• ३ साउन २०८२, शनिबार

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी

blog

एसोसिएसनका पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाउनुहुँदै । तस्बिर : रासस

काठमाडौँ, साउन ३ गते । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाउनुभएको हो ।

डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गर्दै महासभामा सहभागी हुनुभएको हो । महासभालाई सम्बोधन गर्दै उहाँले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरूसँग आग्रह गर्नुभयो ।

साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि कार्यक्रम आयोजना गर्न नेपाल तयार रहेको उल्लेख गर्दै डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्य हुने विश्वास व्यक्त गर्नुभयो ।

डा. श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव हुनुहुन्छ । यही जुलाई १८ मा भएको उक्त महासभामा ९० देशबाट १२० जनाको सहभागिता भएको थियो । नेपाललगायत अन्य चार राष्ट्रबाट उक्त महासभामा सम्बोधन भएको थियो ।

महासभामा डा. श्रेष्ठले श्रीलङ्का, टाइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनको अध्यक्षहरूसँग भेट गरी भेटेरिनरी क्षेत्रका समस्या र एवं अवसरका विषयमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विश्व भेटेरिनरी एसोसिएसनको आगामी महासभा जापानको टोकियोमा हुने छ । नेपाल सन् १९९८ देखि विश्व भेटेरिनरी एसोसिएसनको सदस्य राष्ट्र भएको हो ।