• १७ असार २०८१, सोमबार

चितवनमा एक हजार विरुवा रोपियो

blog

शालिग्राम नेपाल 

चितवन, जेठ २३ गते । विश्व वातावरण दिवसको अवसर पारेर चितवन जिल्लामा एक हजारभन्दा बढी विरुवा रोपिएको छ । जिल्लाको सामाजिक संघ सस्था तथा सरकारी कार्यालयको अगुवाइमा वृक्षारोपण गरिएको हो । 

आइतबार मात्रै राष्ट्रपति चुरे तराई मधेश विकास समिति भरतपुरले ५५० वटा विरुवा निःशुल्क वितरण गरेको थियो । ती विरुवा जिल्लाका विभिन्न संघ संस्थामार्फत वृक्षारोपणका लागि लगिएको कार्यालयका भूसंरक्षण सहायक अधिकृत निश्चल रेग्मीले जानकारी दिनुभयो । 

कार्यालयभन्दा बाहिरका निजि संस्थाहरुले पनि आफ्नो तरिकाले वृक्षारोपण गरेको जानकारी दिनुभयो । गत वर्षसम्म डिभिजन वन कार्यालय भरतपुरले विरुवा वितरण गर्दैआएको छ । यस वर्ष विरुवा हुर्किनसकेको कारण केही हप्तापछि मात्र रोप्न योग्य हुने डिजिभन वन कार्यालय भरतपुरका सूचना अधिकारी वालकृष्ण खनालले जानकारी दिनुभयो । 

राष्ट्रपति चुरे तराई मधेश विकास समिति भरतपुरले चितवनसहित नवलपरासी पूर्व, मकवनापुर, वारा, पर्सा जिल्लामा विरुवा वितरण गर्दैआएको छ । यस वर्ष मात्र एक हजार ९ सय ५ विरुवा कार्यालयमार्फत रोपिएको जानकारी दिएको छ । कार्यालय मार्फत वितरण गरिएका विरुवामा कपुर, धुपी, गुलमोहरलगायत छ । 

भरतपुर, नारायणगढ, रत्ननगरलगायतका स्थानमा रहेको नर्सरीबाट विरुवा खरिद गरेर लगेको जानकारी दिएका छन् । भरतपुरको मालिका नर्सरीका सञ्चालक जीवनाथ तिमल्सिनाले राम्रो जातका फलफुल र रुखका विरुवा एक सयभन्दा धेरै आइतबार मात्रै विक्री भएको जानकारी दिनुभयो । अन्य नर्सरीबाट पनि विरुवा खरिद गर्नेहरु रहेको उहाँले बताउनुभयो । 

यसैबीच भरतपुरको अङ्कुरम् एकेडेमीमा अध्ययरत विद्यार्थीले वडा ७ मा वृक्षारोपण गरेका छन् । विद्यार्थीले करिब पाँचसय धुपीकपुर, अमलालगायतका विभिन्न जातका विरुवा रोपेका हुन् । विद्यालय वरिपरिको वातावरण स्वच्छ र हराभरा बनाउन यस कार्य महत्वपूर्ण रहेको वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले बताउनुभयो ।

एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेलले भावी सन्ततीलाई प्रकृतिप्रेम सिकाउन र वातावरणको संरक्षणका लागि विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन विद्यालयले वृक्षारोपण गरिएको बताउनुभयो ।