• ३ साउन २०८२, शनिबार

उद्यमी [कथा]

blog

गाउँको पुछारमा दाहिनेतिर एकतले घरमा परिवारसहित बस्थे गाने लुहार । उनको एकल घर भएको ठाउँको नाम थियो– भैसेबादा । आसपासमा अरू घर थिएनन् । एककिसिमले एकान्तबास थियो । देब्रेतिर खेतहरू थिए, दाहिनेतिर वनजङ्गल । अन्दाजी पाँच सय मिटरदेखि माथि मात्र गाउँका अन्य घरहरू थिए । अन्य बस्तीसँग जोडिनुपर्दा झन्डै आधा किलोमिटरको दुरी पार गर्नु पथ्र्यो । घरको ठ्याक्क पारिपट्टि ससाना बच्चाको मृत्यु हुँदा खड्याउने (गाड्ने) ठाउँ थियो ।

गाने लुहार बडो सज्जन थिए । उनको ज्यान हृष्ठपुष्ट र खाइलाग्दो थियो । मिलेको शरीर । मानिस हेर्दा खानदानमा जन्मेर पालितपोषित राम्रो पुगेका जस्ता देखिन्थे । कामका सिपालु । बोली व्यवहारका अति नरम । सबैका सहयोगी । खुबै मिजासिला र खुसी थिए । सभ्य, सुसंस्कृत र शालीन ढङ्गले मानिससँग संवाद गर्थे उनी । मिठो शैलीमा भलाकुसारी गर्थे ।

गाने लुहार सिपका खानी र धनी थिए । सिपयुक्त क्षमताले उनलाई स्वआर्जित र स्वाभिमानी बनाउन ठुलो मद्दत गरेको थियो । उनको सिपबिना आसपासका गाउँको दैनिकी चलाउन गाह्रो थियो । बिहानैदेखि उनको घरमा मानिसको भिड लाग्थ्यो । उनको सिप र इलमको सेवा आफ्नो गाउँ मात्रै होइन, अरू छिमेकी गाउँहरूले पनि पाइरहेका थिए । उनी बहुप्रतिभाशाली जस्ता देखिन्थे । सेवा लिन आउनेसँग एकातिर बातचित गर्दै उनी अर्कातिर आफ्नो काममा तल्लीन देखिन्थे । उनका लागि फुर्सदको समय नै थिएन । उज्यालो हुन्थ्यो भने उनी राति पनि काम गर्थे होला जस्तो देखिन्थ्यो । कामको चटारो भ्याइनभ्याइ थियो । माग अनुसार पूरा गर्न कठिन थियो । बिहानको उज्यालोसँगै उनी काममा बस्थे । बेलुका बेल बुडेर (सूर्यास्त) अँध्यारो भएपछि मात्र उनको काम सकिन्थ्यो । अझ भनौँ, उनलाई उज्यालोको समय सधैँ अपुग हुन्थ्यो । उनकी अर्धाङ्गिनी पनि सँगै बसेर सघाइरहेकी हुन्थिन् । खाना, खाजा तयार गरेर बाहिर खला (आँगन) मा ल्याएर दिन्थिन् । उनलाई बिहानको खाना र दिउँसोको खाजा पनि घरभित्र पसेर खान फुर्सद हुँदैनथ्यो । अर्धाङ्गिनीले ल्याएको खाना र खाजा खान औजारहरू एकछिनलाई थन्क्याउँथे । हतार हतार खान्थे र इलममा लागिहाल्थे । बेलुकाको खाना मात्र घरभित्र खान्थे । कामको चटारोले गर्दा रात किन पर्छ जस्तो हुन्थ्यो होला उनलाई ।

उनको हाउभाउले भन्थ्यो– खाना खाँदा पनि दिमागले हिसाब गरिरहेको छ । गणित के हो उनलाई कसरी थाहा हुन्थ्यो कुन्नि ? स्कुल, कलम, कापी नदेखेका उनी गणितज्ञ थिए । उनको काममा पाइलैपिच्छे गणितको आवश्यकता थियो । उनको कानमा एउटा लामो लामो कमेरो ढुङ्गो राखेका हुन्थे । हातले नाप्थे साप्थे भने जस्तो, चाहिए जस्तो, चाहिएको आकारमा माग भए जस्तो भाँडो बनाउँथे । कुन मानिसको माग कति पाथी, कति बोरा जाने, कस्तो भकारी चाहिएको मजाले सुन्थे । मनमनै हिसाब गर्थे । माग अनुसार लम्बाइ चौडाइ गुणाभाग गरेर त्यसको आयतन निकाल्थे । माग अनुसारको सामान बनाउने वचन र भाकासमेत दिन्थे । कामको चापले कहिलेकाहीँ भाका दिएको समयमा बनाउन उनलाई मुस्किल पथ्र्यो तर वचनका पक्का थिए । लप्पनछप्पन उनको दिमागबाट उत्पत्ति नै हुँदैनथ्यो ।

