भैरहवा समाचारदाता
भैरहवा, असार १३ गते । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृह मन्त्रालयबिच सम्झौता सम्पन्न भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र भुटानको शाही सरकारका गृहसचिव सोनम बाग्येलद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बिहीबार एक कार्यक्रमबिच सम्झौता गरिएको जानकारी दिनुभयो । उहाँले सम्झौता अनुसार लुम्बिनीको निर्धारित क्षेत्रभित्र शान्तिका अग्रदूत बुद्धको जन्मस्थलमा शान्ति र धर्मप्रति भुटानी सरकारको योगदानस्वरूप रोयल भुटानी बौद्ध मोनास्ट्री निर्माण गरिने बताउनुभयो ।
सम्झौतापत्रमा दुवै पक्षले हस्ताक्षर गरेसँगै ऐतिहासिक सम्बन्धको नयाँ अध्यायको सुरुवात भएको बताइएको छ । काठमाडौँस्थित डुसिट प्रिन्सेस होटेलमा आयोजित यो कार्यक्रम लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. लामाको नेतृत्वमा भएको थियो । उहाँले यो सम्झौतालाई दुई राष्ट्रबिचको धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा उल्लेख गर्नुभयो ।
उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध समुदायका लागि आस्थाको केन्द्र बनाउने उद्देश्यसहित लुम्बिनीमा विभिन्न मुलुकको बौद्ध सम्पदास्थल स्थापना भइरहेका बेला भुटान सरकारको सहयोग ऐतिहासिक कदम भएको बताउनुभयो । उहाँले भुटानी बौद्ध गुम्बा निर्माणले लुम्बिनीको धार्मिक विविधता र समावेशीपनमा थप उचाइ दिने विश्वास व्यक्त गर्नुभयो ।
भुटान सरकारका तर्फबाट गृह मन्त्रालयका उच्च अधिकारीले लुम्बिनीमा गुम्बा निर्माण गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्दै उहाँले यसले भुटान र नेपालबिचको पारम्परिक मित्रता अझ बलियो हुने धारणा व्यक्त गर्नुभयो । लुम्बिनी विकास कोषले पछिल्ला वर्षमा अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको महत्व विस्तार गर्ने क्रममा विभिन्न मुलुकसँग सहकार्य गर्दै आएको छ । भुटानी गुम्बाको निर्माण कामले शान्ति, करुणा र बुद्धका शिक्षाको विश्वव्यापी सन्देशलाई अझ फैलाउने अपेक्षा गरिएको छ ।