• २३ असार २०८१, आइतबार

दयाराम दाहालको दुई वर्षे कार्यकाल सम्पन्न

blog

काठमाडौं, जेठ २३ गते । २०७७  साल  जेठ  २७  गतेबाट चलचित्र विकास  बोर्डमा अध्यक्षको पद सम्हाल्नुभएका दयाराम दाहालले आफ्नो दुई वर्षे कार्यकाल टुङ्ग्याउनुभएको छ । यसबीचमा दाहालले उपलब्धिमुलक कार्यक्रमको सुरुवात गरेको जानकारी दिनुभयो । आफ्नो कामको सूची बनाउँदै दुई वर्षे कार्यकाललाई कोभिड १९ महामारीले असर गरेको भएपनि विषम परिस्थितिमा नेपाली चलचित्रलाई दीर्घकालीन हित गर्ने कार्यक्रमको थालनी गरेको समेत उहाँले दावी गर्नुभयो ।  

“विश्व नै कोरोनाको त्रासमा अल्मलिएको समयमा चलचित्र क्षेत्र पूर्णरुपमा  ठप्प  थियो,  न्यून पारिश्रमिक प्राप्त गर्ने,  चलचित्रकर्मीको जीवन यापनमा उत्पन्न भएका कठिनाई थियो”, दाहाल भन्नुहुन्छ, “अध्यक्षको  रुपमा  मेरो  पहिलो  प्रयास नै चलचित्रकर्मीको जीवनयापनलाई सहज बनाउन राहत व्यवस्थापनमा केन्द्रीत भयो ।” 

दाहालका अनुसार त्यो समयमा विदेशी चलचित्रको प्रदर्शनबाट प्राप्त  हुने  विकास  शुल्कका  भरमा  चल्ने  चलचित्र  विकास  बोर्ड  पनि  स्रोतशुन्य  अवस्थातिर गएको थियो । 

“मेरो कार्यकालको लगभग १६ देखि १७ महिना लकडाउन र बन्दाबन्दीमै बित्यो । हामीले देशभरि चलचित्रसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अवस्था रहेन तैपनि अनुकुल समयमा त्यस्ता कार्यक्रमलाई पनि अगाडि बढाउँदै नीतिगत रुपमा चलचित्र क्षेत्रलाई दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विभिन्न योजनाहरुलाई बोर्ड मार्फत स्थापित गर्न सफल भएका छौं ।” राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा स्थापित गरेको कार्यक्रम र योजनाहरुले आगामी दिनमा चलचित्र क्षेत्रलाई अझै उचाइमा पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

बोर्ड अध्यक्ष दाहालले चलचित्र विकास बोर्डमा पटकथाको संकलनका लागि भन्दै स्टोरी बैंकको अवधारणा लागू गर्नुभएको छ । स्टोरी बैंकले मौलिक तथा कलात्मक चलचित्रलाई बोर्डले पुरस्कृत गर्ने र निर्माणमा सघाउने उद्देश्य राखेको उहाँले बताउनुभयो । यसले मौलिक चलचित्र लेखनलाई प्रोत्साहित गर्ने र फिल्म निर्माणमा सरकार पनि अप्रत्यक्ष रुपमा संलग्न हुने हुनाले यसको महत्व रहेको उहाँको भनाई छ ।  

यस्तै, बोर्डले विदेशी फिल्म फेस्टिभलमा छनौट हुने फिल्म र फिल्मकर्मीलाई पनि आर्थिक सहायताको व्यवस्था गरेको छ । बोर्ड अध्यक्ष दाहालले फिल्मकर्मीसँग विदेशका फिल्म फेस्टिभलमा सहभागी हुन नपाएको अवस्था भएकाले बोर्डले विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा जाने फिल्मकर्मीलाई टिकट खर्च आदि दिने व्यवस्था सुरु गरेको हो ।

दाहालले बालबालिकालाई नेपाली फिल्मप्रति आकर्षित गराउन बाल चलचित्र समिति गठन गरी काम सुरु गरेको र यसले भविष्यका दर्शक र फिल्मकर्मी तयार गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । दाहालकै पहलमा प्लस टु तहमा नेपाली सिनेमाको पढाइ पनि सुरु भएको छ । 

यस्तै, दाहालले काभ्रेको साँगामा इन्डोर स्टुडियो बनाउने काम अघि सार्नुभएको छ । यसकलागि सरकारले  भर्खरै  जारी  गरेको  बजेटमा  पनि  यसको  निर्माणका लागि बजेट बिनियोजन गरेको उहाँको भनाई छ ।  

यससँगै नीतिगत निर्णयकै कुरा गर्दा दाहालले कोभिड प्रभावित फिल्मकर्मीलाई राहत वितरण, प्रोजेक्ट बिमाको सुरुवात, स्वास्थ्य बिमा कार्यक्रम, अध्ययन अनुसन्धान शाखाको स्थापना, चलचित्रकर्मी विपद कोषको स्थापना, सामाजिक सुरक्षा योजना, घुम्ति सिनेमा तथा सिनेमा साक्षरता कार्यक्रम, नेपाली सिनेमाको इतिहासको माइलस्टोन निर्धारण, बक्स अफिसको डाटा रिकभरी सेटअप तथा अनलाइन दर्ता, डाटाबेस सञ्चालन, पहिलो चरणको डिजिटाइजेसन सम्पन्न, तालिम तथा फिल्म फेस्टिभलसँग् सहकार्य, नयाँ चलचित्र घरलाई भन्सार, चलचित्र विधेयक पारितजस्ता काम अघि सार्नुभएको छ । 

अध्यक्ष दाहालले कोभिडका कारण डेढ वर्ष हल खुलाउन दौडँदैमा बितेको र बाँकी समय चलचित्रकर्मीलाई यो पेसाबाट विमुख नहुन् भनेर राहतका लागि सक्रिय रहँदा सोचेका धेरै काम गर्न नसकेको बताउनुभयो । 

‘चलचित्र विधेयक अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त गर्न कानुन मन्त्रालय जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । चलचित्र नीति पनि यसैगरि मन्त्रालयमा अड्किएको उहाँको भनाई छ । मेरो कार्यकालमा यी दुई काम गर्न नसकेकोमा भने दुःख लागेको उहाँले सुनाउनुभयो ।