• ३ वैशाख २०८२, बुधबार

विमानस्थल विस्तार योजना अलपत्र

blog

विस्तार हुन नसकेको कैलालीको धनगढी विमानस्थल ।

नीराजन परियार

चौमाला (कैलाली), वैशाख ३ गते   । कैलालीको धनगढी विमानस्थल विस्तारको योजना अलपत्र परेको छ । २०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार गर्न अगाडि सारेको योजना अलपत्र परेको हो । 

तीन वर्षअघि धनगढी विमानस्थल विस्तारको विषय चर्चामा आए पनि अहिले भने सेलाएको छ । २०७८ पुस ११ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा एउटा बैठक बसेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको सोही बैठकले धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब रुपियाँको बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । त्यो बेला धनगढीलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न २५० बिघा जमिन अधिग्रहण गरेर एक हजार आठ सय मिटरको धावनमार्गलाई बढाएर दुई हजार पाँच सय मिटरको बनाउने भनिएको थियो । 

स्रोत सुनिश्चित नै नगरी त्यो बेला बजेट विनियोजन गरिएको थियो । एक अर्ब बजेटको हवाला दिएर तत्कालीन मन्त्रीले चर्चा कमाउन मात्रै खोजेकाले विमानस्थल विस्तारको योजना अलपत्र परेको हो । धनगढी विमानस्थल विस्तारको कुनै काम अगाडि नबढेको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताउनुभयो । 

दुई वर्षयता सरकारले धनगढी विमानस्थल विस्तार गर्न बजेट विनियोजन गरेको छैन । धनगढी विमानस्थल निर्माण तथा विमानस्थल विस्तारका लागि अध्ययन अनुसन्धान गर्ने नाममा तीन वर्षअगाडि भ्रमण गर्नेबाहेक अन्य उपलब्धि भएको छैन । आर्थिक वर्ष २०७७/७८ मा नागरिक उड्डयन प्राधिकरणले बनाएको गुरुयोजना मन्त्रीपरिषद्ले पास गरे पनि बजेट भने विनियोजन गरिएको थिएन । तत्कालीन पर्यटनमन्त्री आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गर्नेबाहेक अन्य थप काम अगाडि बढेको छैन । तीन वर्षअघि नै विमानस्थल विस्तारका लागि स्थानीयको जग्गा अधिग्रहण गर्न १५ देखि १६ अर्ब लाग्ने अनुमान गरिएको थियो । यसअघि एक अर्ब छुट्याएको भनिएको बजेटको पनि स्रोत सुनिश्चित नभएपछि जग्गा अधिग्रहणको काम अघि बढ्न नसकेको हो ।

अहिले भने विमानस्थल विस्तारको चर्चासमेत सेलाएको छ । विमानस्थल विस्तारको काम गर्न जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ तर हाललाई सबै काम स्थगन गरिएको विमानस्थल कार्यालयले जानकारी गराएको छ । २०७८ को अन्तिमतिर रियल पाथ इन्जिनियरिङ नामक कन्सल्टेन्सीले विमानस्थल विस्तारका लागि जग्गा नापजाँचको काम गरेको थियो । ४५ मिटर चौडाइको दुई हजार ५५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्याङ्गर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन र उद्धार, चव्रmपथसहितका पूर्वाधार निर्माणको विषय गुरुयोजनामा छ । विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन थप २५८.२५ बिघा जमिन आवश्यक पर्छ तर अहिले आएर विमानस्थल विस्तारको योजना मात्रै होइन, चर्चासमेत हुन छाडेकाले स्थानीयले आस मारेको बताएका छन् ।