बबई समाचारदाता
बबई (बर्दिया), असार १३ गते । बर्दियास्थित हुलाकी राजमार्ग अन्तर्गत पर्ने गुलरिया राजापुर सडकको ओराली बजार सडकखण्डमा सिसी क्यामराबाट वन्यजन्तुको निगरानी सुरु गरिएको छ । ओराली बजार सडकखण्डको हुलाकी सडकबाट वन्यजन्तु ओहोरदोहोर गर्ने भएपछि मानव वन्यजन्तु द्वन्द्व कम गर्न र वन्यजन्तुबाट हुन सक्ने अन्य क्षति रोक्नका लागि सिसी क्यामराबाट वन्यजन्तुको निगरानी सुरु गरिएको हो ।
खाता जैविक मार्ग हुँदै बाघ, हात्ती, गैँडालगायत दुर्लभ वन्यजन्तु नेपाल–भारत ओहोरदोहोर गर्ने गर्छन् । खाता जैविक मार्ग नेपाल भारतका लागि वन्यजन्तु संरक्षणको महत्वपूर्ण स्थान भएकाले खाता र आसपासका क्षेत्रमा सिसी क्यामराबाट जनावरको निगरानी गर्न सुरु गरिएको हो ।
खाता क्षेत्रको ओराली सामुदायिक वन गरी १० स्थानमा सिसी क्यामरा जडान गरी जङ्गली जनावरको निगरानी सुरु गरिएको छ । खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले खाता जैविक मार्ग अन्तर्गत पर्ने विभिन्न स्थानमा सिसी क्यामराले निगरानी गर्ने काम सुरु भएको बताउनुभयो । खाता अन्तर्गतको गुलरिया राजापुर सडकमा समेत सिसी क्यामरा जडान गरिएको उहाँले जानकारी दिनुभयो ।
खाता जैविक मार्ग र ओराली सामुदायिक वनक्षेत्रमा जडान गरिएको सिसी क्यामराको निगरानी खाता समन्वय समिति र डिभिजन वन कार्यालय बर्दियाले गर्ने गरेको छ । ठुला खालका जनावर खाता जैविक मार्ग क्षेत्रबाट आवतजावत गर्ने समयमा स्थानीय र सडकमा हिँड्ने सर्वसाधारणलाई सडक प्रयोग नगर्नका लागि अनुरोध गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी एवं वन अधिकृत रामकुमार चौधरीले खाता जैविक मार्ग क्षेत्रमा बाघलगायत ठुला जङ्गली जनावरको आवागमन, जनावरको निगरानी गर्न सिसी क्यामरा जडान गरिएको बताउनुभयो ।
खाता जैविक मार्ग वनक्षेत्रमा जडान गरिएको सिसी क्यामराको निगरानी मधुवन नगरपालिका–२ मा रहेको खाता समन्वय समिति र डिभिजन वन कार्यालयबाट गरिन्छ । चारैतिरबाट जङ्गल छ, जनावर कति बेला गाउँ पस्छन् थाहै हुँदैन । मधुवन नगरपालिका–३ का वडाध्यक्ष नारायण मल्लले मुख्य मुख्य स्थानमा सिसी क्यामरा जडानले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न केही सहजता भएको बताउनुभयो । खाता जैविक मार्ग अन्तर्गत रहेको वनमा क्यामरा जडान गर्न वल्र्ड वाइड नेचर नेपालले २० लाख रुपियाँ लगानी गरेको छ ।