• ६ वैशाख २०८२, शनिबार

तीर्थस्थलको प्रचारमा धार्मिक गुरु र जनप्रतिनिधि

blog

धार्मिक गुरु र जनप्रतिनिधि पशुपति क्षेत्रमा प्रचार सामग्री बाँड्दै ।

बाबुराम कार्की

वराहक्षेत्र, वैशाख ४ गते  । वराहक्षेत्रधामको प्रचारप्रसार गरी धार्मिक पर्यटक भित्त्याउन धार्मिक गुरुहरू लागि पर्नुभएको छ । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको तीर्थको प्रचारप्रसारमा धार्मिक गुरुदेखि जनप्रतिनिधिसम्म लागिपर्नुभएको हो । 

कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को जानकारीसहित वराहक्षेत्र मन्दिरको प्रचारप्रसार गर्न वराहक्षेत्र मन्दिरका सेवक पण्डित योगेश भण्डारीको नेतृत्वमा मुलुकका विभिन्न मठमन्दिर र शक्तिपीठमा प्रचारप्रसार गर्न थालिएको हो । काठमाडौँको पशुपति क्षेत्रमा वराहक्षेत्र धामसहित पूर्वी नेपालका शक्तिपीठबारेमा प्रचारप्रसार गरी धार्मिक पर्यटकलाई निमन्त्रणा गरिएको पण्डित योगेश भण्डारीले बताउनुभयो । उहाँका अनुसार वराहक्षेत्रधामको महिमासहित गुप्तवराह, औलिया मठलगायत मठमन्दिरबारे पशुपति क्षेत्रमा आएका श्रद्धालुहरूलाई प्रचारप्रसार सामग्री वितरण गरिएको हो । 

प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्रधाममा रहेको वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई वराह भगवान्ले जङ्गली जनावर बदेलको रूप धारण गरेर संसारभरका प्राणीको रक्षा गरेको हिन्दुशास्त्रमा वर्णन गरिएको छ । प्रथम श्राद्धस्थल तथा कोका कौशिकी महिमा शास्त्र अनुसार संसारका सारा तीर्थमा एक सय पटक श्राद्ध गर्दा पनि मुक्ति नपाएका पितृहरूको मुक्तिका लागि कोकाको जल छोएर नाम मात्रै उच्चारण गरे पनि मुक्ति पाइने धार्मिक विश्वास छ । भगवान् वराहले सर्वप्रथम कोका नदीको किनारमा बसेर कोकाकै जलद्वारा अर्यमादि पितृलाई योगारूढ गराउन तर्पण दिनुभएपछि संसारमा दिवङ्गत पितृको नाममा श्राद्ध गर्ने परम्परा सुरु भएको हुनाले वराहक्षेत्र आदिश्राद्धस्थल मानिएको बताइन्छ । 

पूर्वीय सभ्यता र संस्कृतिको धरोहरका रूपमा कौशिकी तटको किनारमा रहेको वराहक्षेत्र मन्दिर, गुप्तवराह मन्दिर र चतरा क्षेत्रमा रहेको २६६ वर्ष पुरानो ऐतिहासिक औलिया मठको बारेमा हिन्दी र नेपाली दुई भाषामा बनाइएको प्रचार सामग्री लिएर मुलुकका विभिन्न शक्तिपीठमा आएका भक्तजनलाई जानकारी गराउन नयाँ वर्षको सुरुवातीसँगै प्रचारप्रसारमा लागेको पण्डित योगेश भण्डारीले बताउनुभयो । 

तीन हजार वर्षअगाडिको इतिहास बोकेको वराहक्षेत्र मन्दिर हिन्दु धर्मका चार प्रमुख धाममध्ये एक धामका रूपमा वराहक्षेत्र मन्दिरलाई लिँदै आएको छ । वराह भगवान्को प्रथम मानव पुजारी औलिया बाबाको पुकारमा गुप्तवराहमा वराह भगवान् हुनुभएको जनश्रुतिसहितको प्रचार सामग्री वितरण गरिँदै आएको छ । प्रसार सामग्रीसहित वराहक्षेत्र–१० का वडाध्यक्ष तेजबहादुर गुरुङ, युवा समाजसेवी भीम कटुवाल, रामप्रकाश काफ्ले, हेमा दाहाल खतिवडालगायत धार्मिक गुरुहरूको टोलीले प्रचारप्रसार सामग्री वितरण गरेको जनाइएको छ ।