• ३ असोज २०८२, शुक्रबार

असल नागरिकको कर्तव्य

blog

हरेक मानिस समाजमा जन्मिन्छ, हुर्कन्छ, वयस्क, वृद्ध हुँदै मृत्युवरणमा पुग्छ । मानिस वयस्क अवस्थासम्म पुग्न निजका आमा बुबाको भूमिका र कर्तव्य त रहन्छ नै, त्यसका अलवा ऊ जन्मिएको घर, परिवार, गाउँ, समाज र समग्रतामा भन्दा राष्ट्रको समेत लगानी रहेको हुन्छ । त्यसैले उसलाई उक्त देशको नागरिक भनिन्छ । नागरिक भन्नु राष्ट्र र व्यक्तिबिचको औपचारिक सम्बन्ध हो । एउटा मान्छे नागरिक त्यति बेला हुन्छ, जति बेला कानुनी तथा संवैधानिक रूपमा मान्यता प्राप्त गर्छ । मान्छे कानुनी हिसाबले कुनै देशसँग प्रत्यक्ष सम्बन्ध हुँदैन भने त्यो अवस्थामा उसलाई नागरिकता नभएको मान्छे भनिन्छ । नागरिकता पाएको व्यक्तिलाई मात्र नागरिक भनिन्छ । नागरिक भइसकेपछि अधिकार र कर्तव्य दुवै हुन्छन् । नागरिकसँग मतदान गर्ने, कानुनी संरक्षण, राज्यलाई कर तिर्नु, संविधानको पालना गर्नु जस्ता विषय जोडिएका हुन्छन् ।

भनिन्छ हरेक अधिकार खोज्नेहरूले कर्तव्य पनि पालन गर्नु पर्छ । यस्तो पक्षको जानकारी पाउन नागरिकलाई नागरिक शिक्षाको आवश्यक पर्छ । नागरिक शिक्षा समाजमा जन्मने प्रत्येक नागरिकले आफ्नो कर्तव्य, अधिकार, मूल्य, मान्यता, जिम्मेवारी र राष्ट्रप्रतिको दायित्व बुझ्ने विधि तथा अध्ययनलाई भनिन्छ । नागरिक समाजमा रहेपछि सहिष्णुता, सहयोग, समानता, सहअस्तित्वसँगै जोडिनु पर्छ भने एउटा राष्ट्रको नागरिकले राष्ट्रिय एकता, सार्वभौमिकता र संस्कृति जोगाउने काममा लाग्नु उसको जिम्मेवारी रहन्छ ।

सुशासन प्रत्याभूतिको माग राख्दै जेनजी समूहको प्रदर्शनबाट सुरु भएको घटनाक्रमले एउटा हृदयविदारक मोडमा देशलाई पु¥यायो । उक्त घटनामा धेरै नागरिकको ज्यान गयो । अझ भनौँ सहादत प्राप्त गरे भने कैयौँ घाइते भए र उपचारको अवस्थामा अस्पतालका शøयामा छन् । देशको आत्माको रूपमा रहेका तीन वटा निकाय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि एकै पटक आक्रमण भयो र देश गम्भीर मोडमा पुग्यो । ठुला दुई राजनीतिक दलको गठबन्धनबाट बनेको करिब दुई तिहाइको सरकार ढल्यो । संसद् विघटनसँगै छ महिनाभित्र निर्वाचन सम्पन्न गर्न अन्तरिम सरकारको गठन भइसकेको अवस्था छ । यो किन र कसरी भयो अनुसन्धानको पाटो होला तर प्रश्न यति हो, देशको नागरिकबाट यो सबै कसरी हुन सक्छ ? के का लागि यो नरसंहार भयो ? यी प्रश्नको जवाफ समयले खाज्ने छ र दोषीमाथि कारबाही हुनु पर्छ । अहिले यो घटनाको प्रकृति हेर्दा के जेनजी समूहको उद्देश्य यस्तै गर्नका लागि थियो वा थिएन सोचनीय विषय बनेको छ । यस्ता कार्यमा संलग्न हुन देशको असल नागरिकलाई शोभा दिँदैन र ती कलिला हातहरू देशलाई खरानी बनाउने 

कुकर्ममा पक्कै लागेनन् होला । नागरिक शिक्षाको ज्ञान भएका नेपाल आमाका छोराछोरीले यस्ता विषयको मनन गरी आज आमाको अवस्था कमजोर भएका बेला यसरी आफ्नो भूमिका निभाउनु पर्छ ।

