अमरराज नहर्की
तनहुँ, वैशाख ४ गते । तनहुँमा २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत शनिबार र आइतबार सो सङ्ख्यामा खुवाइने भएको प्रादेशिक स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जिल्लामा भिटामिन ‘ए’ खाने ६ महिना देखि पाँच वर्ष मुनि उमेरका २२ हजार चार सय तीन बालबालिका रहेको प्रादेशिक स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्रबाबु अधिकारीले जानकारी दिनुभयो । सो कार्यक्रममा १ वर्ष देखि माथि पाँच वर्ष मुनिका १९ हजार सात सय १४ बालबालिकालाई जुकाको औषधी पनि खुवाइने भएको छ ।
तनहुँ जिल्लामा रहेका १० वटा पालिकामा दुई सय ३० वटा स्वास्थ्य संस्थामा चार सय ७६ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत खुवाउने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । छुटेका बालबालिकालाई, प्रत्येक टोलमा पुगेर स्वएम् सेविकाले खुवाउने अधिकारीले जानकारी दिनुभयो ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्युनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधी विसं २०५६ बाट खुवाउन थालिएको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।
सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागु गरिएको हो । जुका नियन्त्रण तथा रोकथामका लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधी खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागु गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।