• ७ वैशाख २०८२, आइतबार

विदेशको रहर मारेर गाउँमै कृषि पेसा

blog

प्रनिश गिरी

कुस्मा (पर्वत), वैशाख ७ गते । पर्वतको ज्योतिष गाउँ भनेर चिनिँदै आएको पाङगाउँका धेरै जसो युवा कामको खोजीमा विदेश गएका छन् । गाउँमा हरेक घरका एक युवा विदेश हिँडेपछि सामाजिक कार्य गर्नुपर्दा युवा देखा पर्न छोडेको अवस्था छ । गाउँका धेरै युवा विदेशमा पसिना बगाउँदै गर्दा यहाँका दुई दाजुभाइ भने गाईभैँसीपालन र केरा खेतीमा व्यावसायिक रूपमा लागेका छन् । उमेरले तीन दशक टेक्दै गरेका रामकृष्ण दास वैरागी र नारायण दास वैरागीले विगत चार वर्षदेखि गाउँघरमै कृषि पेसाबाट मनग्गे आम्दानी गर्दै आएका छन् ।  

अघिल्लो वर्ष सबै खर्च कटाएर दुध बिक्रीबाट मात्रै १८ लाख रुपियाँ बचत गरेको कृषक नारायण दास वैरागीले बताउनुभयो । वैरागी दाजुभाइले केरा खेतीबाटसमेत प्रशस्तै आम्दानी गरेका छन् । भदौदेखि यता करिब १२ लाख रुपियाँ मूल्यको केरा बिक्री भइसकेको छ । केरा खेतीबाट मासिक डेढ लाख रुपियाँ कमाइ गर्ने लक्ष्य रहेको वैरागी दाजुभाइको भनाइ छ । कुस्मा नगरपालिका–१ मा रहेको टार वैरागी थरका कृषक दाजुभाइ दुवै काठमाडौँमा पढेर गाउँ फर्किएका युवा हुन् । 

उमेरले ३४ वर्षका रामकृष्ण दास व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण छन् भने ३२ वर्षका नारायण दास पढेलेखेका युवा हुन् । शङ्करदेव क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका रामकृष्ण दास जागिर गर्ने र विदेश जाने भन्ने चक्करतिर नलागेर मुलुकमै केही गर्ने सोचमा लागेको बताउनुहुन्छ । केही समयको खोजी र अध्ययनपछि गाउँमै केही गर्नु पर्छ भन्ने सोच राखेका रामकृष्ण दासले गाईभैँसीपालनसँगै केरा खेती व्यवसायमा सम्भावना देखे । वैरागी दाजुभाइले गाईभैँसीपालनमा ३५ लाख र केरा खेतीमा एक करोड गरी जम्मा एक करोड ३५ रुपियाँ लगानी गरिसकेका छन् । कृषिमा लगानी गरेको रकममध्ये एक करोडभन्दा बढी रकम उठाइसकेको कृषक दाजुभाइको भनाइ छ । काठमाडौँमा बिएस्सी अध्ययनरत भाइ नारायण दासको मनमा पनि पढेर टप गर्न नसक्ने भएपछि सामान्य तवरले पास गर्नतिर लाग्नुभन्दा गाउँ फर्किएर दाजुसँगै कृषि पेसामा नै लाग्न मनले उचित ठानेको बताउनुभयो । दुई दाजुभाइ नै खेतीपातीमा लागेपछि व्यवसाय विस्तारमा थप सहज भयो । वैरागी दाजुभाइले आफ्नो २० रोपनी र भाडामा लिएको छिमेकीको १३० रोपनी जग्गामा केरा खेती विस्तार गरेका छन् ।

वैरागी दाजुभाइले आफ्नो फार्ममा गाई र भैँसी गरी १८ वटा पशुपालन गरेका छन् । बिहानैदेखि गाईगोठको काम सुरु हुन्छ । कृषक रामकृष्ण दास भन्नुहुन्छ, “दुध र केराको बजारको कुनै समस्या छैन । बागलुङ र कुस्मा बजारमा रहेका उपभोक्ताको घरमा नै हामी आफैँले दुध पुर्‍याउँछौँ । उपभोक्ता पनि खुसी हुनुहुन्छ । स्थानीय हजारी जातको केरा मिठो स्वादिष्ट छ । अर्गानिक जातको केरा बिक्री गर्न कुनै समस्या छैन ।” केराको घारी काटेपछि रहेको केराको थाम र पात धानको परालमा मिलाएर गाईभैँसीलाई खानाका रूपमा खुलाउँदा खर्च कम आउने गरेको छ । केरा खेतीका लागि आफ्नै गाईभैँसीपालनका कारण मल प्रयोग गर्न सजिलो भएको कृषकको भनाइ छ । गाईभैँसी पालन र केरा खेतीबाट मनग्गे आम्दानी गर्न सफल वैरागी दाजुभाइ दुवै जना कृषिकर्मबाट खुसी छन् ।