सकारात्मक भाष्यको निर्माण : आजको यो परिस्थिति सिर्जना यत्तिकै भएको होइन किनकि पटक पटक नागरिकका आशा तुषारापात भयो । झुटा सपनाको पुलिन्दा बनाएर कैयौँ पटक दशकौँसम्म आफ्ना स्वार्थको घैटो भर्न तल्लीन नेतृत्वको कारण जनतामा नैराश्यताको सिमा नाघ्यो, जसले गर्दा नकारात्मक भाष्य निर्माण भइरहेको थियो । यो अब बन्द हुन जरुरी छ । देशको तरल राजनीति, कमजोर आर्थिक पक्ष, धेरै किसिमका समस्याको बिचमा रहे पनि हामीले खाएको ठक्कर, धोका, खबरदारी गर्न नसकेको अवस्थालाई आत्मसात् गरेर हामी कमजोर थिएनौँ र छैनौँ भन्ने आत्मबलका साथ काम गर्न सके अबको समय उज्यालोतिर उन्मुख देखिन्छ । 

समस्या समाधान आफूबाटै : समय सधैँ एकनासको हुँदैन । कुनै समय कमजोर त कुनै बलवान्, कुनै समय सहज त कुनै असहज । कुनै समयमा अहम्ता त कुनैमा सौहार्दता, कुनै समय छटपटाहट त कुनै सोचमग्न । यस्ता विभिन्न परिस्थिति कुनै न कुनै रूपमा प्राणी जगतले भोग्नुपर्ने विषय हुन् । हो कसैले कम र कसैले बढी सामना गर्नुपर्ला । हामी देखेका सुनेका छौँ आजका विकसित भनिएका कैयौँ देश युद्धको खरानीबाट उठेर नै आज समृद्ध भएका छन् । देश सबल बन्न र बनाउन नागरिकको प्रमुख भूमिका रहन्छ । नागरिकमा यो भावना जागृत हुन सक्यो भने सुत्ने छ फिटको खाट हो, खाने एक पेट भात हो । सबैको अन्तिममा जाने घाट हो भन्ने चेत भयो भने नत स्वार्थमा लिप्त, न कर्तव्य विमुख बन्छन् । डडेलोले भग्नावशेष भएको घरमा मालिक कताबाट आउँछन् भनेर एउटा प्राणीले त आफ्नो इमानदारिता देखाउन सक्छ भने हामी मानव भएर कर्तव्य विमुख हुन छुट हुँदैन । यस घटनालाई हरेक नागरिकले राम्रोसँग मनन गर्न सक्नु पर्छ । समय बलवान् छ । नियतिले देश अहिले कठिन अवस्थामा गुज्रिएको छ यति बेला नागरिकले यो हाम्रो समस्या हो, अरूको आस गर्नुभन्दा पनि आफूले नै समाधान गर्ने हो भनी हरेक तह र तप्काबाट लाग्नु जरुरी छ ।

समयमा अग्रसरता देखाउनु : समयको महत्व बुझेर हाम्रो राजनीतिक पार्टीहरू, पार्टीका कार्यकर्ताहरू, सरकार, नागरिक समाज तथा हरेक व्यक्तिले आफ्नो जिम्मेवारीबमोजिमको काम गरी कर्तव्यतर्पm अग्रसर हुन सकेको भए आज जेनजी नामक समूह सुशासनविरुद्ध प्रदर्शन गर्न सडकमा आउनुपर्ने समय आउँदैनथ्यो । देशको समृद्धिको यात्रामा पुग्न सहज हुने थियो । हामी अरूले के गरे ? के गर्छन् ? भन्दा पनि म आफूले के गर्नु पर्छ र के गर्न सक्छु ? सोचेर अगाडि बढ्नुपर्ने शिक्षा लिएर अहिले सिर्जना भएको असहज परिस्थितिमा सहयोग गरी अगाडि बढ्नु पर्छ ।

नागरिकको आफ्नो कर्तव्य : हरेक प्राणी जगत्ले आफ्नो कर्तव्य निर्वाह गर्नु पर्छ । नागरिकको अधिकारसँगै कर्तव्य पनि रहेको हुन्छ । हरेक नागरिकले मैले के पाउँछु मात्रै होइन के दिन सक्छु भन्ने सोचको विकास गर्नु पर्छ । म एक्लैले गरेर के द्द

हुन्छ ?, म सानो तहकाले गरेर के हुन्छ ?, मेरो भूमिका सानो छ तथा नगन्य छ भन्नुभन्दा पनि हरेक तहबाट आफ्नो कर्तव्य निभाउन सक्नु पर्छ । खैर त्यो भूमिका झिनो मसिनो नै किन नहोस् भन्ने कर्तव्य बोध देशका नागरिकमा भएमा अहिलेको यो शून्यताको समयबाट जुरुक्क उठेर लम्कन सकिन्छ र भोलिका दिनमा यस किसिमका घटना हुने छैनन् ।

समयले सबैको खोजी गर्छ : सामूहिक प्रयासको क्रममा सानो पक्षको पनि सहभागिताको अपेक्षा गरिएको छ । समय आएपछि सबैको खोजी र महìव हुन्छ । उसको खोजीको कारणले अथवा उपस्थितिले उसको बारे, उसले गर्ने काम, सोच, त्यसको प्रभावसमेतको जानकारी लिएर अरूको मानसिकता र सोचमा परिवर्तन देखिएको छ । जुन अहिले भएको परिवर्तन छोराछोरी तथा नातिनातिना पुस्ताको चेतबाट सृजित भएको हो । तसर्थ समयले सबैको खोजी गर्छ, अहिले जेनजी पुस्तालाई ग¥यो । यो उपलब्धिलाई सार्थक बनाउने हामी सबै मिलेर नै हो ।