एकै पटक चारपाँच थरी माग आउँथ्यो । उनले बनाउने सामानहरू सबै बाँस र निगालाका हुन्थे । हुन त उनले फलामका औजार पनि बनाउन नजानेका होइनन् । जानेका भए पनि उनको विशेषज्ञता बाँस र निगालाका मानिसको जीवन चलाउन नभई नहुने सामान बनाउनमा थियो । उनले बनाउने डोका पनि थरी थरीका थिए । 

हटारु डोको– हिउँदमा १२/१५ दिनको बाटो हिँडेर वर्षभरिका लागि चाहिने नुन, मरमसला, लत्ताकपडा पिठ्युँमा बोकेर ल्याउन सुरुमा टनकपुर, पछि राजापुर, अनि मुडा र कटाँसे बजारसम्म पुगेर फर्किने गरी बुनिएको डोकोलाई हटारु डोको भनिन्थ्यो । यो डोको हाट जाने बेलाबाहेक अरू बेला काममा ल्याइँदैनथ्यो । यसका बाडाहरू ठिक्क पिठ्युँमा बस्ने गरी बनाइन्थ्यो । ससाना उमेरका केटाहरू पनि हाट जाने भएकाले उनीहरूको उचाइ अनुसारको पनि बनाउनु पथ्र्यो । यो हटारु डोको मानिसको शरीरमा भारीको सन्तुलन मिल्ने गरी बुन्नु पथ्र्यो । डोकाको सन्तुलन शरीरसँग नमिलेमा बोक्न गाह्रो मात्र हुन्थेन, मानिस लडेर ज्यान जान पनि सक्थ्यो । बडो वैज्ञानिक तरिकाले बुनिएको हुन्थ्यो । हटारुको काम हिउँदमा हुने भएकाले यो डोकाको माग कात्तिकतिर बढी हुन्थ्यो । वर्षको एक पटक हाट गएर फर्केपछि यो डोको जतन गरेर अर्को पटकका लागि राखिन्थ्यो ।

पस्से डोको– यो डोको गाईवस्तुको मल बोकेर खेतबारीमा पुर्‍याउन बनाइएको डोको हो । यसका पनि मानिसको ज्यान र बर्गत अनुसार विभिन्न आकारका बनाउने काममा उनले माग अनुसार पूर्ति गर्थे । 

स्याउले डोको– यो डोको गाईवस्तुको गोठमा न्यानो पार्न र मल बनाउन वनजङ्गलमा गएर रुखका सुकेका पात ल्याउन बुनिएको आकारमा धेरै ठुलो डोको हो । 

घाँसे डोको– बर्खाको सुरुआती दिनमा पलाएका दावा घाँस काटेर ल्याउन बनाएको डोको आकारमा मझौला खालको हुन्थ्यो । 

उनले बनाउने अर्को थरी थियो– कोठो/कोर्को (भकारी) । किसानले खेतबारीबाट उत्पादन गर्ने अन्न सुरक्षित तवरले भण्डारण गर्न एक मुरीदेखि बढीमा छ/सात मुरीसम्म

अट्ने खालको कोठो बुन्न तल्लीन हुन्थे उनी । यो पनि किसानको आवश्यकता अनुसार माग गरेबमोजिम बनाइदिन्थे । धान कुटेर बनाएका चामल राख्न बाँस वा निगालाका चोयाबाट सर्पु बुन्थे उनी । एकअर्कालाई सापटी, अ‍ैँचोपैँचो, भुड दिन वा अनाज बेचबिखन गर्दा नापको आवश्यकता पूर्ति गर्न बाँस र निगालाका माना र पाथी पनि बुन्ने गर्थे । उनले बनाएका मानापाथीको मापन र सरकारद्वारा बनाइएका मानापाथीको मापनमा सानो अंश पनि फरक पर्दैनथ्यो । जस्ताको तस्तै दुरुस्त बनाउन सिपालु थिए गाने लुहार ।

बर्खामा पानी परेको बेला वा घाम नलागेको बेला पनि घरायसी खानपानमा असर नपर्ने गरी व्यवस्था मिलाउन बिस्कुन सुकाउनुपर्ने अप्ठ्यारोलाई टार्न उनले भाडको निर्माण गर्थे । हरेक घरको अँगेनोमाथि राखेर अन्न अनाज सुकाउन र कुट्न वा पिस्न सजिलो उपायका लागि यो भाड अनिवार्य आवश्यकता जस्तै थियो । उनको अमूल्य सिपले मानिसका खानपानसँग नभई नहुने आवश्यकता पूरा गर्ने र गर्जो टार्ने काममा ठुलो गुन लगाएको थियो समाजमा । उनले देउताका सामानहरू घन्ट, शङ्ख राख्न र मन्दिरतिर लैजान ल्याउनका लागि कुर्भाडी बुनेर देउतालाई समेत गुन लगाएका थिए । उनी नाङ्ला र सुप्पाहरू पनि बुन्थे । अनाज गेडागुडी बत्ताउन, निफन्न र केलाउनका लागि आवश्यक नाङ्ला र सुप्पाको माग अरू थोकको भन्दा बढी हुन्थ्यो । सुप्पा पनि बत्ताउनका लागि सानो र निफन्नका लागि ठुलो गरी दुई थरीका हुन्थे । दैनिक जीवनका लागि नभई नहुने यस्ता सामानका बुनाइ र आपूर्तिले उनीप्रति समाज अनुगृहीत थियो । त्यति मात्र कहाँ हो र; दाइँ हाल्दा बल्ल (गोरु) बाट धान, गहुँ र जौ जोगाउन बल्लको मुखमा लगाउने मुगालाहरू पनि बुन्थे उनले । अन्न अनाज, दाल, गेडागुडी राख्न विभिन्न आकारका सानाठुला डाला/छाप्रा पनि बुन्थे । मानिसका घरायसी आवश्यकताका लागि यी सामान अति आवश्यक थिए । रोटी पकाएर राख्न उनले अलि चेप्टो परेको आकर्षक चित्रो पनि बुनेका हुन्थे । यो चित्रो पनि हरेक घरको आवश्यकता नै थियो । मानिसको घरका लागि चाहिने सबै सामान उनले निगाला र बाँसका चोयामा आफ्नो सिपको अद्भुत क्षमता प्रयोग गरेर तयार गरेका हुन्थे ।

