• ६ वैशाख २०८२, शनिबार

प्राथमिकतामा स्वास्थ्य क्षेत्रको सुधार

blog

तस्बिर : जीवछ यादव मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह सिराहास्थित प्रादेशिक अस्पतालमा बिहीबार राति अनुगमन गर्नुहुँदै ।

लहान समाचारदाता

लहान, वैशाख ६ गते  । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले स्वास्थ्य क्षेत्रको सुधार मधेश प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । सिराहा सदरमुकामस्थित प्रादेशिक अस्पतालको बिहीबार राति अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । बिहीबार राति अस्पताल पुग्नुभएका मुख्यमन्त्री सिंहले अस्पताल प्रवेश गरी सरसफाइ, कार्यसूची अनुसार कार्यमा उपस्थित कर्मचारी, उपलब्ध उपकरणको उपयोगिता, आकस्मिक कक्ष, ल्याब र बिरामीको अवस्थाबारे सत्यतथ्य बुझ्न अनुगमन गरेको बताउनुभयो । 

अनुगमनपछि मुख्यमन्त्री सिंहले अस्पतालको भौतिक विकास र जनशक्ति आपूर्तिका लागि प्रदेश सरकारले आउने बजेटमार्फत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा उपलब्ध महँगो र अति उपयोगी उपकरणहरूको प्रयोग नभइरहेको र सहुलियतमा अस्पतालभित्रै हुने जाँचहरू अस्पतालबाहिर गराउँदा चर्को मूल्य तिर्नुपर्ने गुनासो आएपछि यो अनुगमन गरिएको हो । अनुगमनपछि अस्पतालको सुधार हुने अपेक्षा गरेका छौँ ।’’

 प्रदेश सरकार स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सामाजिक न्यायका लागि काम गर्न माहोल बनाउने क्रममा प्रदेशको दर्जनौँ स्वास्थ्य संस्था तथा अस्पतालमा अनुगमन गर्ने कार्य जारी राखेको मुख्यमन्त्री सिंहले बताउनुभयो । मुख्यमन्त्री सिंहले भन्नुभयो, “सिराहामा दुई वटा प्रादेशिक अस्पतालको सेवासुविधा प्रभावकारी बनाउन आवश्यक उपकरण र शøया थप्न, औषधी व्यवस्थापन र कर्मचारी आपूर्तिलाई ध्यानमा राखेर स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन हुने र त्यसका लागि वर्तमान अवस्था बुझ्न अनुगमनलाई निरन्तरता दिइका छौँ ।’’

मुख्यमन्त्री सिंहले अस्पताल सुधारका लागि गरिरहेको अनुगमन जनपक्षीय कार्य भएको भन्दै नागरिक अगुवा राजु विश्वकर्माले स्वास्थ्य क्षेत्रमा लगानी अनुसारको निगरानी बढाइरहने हो भने जिल्लाबाहिर गएर लिइनुपर्ने स्वास्थ्य सेवा आफ्नै ठाउँमा पाउँदा सर्वसाधारण विपन्न दलितहरू लाभान्वित हुने बताउनुभयो । 

अनुगमनका क्रममा अस्पतालमा दैनिक तालिका अनुसार चिकित्सकहरू कार्य क्षेत्रमा सक्रिय रहेको, सरसफाइसमेत व्यवस्थित रहेको, स्वास्थ्य सेवा लिनेको चाप बढिरहेकाको र प्रादेशिक अस्पतालमा जनशक्तिको अभावबारे मुख्यमन्त्री सिंहलाई अस्पताल प्रशासनले जानकारी गराइको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुनील कुसवाहले जानकारी दिनुभयो ।