बागलुङ समाचारदाता
बागलुङ, वैशाख ६ गते । जिल्लाको धार्मिक पर्यटकीय गन्तव्य स्थल सर्वसिद्धिधाम पञ्चकोटको पछिल्ला दिनमा थप विकास हुन थालेका छ । स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अगुवाइमा पञ्चकोटमा धार्मिक तथा पर्यटकीय संरचना बनेपछि यसको चर्चा देशविदेशसम्म फैलिएको छ । कुवेरधाम पञ्चकोटको नजिकै भएर पनि गुमनाम जस्तै भएको छ ।
ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर नामकरण गरिएको सर्वसिद्धिधाम पञ्चकोटमा दैनिक जसो सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गर्छन् । कालिका मन्दिरको दर्शनपछि पञ्चकोटमा पुग्ने पर्यटकलाई कुवेरधामको यात्रा गराउन बागलुङ नगरपालिकाले त्यहाँ पर्यटकीय पूर्वाधार निर्माणको काममा साथ दिइरहेको छ । सडकमार्गको पहुँच विस्तार भएको कुवेरधाम पञ्चकोटबाट करिब तीन किलोमिटरको दुरीमा पश्चिम–उत्तरतर्फ पर्छ । बागलुङ नगरपालिका–६, मालिकाको पञ्चासेस्थित कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणको कामले गति लिएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।
कुवेरले साधना गरेको र धनकुवेर नामकरण गरी धनसंरक्षणको जिम्मा लगाइएको पञ्चासेमा हिमालयन बाबाको अगुवाइमा पूर्वाधार निर्माणको काम भइरहेको छ । त्यहाँ कुवेरको ५४ फिट अग्लो मूर्तिसहित अन्य पूर्वाधार निर्माण गरिने स्वामी हिमालयन बाबाले जानकारी दिनुभयो ।
कुवेरधाममा कुवेरको मूर्तिसहित अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न नगरपालिकाको सहयोगमा विस्तृत आयोजना प्रतिवेदन निर्माण गरिएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट प्राप्त १० लाख रुपियाँ बजेटबाट मन्दिरलगायतका संरचना बनाउन थालिएको वडाध्यक्ष हरिप्रसाद शर्माले बताउनुभयो । कुवेरधाममा मूर्ति, सिस महल, जनकल्याण भवनलगायतका धार्मिक संचना निर्माण गर्न नौ करोड ६४ लाखको डिपिआर तयार गरिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
कुवेरधामको केही तल रहेको मालिका भगवती मन्दिरमा पनि अहिले पुनर्निर्माणको काम चलिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५४ लाख रुपियाँमा पुनर्निर्माण थालिएको हो । दिव्य शिलालाई घेरेर ढुङ्गा र काठबाट कलात्मक रूपमा प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खिम सापकोटाले जानकारी दिनुभयो ।
मन्दिर परिसरमा सत्तल र खेलमैदानलगायत पूर्वाधार निर्माण गर्ने समितिको योजना छ । धार्मिक पर्यटनमा नयाँ सम्भावना बोकेका कुवेरधामलाई पञ्चकोट, मालिका भगवती मन्दिर र संसारकोटसँग जोडेर धार्मिक सर्किटको विकास गर्ने नगरपालिकाको योजना रहेको नगर उपप्रमुख खड्काले बताउनुभयो ।