किएभ, वैशाख ५ गते । किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको बताएको छ । यो तीन हप्तामा दोस्रो पटक स्वदेश फिर्ता भएको हो ।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेदेखि युद्धका बन्दी र युद्धमा मरेका कैदीहरूको आदानप्रदान दुई पक्षबीचको सहकार्यको एउटा दुर्लभ क्षेत्र रहेको छ ।
“स्वदेश फिर्ता गर्ने गतिविधिहरूको परिणाम स्वरूप नौ सय नौ युक्रेनी रक्षकको शव युक्रेनमा फिर्ता गरियो”, युक्रेनी सरकारी एजेन्सी, युद्धका कैदीहरूको उपचारका लागि समन्वय मुख्यालयले सामाजिक सञ्जालमा भनेको छ ।
रुसले सामान्यतया आफ्ना शवहरू फिर्ताको घोषणा गर्दैन वा युक्रेनमा लडिरहेका आफ्ना सैनिकहरूको सङ्ख्याबारे अद्यावधिक जानकारी दिँदैन ।
तर रूसी मिडिया र सैन्य ब्लगरहरूले आक्रमणको निरीक्षण गर्ने संसदीय समितिका सांसद शमसेल सारालिभलाई उद्धृत गर्दै मारिएका ४१ जना रूसी सैनिकको शव फिर्ता गरिएको बताएका छन् ।
यो आदानप्रदान अमेरिकी नेतृत्वको दुई पक्षबीच युद्धविराम गराउने प्रयास अवरुद्ध भएजस्तै देखिएको बेला भएको हो ।
दुवै पक्षका दशौँ हजार मारिएको व्यापक रूपमा अनुमान गरिएको छ । यद्यपि कुनै पनि देशले नियमित अपडेटहरू प्रदान गर्दैनन् ।
फेब्रुअरीको मध्यमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी प्रसारणकर्ता एनबिसी न्युजलाई आफ्ना ४६ हजारभन्दा बढी सैनिक मारिएको र करिब तीन लाख ८० हजार घाइते भएको बताउनुभएको थियो ।
सन् २०२२ को शरद ऋतुदेखि रुसले आफ्नो क्षतिको बारेमा रिपोर्ट गरेको छैन । उक्त समयअघि उसले छ हजारभन्दा कम सैनिक मारिएको बताएको थियो ।
मिडियाजोना र बिबिसीको रूसी सेवाले चलिरहेको अनुसन्धानले सार्वजनिक रूपमा उपलब्ध स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा युद्ध सुरु भएदेखि करिब एक लाख मृत रूसी सैनिकको नाम पहिचान गरेको छ । रासस, एएफपी