त्यस्तै, दुर्घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराईको पनि मृत्यु भएको छ । पाथीभरा दर्शनका लागि आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुग्नुभएका उहाँहरु होटेल प्यारिजमा बसेर सोमबार बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि हिँडेको होटेल प्यारिजका सञ्चालक सविन बानियाँले बताउनुभयो ।