अस्तित्व सबैको समान हुन्छ : अहिलेको यो प्रदर्शनले उमेर तथा अनुभवको हिसाबले कोही ठुलो र कोही सानो होला तर अस्तित्व सबैको समान हुँदोरहेछ भन्ने पाठ सिकाउँछ । यसबाट हामी मानवले बुझ्नुपर्ने विषय, राम्रो काम सानो होस् तर त्यसको प्रभाव महत्वको होस्, जुन अरूले त्यसको अनुसरण गर्न सकून् भन्ने हो । तसर्थ आफ्नो सत्कर्ममा लाग्न छोड्नु हुँदैन ढिलो, चाँडो उसको कर्मको मूल्याङ्कन हुन्छ भन्ने सन्देश लिन सकिन्छ यस किसिमको घटनाक्रमबाट जुन विषय अहिलेको परिस्थितिमा देशलाई हाक्न सक्ने सबल नेतृत्वको खोजी भइरहँदा सीमित व्यक्तिको नामको खोजी भइरहेको छ । 

कम्प्लायन्स पूरा गर्नु : नियमहरू सबैका लागि समान हुन्छन् तथा नियमको पालना सबैले गर्नुपर्ने हुन्छ । जसरी विगतका समयमा विभिन्न शक्ति समूह, राजनीतिक पार्टी, वर्ग, जाति आदि देखिने गर्दथे । यो समय र परिस्थितिले जेनजी समूहको खोजी भयो त्यसरी नै सबै परिस्थितिमा सबैको भूमिकाको अपेक्षा गरिन्छ भन्ने पाठ पनि यो परिस्थितिले देखाउँछ । ‘कम्प्लायन्स’ सबैले पूरा गर्नु पर्छ । अनुशासन भन्ने विषय मानिसका लागि बनेको हो, तसर्थ सबैले बिर्सन नहुने विषय भनेर बुझ्नु पर्छ । ‘कम्प्लायन्स’ सुशासनको जग हो यही पालना नगर्दा आजको परिस्थिति सिर्जना भएको हो भन्दा अत्युक्ति हुँदैन । 

कामको प्राथमिकतामा जोड : जुन बेला देशमा समस्या आएको छ, त्यो समयमा देशका लागि सहयोग भएन भने नागरिकको कर्तव्य पूरा हुने छैन । आजका दिनमा पनि आआफ्नै ढोल बजाएर हिजोकै बाटो रोज्ने हो भने समयले छोड्ने छ । अबका दिनमा कुराका कामभन्दा कामका कुरामा लाग्नु महत्वपूर्ण काम हो । कामको प्राथमिकताको आधारमा हामीले आफ्ना गतिविधिलाई अगाडि बढाउन सक्नु पर्छ । फरक तरिकाबाट मात्र फरक नतिजा निकाल्न सकिन्छ, उस्तै काम तथा तरिकाबाट फरक नतिजा आउन नसक्ने हुनाले जेनजीको अहिलेको विद्रोहबाट यति शिक्षा लिन सक्यौँ भने हामी गन्तव्यको यात्रामा लाग्ने छौँ ।

यस्ता विविध पक्षलाई ध्यानमा राखेर अन्तरिम सरकार, राजनीतिक दल, नागरिक समाज, विभिन्न शक्ति समूह तथा सरोकारवाला सबैको सामूहिक एक्यबद्धताका साथ अगाडि बढ्न सक्नु पर्छ । एउटा सानो उमेर समूहको पुस्ता जो परिपक्व पनि छैन, अनुभव पनि होइन तर भूमिका सशक्त थियो खबरदारीको । जेनजी पुस्ताको भूमिका, सोच, निर्णय क्षमता, कर्तव्यबोध, तदारुकता, सजगता यति रहन्छ भने बुमर, जेन एक्स, जेन वाई समूहका मानिस जोसँग परिपक्वता, अनुभव, ज्ञान, सिप, क्षमता छ भने असम्भव भन्ने केही छैन । खरानीबाट उठेर लम्किनु छ र पुग्नु छ धेरै पर । यही सकारात्मक सोच तथा ज्ञानको अभावले आजको राष्ट्र, समाज, परिवार, व्यक्ति अशान्त र तनावग्रस्त, असन्तुष्ट, अविवेकी भइरहेका छौँ । तसर्थ हामी नागरिक भएर आफ्नो कर्तव्य पालनको बाटोमा लाग्नुको विकल्प छैन । अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने भन्ने सोचका साथ आगडि बढ्न सके समग्रमा हाम्रो भलाइ हुने छ । सरोकारवाला सबै यसतर्फ लागौँ ।