• १३ असार २०८२, शुक्रबार

स्ट्रेचर अभावमा स्वयंसेविकालाई काममा कठिनाइ

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), असार १३ गते । तातोपानी गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर अभावले बिरामीको सेवा प्रवाहमा समस्या भएको छ । पर्याप्त स्ट्रेचर नहुँदा बिरामीलाई पिठ्युँमा बोकेर गाउँबाट सडकमा पुर्‍याउनुपर्ने बाध्यता रहेको गुनासो गरेका हुन् ।

स्वयंसेविकाले एक गाउँमा एउटा मात्रै स्ट्रेचर दिँदा समस्या रहेको बताएका छन् । एउटै गाउँमा तीन/चार सय घरधुरी छन् । दुई/तीन जना स्वयंसेविका छन् तर स्ट्रेचर एउटा मात्रै छ । तातोपानी–१, बाइराँकाकी छुमकली सार्कीका अनुसार राँका र बाइराँका गाउँको गरी एउटा स्ट्रेचर छ । एक गाउँमा बिरामी पर्दा अर्को गाउँमा स्ट्रेचर हुन्न । स्ट्रेचर नहुँदा बिरामी पिठ्युँमा बोक्नुपर्ने बाध्यता छ । दुई गाउँलाई एउटा स्ट्रेचरका भरमा चलाउनु पर्दा निकै मुस्किल परेको छ । 

तातोपानी स्वास्थ्य चौकीको तथ्याङ्क अनुसार छुमकली सार्की सबैभन्दा बढी सुत्केरी स्वास्थ्य चौकी पुर्‍याउने स्वयंसेविका हुन् । उहाँले यस वर्ष मात्रै नौ जनालाई स्वास्थ्य चौकी र नौ जनालाई कर्णाली प्रतिष्ठान पुर्‍याएर सुत्केरी गराउनुभएको छ । सबैभन्दा बढी सुत्केरी गराउन आफू सफल भए पनि स्ट्रेचरको अभावले निकै समस्या रहेको बताउनुभयो । 

त्यस्तै तातोपानी–३, लिताकोटकी विमला परियारले साविक तीन वटा वडा रहेको लिताकोट गाउँमा एउटा मात्रै स्ट्रेचर रहेको बताउनुभयो । लिताकोट गाउँमा नौ जना स्वयंसेविका छन् तर स्ट्रेचर एउटा मात्रै छ । प्रत्येक स्वयम्सेविकाको जिम्मेवारीमा रहने गरी स्ट्रेचर दिनुपर्ने उहाँको माग छ । तातोपानी गाउँपालिकाका आठ वटा वडामा ६७ जना स्वयंसेविका रहेका छन् तर स्ट्रेचर भने पर्याप्त दिइएको छैन । 

तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले नयाँ २० वटा स्ट्रेचर खरिद गरेर ल्याएकाले वितरण गरिने बताउनुभयो । संरक्षणको अभावले गर्दा स्ट्रेचर हराउने गरेका छन् । अब जिम्मेवारी तोकेर हराएमा सम्बन्धित स्वयंसेविका जिम्मेवार हुने गरी वितरण गर्ने उहाँले जनाउनुभयो । त्यस्तै तातोपानी–३ का वडाध्यक्ष गोकर्ण रावलले स्ट्रेचरको समस्या समाधानका लागि स्वास्थ्य शाखामा समन्वय गर्ने बताउनुभयो । सीमित स्रोत साधन हुने भएकाले सबै क्षेत्रमा काम गर्न कठिन रहेको उहाँको भनाइ छ ।