उनीसँग भएको चक्कु जस्तो एउटा मात्र औजारले बाँस वा निगालाका चोया निकाल्थे । चोया निकाल्दा उनलाई नापो आवश्यक पथ्र्याे । उनी हातैले नाप्थे । नाप्ने अर्को कुनै प्रामाणिक उपकरण थिएन । हातले र औँलाले नाप्थे । कमेरो ढुङ्गाले सेतो चिह्न लगाएर नापमा सङ्केत दिन्थे । कहिलेकाहीँ माटोले पनि सङ्केतका लागि चिह्न लगाएका हुन्थे उनले । नापो अनुसारका चोया निकाल्थे । यो चोया निकाल्ने काममा उनकी धर्मपत्नीले पनि साथ दिन्थिन् । सक्ने र जानेको सबै काममा साथ दिन्थिन् उनकी पत्नी । नसक्ने र नजान्ने काममा छेउमा बसेर हौस्याएर उत्प्रेरणा दिन्थिन् । सिपयुक्त कामकी प्रेरणादायी सारथि थिइन् उनकी धर्मपत्नी । उनले बुन्ने काममा नयाँ नयाँ शैली अपनाउँथे । उनको काममा अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको प्रचुर मात्रामा प्रयोग भइरहेको थियो । फरकपनको बुनाइका डोका, डाला, कोठा, भकारी, सर्पुहरूको आकर्षकताले मानिस नयाँ खालको लिन लोभिन्थे । हरेक घरको गोठ, आँगन, भान्छा वरपर सर्वत्र गाने लुहार थिए । उनको सिप थियो । उनको गुन थियो ।

उनको सिप नै उनको कुटिर उद्योग थियो । यसैबाट उनले आफ्नो जीविकोपार्जन गरे, उद्यमशीलताको पाठ सिकाए । स्कुल देख्दै नदेखेका मानिस आधुनिक ‘म्याथम्याटिक्स’ प्रयोग गरेर विभिन्न आकारप्रकार र नापतौलका बाँस र निगालाका सामानले समाजको आवश्यकता पूरा गरे । उनले प्रयोग गर्ने गणितलाई ‘इथ्नो म्याथम्याटिक्स’ भन्नुपर्ने हुन्छ । उनले आफूलाई चाहिने कच्चा पदार्थका रूपमा घरनजिकै बाँस र निगालाको गतिलै झारी बनाएका थिए । उनीकहाँ सामान बनाउन आउनेमा कसैले आफ्नै बारीको बाँस ल्याएर चाहिएको चिज बनाइमाग्न पनि आउँथे । गाउँका अरू मानिस कमाउन कहिले कालापहाड पुगेका हुन्थे भने कहिले भारतका अरू सहरका गल्लीहरू पुगेका हुन्थे । गाने लुहार भने आफ्नो गाउँ छोडेर कहिल्यै कहीँ गएनन् । उनको लामो आयु त्यही एकतले घर र आँगनमा कर्म गरेर, कर्मको फल चाखेर बित्यो । उनलाई कहिल्यै खानलाउन दुःख भएन । उनले माग्न कहीँ कतै जानु परेन । 

काम गर्न, कसैको खेतबारी खनजोत गर्न पनि जानु परेन । उनको आँगनमा उनलाई चाहिने सबैथोक आइपुग्यो । मानिसले ल्याइपुर्‍याए । सबैभन्दा महत्वपूर्ण कुरा के भने उनले आफ्नो थातथलोबाट अर्धाङ्गिनीलाई छोडेर अलिकति परसम्म पनि जानु परेन । उनले अन्तिम सास आफ्नी अर्धाङ्गिनीको काखमा आफ्नै आँगनको पिपलको रूखमुनि फेरे । गाने लोहारको भौतिक शरीर नजिकैको तिर्खुलेनमा धुवाँमा विलीन हुँदा पनि गाउँलेले घर घरमा गाने लुहारको अनुहार देखिरहे । गाउँलेका हातहरू गाने लुहारले बुनेका डोकाडाला र नाङ्लामा सल्बलाइरहेको पाए ।