• ३ असोज २०८२, शुक्रबार

प्रदेश प्रमुखद्वारा संविधान दिवसको शुभकामना

blog

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

अनिल पराजुली
हेटौँडा, असोज ३ गते ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना दिनुहुँदै उहाँले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवस २०८२ ले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“सकारात्मक कामको पहलमा सबैको ऐक्यबद्धता आवश्यक रहन्छ । त्यसैले पनि संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारवाला सबैले आ–आफ्नो स्थानबाट पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा हार्दिक अनुरोध गर्दछु,” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएको आजको दिनलाई उत्सवको रूपमा मनाउँदै अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । यो १० वर्षको अन्तरालमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरू सम्पादन भएको स्मरण गर्नुहुँदै उहाँले संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यता समेटिएको बताउनुभयो । संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरूले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको उहाँको भनाइ छ ।

“नेपाली जनताको सङ्घर्ष र बलिदानबाट वि.सं. २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस राष्ट्रिय दिवस मनाइरहेका छौँ, यद्यपि देशको वर्तमान परिस्थिति उल्लासपूर्ण छैन, जेनजी आन्दोलनबाट भएका सबै प्रकारका क्षतिलाई परिपूरण गर्ने गरी आगामी कदम चाल्नुछ,” प्रदेश प्रमुख देवकोटाले भन्नुभयो ।

संविधान देशको मूल कानुन हो, जनताका प्रतिनिधिहरूले संविधान सभामार्फत संविधान निर्माण गरी जारी भएको आज १० वर्ष पूरा भएको स्मरण दशक पूरा भएको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाई, साथै शुभकामना व्यक्त गर्नुभएको छ ।